पानी परे पनि रोकिएन घरदैलो

रासस
वैशाख २३, २०७९
vote

गण्डकी । निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरपालिकामा विभिन्न दलका उम्मेदवारले घरदैलोलाई तीव्र बनाएका छन् ।भौगोलिकरुपमा देशकै ठूलो नगरपालिका रहेका कारण पनि महानगरका प्रत्येक वडामा पुग्नु चुनौतीपूर्ण रहेको अवस्थालाई दृष्टिगत गर्दै घरदैलोलाई तीव्र बनाइएको हो । घरदैलोमा पुग्दा स्थानीयले सम्बन्धित क्षेत्रका बाटोघाटो, खानेपानीलगायतका समस्यामा ध्यानाकर्षण गराउने गरेको पोखरा महानगरपालिका–३३ मा गठबन्धनका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पोखरामा बिहान पानी परे पनि त्यसको परवाह नगरी दलहरूले घरदैलोलाई निरन्तरता दिएका छन् । नेकपा ९एमाले०ले प्रमुख र उपप्रमुख पदका उम्मेदवारसहित आज बिहान पोखरा महानगरपालिका–३० मा घरदैलो गरेको छ । एमालेले आज ३०, ३१ र ३२ वडामा घरदैलो सक्ने योजना बनाएको पार्टीका जिल्ला सदस्य एकराज गिरीले जानकारी दिनुभयो । अधिकांश वडामा घरदैलो सम्पन्न भएको जानकारी दिँदै उहाँले वडा नं ६, १९, २१, २३, २४ र ३३ नं वडामा घरदैलो बाँकी रहेको बताउनुभयो ।

कांग्रेससहितका पाँच दलीय गठबन्धनले महानगरका आधाभन्दा बढी वडामा घरदैलो सम्पन्न गरेको पार्टीका जिल्ला सदस्य वर्षाकेशव पराजुलीले जानकारी दिनुभयो । गठबन्धनले प्रमुख र उपप्रमुख पदका उम्मेदवारसहित आज बिहान पोखरा महानगरपालिका वडा नं १९ मा घरदैलो गरेको छ । आज नै वडा नं १६ मा पनि घरदैलो गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

अन्य साना तथा स्वतन्त्र दलका उम्मेदवारले पनि महानगरमा घरदैलोलाई सक्रिय बनाएका छन् । घरदैलोसँगै मतदातालाई मतदाता शिक्षासमेत दिने गरिएको राष्ट्रिय नागरिक पार्टीका तर्फबाट पोखरा महानगरपालिका–९ का सदस्य पदका उम्मेदवार कृष्ण रानाभाटले जानकारी दिनुभयो । ३३ वडा रहेको पोखरा महानगरपालिकामा कुल मतदाता दुई लाख सात हजार ७१२ छन् । यसअघि विसं २०७४ को निर्वाचनमा एक लाख ६८ हजार ६७ मतदाता रहेको पोखरामा यस पटक ३९ हजार ६४५ मतदाता बढेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width