कांग्रेसको संकल्प : ३३ प्रतिशत महिला नेतृत्व स्थापित गर्छौं

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७९
NC Gandaki Sankalpa Patra Photo

पोखरा । नेपाली कांग्रेसले गण्डकीका ८५ मध्ये ७ पालिकामामात्रै महिला प्रमुख उठाएको छ । ती सबैजना गाउँपालिकाका मात्रै छन् । २६ नगरपालिका र एउटा नगरपालिकामध्ये कुनै पनि नगरमा कांग्रेसले मेयर उठाएको छैन । प्रतिशतका हिसाबले यो प्रतिनिधित्व ८ प्रतिशतमात्रै हुन्छ । तर कांग्रेसको गण्डकी प्रदेश कार्यसमितिले स्थानीय तहमा ३३ प्रतिशत महिला नेतृत्व स्थापित गर्ने घोषणा सहित संकल्पपत्र सार्वजनिक गरेको छ । ‘स्थानीय तहमा महिला नेतृत्व ३३ प्रतिशत पु¥याइने छ । पार्टी पदाधिकारी तहमा महिला सहभागिता ३३ प्रतिशत पु¥याइने छ । महिलाले लिने सेवामा प्रदेशले लगाउने शुल्क तथा करमा २५ प्रतिशत छुट दिइनेछ,’ संकल्पपत्रमा भनिएको छ ।’ प्रदेशले नगरपालिकाका मेयर र उपमेयरको टिकट वितरण गरेको थियो । कांग्रेसले नगरपालिकातर्फ १२ वटामा प्रमुखको सिट पाएको छ भने ३ वटामा उपप्रमुखको सिट पाएको छ । ११ वटा नगरपालिकामा मेयर र उपमेयर दुवै आफैले उठाएको छ ।

शुक्लागण्डकी, बेंशिसहर, मध्यनेपाल, राइनास, सुन्दरबजार, कावासोती, देवचुली, बेनी, गलकोट, बागलुङ, कुश्मा र फलेबास नगरपालिका प्रमुख कांग्रेसको कोटामा छ । गोरखा नगरपालिका, पालुङटार, व्यास, भानु, गल्याङ, चापाकोट, पुतलीबजार, भीरकोट, वालिङ, गैंडाकोट र मध्येविन्दुका दुवै पदमा कांग्रेसका उम्मेदवार छन् । कुनै पनि पालिकामा प्रमुख महिला छैनन् भने उपप्रमुख सबैमा महिला छन् । भीमादमा उपमेयर पाएको कांग्रेसले पुरुष उठाएको छ, जैमिनी र ढोरपाटनमा पनि पुरुष उपमेयर उठाइएको छ । प्रदेश सभापति शुक्रराज शर्माले गठबन्धनका कारण चाहेर पनि महिलालाई नेतृत्व दिन नसकिएको बताए । ‘महिला उठाउने मन हो । तर यसपालि गठबन्धनका कारण तलमाथि भयो । अब ५ वर्षभित्र हुने सबै चुनावमा ३३ प्रतिशत महिला नेतृत्व स्थापित गर्छौं,’ उनले भने, ‘पालिकाबाट हुने नियुक्तिदेखि सुविधासम्ममा महिलालाई प्राथमिकता दिइने छ ।’

कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रित संकल्पपत्र तयार गरेको हो । कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्व गठित समितिले पत्र तयार गरि शुक्रबार सार्वजनिक गरिएको हो । ५ वर्षमा पूरा गर्ने गरी ३० वटा बुँदा समेटिएका छन् भने त्यसपछिको ५ वर्षमा पूरा गर्ने १० वटा प्रतिबद्धता छन् । प्रदेशलाई पूर्ण साक्षर बनाउने, प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय र पुस्तकालय खोल्ने, नैतिक शिक्षाको पाठ्यक्रम बनाएर लागु गर्ने, प्रत्येक पालिकामा कम्तीमा २५ शैय्याको अस्पताल निर्माण गर्ने र जिल्लामा १ सय शैय्याको अस्पताल बनाउने घोषणा कांग्रेसले गरेको छ ।

स्थानीय तहको निर्वाचनकेन्द्रित संकल्पपत्र मुख्यमन्त्री तथा केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक गरेका हुन्

यस्तै, पालिकास्तरमा प्राकृतिक चिकित्सा केन्द्र, वडामा शिशु स्याहार केन्द्र, सबैलाई स्वास्थ्य बिमा, प्रदेशलाई बालमैत्री बनाउने योजना अघि सारिएको छ । कांग्रेसले प्रत्येक वर्ष ५० हजार युवालाई नयाँ रोजगारी सिर्जना गर्ने र प्रतिव्यक्ति आय ३ हजार डलर पु¥याउने लक्ष्य छ । हाल यहाँ १ हजार १ सय ९२ डलर प्रतिव्यक्ति आय छ । कांग्रेसले प्रदेशको अन्तर्राष्ट्रिय व्यापार दोब्बर बनाउने घोषणा गरेको छ । तर हालको व्यापारबारे कांग्रेसलाई जानकारी छैन । पालिकामा निजी लगानी प्रवद्र्धन गर्ने, स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्ने, विपन्न नागरिकलाई परिचयपत्र दिने र उनीहरुलाई आधारभूत सुविधा निशुल्क दिने, रणनीतिक महत्वका सडक र स्थानीय तहको केन्द्र जोड्ने सडकलाई कम्तीमा २ लेनको बनाएर कालोपत्रे गर्ने योजना छ ।

आउँदो ५ वर्षभित्र प्रदेशभित्र १० लाख विदेशी पर्यटक भित्र्याउने, इन्जिनियरिङ क्षेत्रलाई राष्ट्र निर्माणको अभियानमा जोड्ने, विद्युत उत्पादन ४ हजार मेगावाट पु¥याउने, सबै घरमा गुणस्तरीय खानेपानी विस्तार गर्ने, मुख्य फाँटमा बाह्रै महिना सिंचाइ पु¥याउने, बहुसांस्कृतिक केन्द्रका रुपमा प्रदेशलाई स्थापित गराउने संकल्प कांग्रेसले लिएको छ । सभापति शर्माले सबै बुँदाहरु कांग्रेसले जुनसुकै हालतमा पूरा गर्ने गरी लेखेको बताए । ‘यो संकल्प हो । हामीले पूरा गर्नैपर्छ,’ उनले भने, ‘कांग्रेसले जितेका पालिकामा हामीले यी न्युनतम कार्यक्रम तत्कालै लागु गराउँछौं ।’ कांग्रेसले यौनिक तथा लैंगिक अल्पसंख्यकको जीवन सहज बनाउन सहयोग कार्यक्रम सञ्चालन गर्ने, भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्ने, विभिन्न पालिकामा रंगशाला र खेलकुद विद्यालय स्थापना गर्ने कार्यक्रम पनि अघि सारिएको छ । गण्डकीका मुख्यमन्त्री तथा केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेलले संकल्पपत्र सार्वजनिक गरेका हुन् । उनले कांग्रेसको प्रदेश समितिले ल्याएको संकल्पपत्रलाई प्रदेश सरकारले पनि कार्यान्वयनमा पहल गर्ने बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width