‘पोखराको मुहार फेर्न राप्रपालाई भोट’

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७९
rpp

पोखरा । राप्रपाबाट पोखरा महानगर प्रमुखका उम्मेदवार शंकर खरालले पोखराको मुहार फेर्न यसपालि राप्रपालाई भोट दिन आग्रह गरेका छन् ।

उनले विगतमा चुनाव जिताएर पठाएका जनप्रतिनिधिले पोखरालाई झन्झन् कुरुप बनाएको आरोप लगाउँदै उनले आफूले मेयर जिते पोखरालाई भ्रष्टाचारमुक्त बनाउँदै यसको मुहार फेर्ने दाबी गरे ।

राप्रपाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यहाँ कक्षा १२ सम्मको शिक्षा निःशुल्क पार्ने, निशुल्क स्वासथ्य बिमा कार्ड व्यवस्था गरिने, व्यावसायिक कर प्रणाली परिमार्जित गरिने, ग्रामीण भूमिकरमा ५० प्रतिशत र घरबहाल करमा २५ प्रतिशत कटौती गरिने, आधुनिक खेल मैदान बनाउने, पर्यटनमैत्री सहर बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पोखरामा मोनोरेल र स्मार्ट सिटीको नारा नदिइकन आफूले सानो सानो कार्यमा सुधार गर्ने बताए ।

राप्रपाले स्थानीय तह चुनावको सन्दर्भमा शनिबार पोखरामा विशाल सभा गर्ने तयारी गरेको छ । चिप्लेढुंगास्थित मानवअधिकार चोकमा हुने सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ रेखा थापा लगायतले सम्बोधन गर्ने राप्रपा गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले जनाए । राप्रपाले पोखराको मेयरमा खराल, उपमेयरमा रञ्जना सेन पौडेलसहित महानगरका ३२ वटा वडामा कुल १ सय ३२ जनालाई उम्मेदवार बनाएको राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width