चुनाव जिते पर्यटनलाई पुनर्जीवन दिने प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७९
cpn uml pkr 6

पोखरा । नेकपा एमालेबाट पोखरा महानगर प्रमुख पदका उम्मेदवार कृष्ण थापाले एमालेले यसपटक पर्यटकीय क्षेत्र लेकसाइडबाट जीतको सुरुआत गर्ने दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले शुक्रबार आयोजना गरेको नेकपा एमाले, पर्यटन तथा उद्योगी व्यवसायीको भेलामा बोल्दै थापाले वडा ६ मा एमालेले अध्यक्ष सहित सबै पदमा जीत हासिल गर्ने दाबी गरे । पर्यटकीय दृष्टिकोणले नेपालकै महत्वपूर्ण गन्तव्य लेकसाइडमा विकासको ठोस योजना एमालेले ल्याउन सक्ने भन्दै उनले एमालेका उम्मेवारलाई जिताउन आग्रह गरे ।

एमाले केन्द्रीय सदस्य राजीव पहारीले यसपटक वडा ६ मा अघिल्लो पटक गुमेको अध्यक्ष पद फिर्ता आउने ठोकुवा गरे ।

वडा अध्यक्षका उम्मेदवार विष्णुबहादुर भट्टराईले आफू विजयी भए कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने, पर्यटन व्यवसायीका घरभाडा, बैंक व्याज लगायत समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता गरे ।

एमाले वडा कमिटी अध्यक्ष बलराम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पर्यटन व्यवसायी हरि शर्माले स्वागत तथा सूर्यबहादुर भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

बिहीबार वडाध्यक्ष भट्टराईसहित सदस्य उम्मेदवार दीपेन्द्र पहारी, वासुदेब बराल, जमुना पराजुली पहारी र राममाया विश्वकर्मासहितको टोलीले डिहिकोपाटन लगायत क्षेत्रमा घरदैलो गरेको थियो । उनीहरुले बाजाको तालमा नाचगान गर्दै आफ्नो पक्षमा भोट मागेका थिए । उनीहरुले मतदातासँग माग माग्दै चुनावमा जिताउन आग्रह गरेका थिए । आफूहरुको जीत भए लेकसाइडलाई पर्यटनको हव बनाउने उनीहरुको वाचा छ । मतदाताले पनि कोरोनाबाट थलिएको पर्यटन पुनर्जीवन दिनेलाई भोट दिने आश्वासन दिने गरेका छन् ।

पोखरा ६ मा यसअघि चुनाव जितेका जगतबहादुर पहारी यसपालि पनि कांग्रेससहितको गठबन्धनका चुनाव लडेका छन् । पोखराको पर्यटकीय क्षेत्र भएकोले वडा ६ स्थानीय तहको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width