थोरै बोल्ने, धेरै गर्ने मेरो प्रतिबद्धता हो : सरिता क्षत्री

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७९
Sarita 2

सरिता क्षत्री आसन्न स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट पोखरा महानगरपालिका वडा २२ मा अध्यक्ष पदकी उम्मेदवार हुन् । यही वैशाख ३० गते हुने चुनावका लागि उनी अहिले प्रचार अभियानमा व्यस्त छन् । जसपा केन्द्रीय नेतृ हिसिला यमीले समेत उनको प्रचार अभियानमा साथ दिंदै घरदैलो अभियानमा छाता चिन्हमा भोट माग्न सघाएकी छन् । नेकपा माओदीले सुरु गरेको जनयुद्धमा समेत संलग्न भएकी उनी पूर्व शिक्षिका र पर्यटन व्यवसायी पनि हुन् । स्नातकोत्तर अध्ययनरत उनी पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सदस्य र कालिमाटी शान्ति स्तूप मोटरबाटो समितिकी कोषाध्यक्ष पनि हुन् । हाल उनी जसपा पोखरा–२२ कि इन्चार्ज हुन् । आपूmले वडा अध्यक्ष जितेमा शिक्षामा व्यापक सुधार ल्याउने बताउने नेतृ क्षत्रीसँग आदर्श समाज प्रतिनिधिले गरेको कुराकानीको सारसंक्षेप :

एउटा उम्मेदवारको रुपमा आफूले जितेमा वडालाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?

मैले यस क्षेत्रको विकासका लागि कुल १२ वटा योजना बनाएको छु । तर अहिले मोटामोटी भन्नुपर्दा थोरै बोल्ने धेरै गर्ने मेरो प्रतिबद्धता हो । म महिला भएको नाताले महिला सशक्तीकरण विषयलाई पाँचवर्षे योजना बनाएर अघि बढ्छु । म पूर्व शिक्षिका पनि हुँ र १० वर्ष सरकारी विद्यालय पढाएको अनुभव छ । त्यसकारण पनि सरकारी विद्यालयहरुको स्तरोन्नति गर्ने, तिनको समस्या पहिचान गर्ने र अनुगमन गर्दै अगाडि बढ्ने मेरो योजना छ । म ९ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध रहेको र यो पुम्दीभुम्दी क्षेत्रले पर्यटनको प्रचूर सम्भावना पनि बोकेका कारण यस क्षेत्रको थप पर्यटकीय विकासमा मेरो पहल रहने छ । पोखरापछि प्रशस्त सम्भावना बोकेको यही क्षेत्र हो पर्यटनका हिसाबले । त्यसैले यहाँको पर्यटकीय विकास र दिगो विकासको योजना तर्जुमा गर्न बुद्धिजीवी तथा व्यवसायीसँग छलफल र सल्लाह गर्दै अघि बढ्ने मेरो मनसाय हो । महिला सशक्तीकरणका लागि पाँचवर्षे योजना, वडाभित्रका सरकारी विद्यालयहरुको सुधार, दिगो पर्यटन विकासका लागि पुम्दीभुम्दी पर्यटन विकास सम्मेलन गरी कोदी डाँडादेखि थाप्लोको डाँडासम्म योजनावद्ध विकास, महिला विशेषको रोगको निशुल्क उपचार, गरिब बच्चाहरुको लागि शिक्षा र पोषणको व्यवस्था जस्ता योजना पनि मैले समेटेकी छु । यसैगरी मेरो तलब र भत्ता गरिब बच्चाको पढाइमा खर्च गर्ने, सेवाग्राहीको लागि कार्यालयमा स्वच्छ पानी र चियाको व्यवस्था, निशुल्क पुस्तकालय र सबै ठाउँमा इन्टरनेटको पहुँच तथा वैदेशिक रोजगारमा अफ्ठ्यारो परेकालाई निशुल्क घर फर्काउने व्यवस्थाजस्ता योजना पनि मैले समेटेको छु ।

मैले यतिका धेरै काम र जिम्मेवारी पूरा गर्न सक्दा वडा अध्यक्षको भूमिका निर्वाह गर्न सहजै सक्छु

तपाईको क्षेत्रमा विशाल महादेव मूर्ति पनि स्थापना गरिएको छ, यसले यहाँको पर्यटनमा कस्तो प्रभाव पर्दै छ ?

यस क्षेत्रमा यसअघि नै निर्माण भएको विश्वशान्ति स्तूपले जुन देन दिएको थियो त्यसपछि अहिले विशाल महादेव मूर्तिले हामीलाई थप आकर्षण र अवसर थपेको छ । मूर्ति क्षेत्रमा अब पार्किङको व्यवस्था मिलाउन बाँकी नै छ । अरु थुप्रै काम पनि बाँकी नै छन् । यो क्षेत्रलाई थप व्यवस्थित गर्ने योजना रहेका छन् । खासमा भन्ने हो भने काम जारी रहँदै गर्दा निर्माण सम्पन्न नहुँदै यहाँ पर्यटकहरु आउन थाले । यसले पनि यस क्षेत्रको महत्वलाई दर्शाएको छ । अब यो क्षेत्र पर्यटनको नमुना क्षेत्र र सिंगो पुम्दीभुम्दी तथा कास्की जिल्लाको आकर्षणको थलो भएको छ । त्यसैले हामी गर्न सक्छौं, यस क्षेत्रमा अरु आकर्षण थप्न सक्छौं भन्ने विश्वास हामीमा छ ।

चुनावकै कुरा गर्दा यस वडामा पाँचदलीय गठबन्धनको एकता टुटेजस्तो देखियो, के कारणले यस्तो भयो ?

यस विषयमा हामी अझै पनि अन्योलमा छौं । म महिला उम्मेदवार पनि भएको र गठबन्धनका पाँचै दल सहमतिअनुसार सँगै प्रचार अभियानमा हिंड्ने भन्ने सहमति भएको थियो । उम्मेदवारी दर्ता पनि यही हिसाबले भएको हो तर अहिले समर्थन स्वतन्त्र उम्मेदवारलाई सुम्पनु भयो । यो त कस्तो भयो भने घरमा ५ दाजुभाइ छन्, ४ भाइले अंश पाए अनि कान्छोको भाग तल्ला घर सुम्पिएजस्तो भयो । गठबन्धनको नियम नै तोडियो । अझ भनौं साथीहरुले तोड्नुभयो । हामी अझै पनि छलफलमा छौं । कस्तो कुरा उठाइएको रहेछ भने यो सामान्य महिला अनि यो ठूलो गाउँ हाम्रो, अनि यसले एमालेसँग लड्न सक्छे? यस्तो प्रश्न बैठकमा आएको भन्ने सुनें । मैले लामो समय शिक्षण पेसा गरेको, जनयुद्धमा संलग्न भएको र सफल पर्यटन व्यवसायी महिला पनि रही आएको छु । मैले यतिका धेरै काम र जिम्मेवारी पूरा गर्न सक्दा वडा अध्यक्षको भूमिका निर्वाह गर्न सहजै सक्छु । हिजो जनयुद्ध लड्न सक्दा अहिले वडा अध्यक्षमा लड्न सक्दिन भन्नु घातक कुरा हो । मलाई उहाँहरुले छिर्के लगाएको अवस्था छ । यसको लागि सबैले चासो दिन जरुरी छ ।

तपाईको जसपाभित्रै पनि मनमुटाव र फुटपरस्त सोच हावी भएको देखिन्छ, के भन्नु हुन्छ ?

एउटै घरभित्र पनि त सबैको कुरा मिल्दैन । कहिले कसले के भन्छ, कहिले कसले के । यस्ता विवाद मिल्दै जान्छन् र मिलाउँदै जाने पनि हो, मिल्दै गएका उदाहरण पनि छन् हामीसँग । अर्को कुरा जे भएको छ त्योभन्दा बढी नै अनर्गल प्रचार पनि हुने गरेको छ । त्यसैले हाम्रो पार्टी एकताबद्ध रुपमा चुनावमा जाँदै छ, कुनै विवाद छैन अहिले । यही सन्दर्भमा म मतदातालाई के भन्न चाहन्छु भने यसपटक चुनावमा राम्रोलाई हेर्नुस् हाम्रालाई भन्दा पनि । युवालाई हेर्नुस् । पटक पटक पुरुषहरु हेर्नुभयो र यो पटक महिला हेर्नुस् । महिला विजेता भएमा बजेट पनि सही सदुपयोग हुन्छ, अनावश्यक खर्च र भोजभतेर तथा पार्टी गर्दैनन् महिला । मैले जितेमा भ्रष्टाचार पनि हुने छैन ।

अन्त्यमा यो बताइदिन्स कि तपाई राजनीतिमा कसरी जोडिन आइपुग्नुभयो  ?

सुरुको कुरा गर्दा म विद्यालय पढ्दा नै ममा राजनीतिक चेत पलाएको हो । मेरो माइतीघर इलाम हो । मैले २०५४ सालमा एसएलसी पास गरेको हुँ । त्यतिबेला म कांगेस परिवारको सदस्य हो । बुवा मास्टर र कांग्रेसको नेता । अवस्था त्यस्तो थियो । पछि बुझ्दै जाँदा मलाई कम्प्युनिष्ट पार्टी मन प¥यो र संयोगले २०५६ सालमा विवाहसँगै माओवादी परिवारमा जोडिन पुगें म । त्यो बेला माओवादीसँग बिहे गर्नु नै ठूलो तरंग थियो । कांग्रेस परिवारमा जन्मेको छोरी, माओवादीसँग विवाह गर्दा मेरो जीवनमा र समाजमा पनि राजनीतिक उथलपुथल त्यहींबाट सुरु भयो । देशमा पनि उथलपुथल हुँदै गर्दा उहाँ (राजु क्षत्री) लाई पनि समाउने वेपत्ता पार्ने काम राज्यबाट भयो । म शिक्षिका–पढ्दै घर व्यवहार धान्दै र बच्चा पढाउँदै बसें । अनि गणतन्त्र आएपछि केही राहतको महसुस भयो । त्यसअघि म आफैं पनि गणतन्त्र ल्याउन जनयुद्धसँग जोडिन पुगेको थिएँ । म राजनीतिमा यसरी आएको हुँ । त्यसैले अहिले भोट माग्ने, सामान्य खाना खाने र जनताको घरदैलोमा जाने काम भएको छ । प्रचारक्रममा सबैले भएसम्म आफ्नो साधन लिएर आउनु भएको छ । हामीले जम्मा एउटा गाडी लिएर हिंडेका छौं । धेरै खर्च गरेका छैनौं । मासुभात खुवाउँछौं, पैसा दिन्छौं भन्दैनौं हामी । हामीले मितव्ययी प्रचार गरेर हिंडेका छौं ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width