विकासको आश्वासन दिंदै गाउँगाउँमा उम्मेदवार

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७९
congress ~palika

पोखरा । नेपाली कांग्रेसहितको गठबन्धनबाट आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले यो पटक अघिल्लो पटक अध्यक्ष जितेका युवराज कुँवरलाई नै दोहोर्‍याएको छ । ‘हामी जनताको काममा कहिल्यै आलटाल गरेनौँ । त्यसैले अहिले जनताले पुनः हामीलाई घरदैलोमा जाँदा खुला मनले स्वागत गरिरहेका छन्,’ युवराज कुँवरले बुधबार घरदैलोको क्रममा घान्द्रुकमा पुगेर भने, ‘मेरो नेतृत्वलाई यो पटक पनि पक्कै जनताले साथ दिनेछन् ।’

कुँवरले गाउँपालिकाकै अगुवाइमा घान्द्रुकको मेश्रम वराह माविमा गुरुङ भाषाको अध्यापन सुरु गरेको बताए । यसले गुरुङ बाहुल्यता रहेको सो क्षेत्रको भाषा र संस्कृतिको जगेर्नामा ठूलो योगदान दिने कुँवरको बुझाइ छ । साथै पर्यटकीय घान्द्रुक र अन्नपूर्ण पदमार्ग क्षेत्रको प्रचार अनि विकासमा पनि गाउँपालिकाले महत्वपूर्ण कामहरु गरेको उनले बताए । यो बीचमा अन्नपूर्ण बेस क्याम्पदेखि अन्तर्राष्ट्रियस्तरको म्याराथन प्रतियोगिता, अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, नयाँ पदमार्गको सुरुवात पनि गाउँपालिकाले गरेको कामहरु हुन् । त्यस्तै गाउँपालिकाकै पहलमा पहिलोपटक घान्द्रुकसम्म सडक पुगेको पनि कुँवरले बताए ।

त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारले पारदर्शीतालाई मूलमन्त्र मानेर आगामी कार्यकालमा काम गर्ने बताएका छन् । अघिल्लो पटक निर्वाचित एमालेका जनप्रतिनिधिले अपारदर्शी काम गर्दा गाउँपालिकाको बजेट नै हिनामिना भएको उनीहरुले आरोप लगाएका छन् ।

बुधबार धिताल पुगेका गाउँपालिकाका अध्यक्ष उम्मेदवार मीनबहादुर गुरुङले आफू पारदर्शीताको सवालमा सचेत भएको बताए । गाउँपालिका उपाध्यक्ष उम्मेदवार सीता अधिकारीले हालको नेतृत्वले गर्नुपर्ने महत्वपूर्ण कार्य नगरेको आरोप लगाइन्

अहिले गाउँपालिकाका जनप्रतिनिधिले यातायातको सेवा सुविधा लिइरहेको उल्लेख गर्दै उनले आफूहरुको नेतृत्वले यातायात सुविधा वापतको रकम विकास निर्माणमा लगाउने वाचा गरे ।

मादीमा कांग्रेससहित गठबन्धनका उम्मेदवार घरदैलोमा पुगेर आफ्नो पक्षमा मत मागिरहेका छन् । गाउँपालिकाका अध्यक्ष उम्मेदवार देविजंग गुरुङले साँच्चिकै गाउँपालिकाको लागि काम गर्नेलाई जिताउन मतदाताहरुसमक्ष आग्रह गरे ।
सिंहदरबार गाउँगाउँमा भनेर भनिए पनि सीमित व्यक्तिहरुले मात्र रजाई गर्दा जनताले त्यसको अनुभूति गर्न नसकेको उनले बताए ।

‘गाउँपालिकाको लागि सधैं खट्ने र दुखसुखमा साथ दिने व्यक्तिलाई छानेर मतदातालाई मत दिन अनुरोध गर्दछु,’ देवीजंगले भने, ‘सीमित स्वार्थ र लाभका लागि उम्मेदवारी दिनेहरुले जनतालाई धोका दिने भएकोले पनि म मतदातालाई यसतर्फ चनाखो हुन आग्रह गर्दछु ।’

रुपा गाउँपालिकाका अध्यक्ष उम्मेदवार गीमाया गुरुङसहितको टोलीले पनि त्यस क्षेत्रका मतदातको घरदैलोमै पुगेर भेट मागिरहेको छ । ‘यो पटक आफ्नै घरगाउँकै छोरी, बुहारीको रुपमा घरघरै पुगेर मैले आफ्नो पक्षमा भोट माागिरहेको छु । मेरो उम्मेदवारीले यहाँका महिलाहरुमा निकै खुसी पनि ल्याएको छ ।’ गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी गीमाया भनिन्, ‘महिलामात्र नभई आफ्नो गाउँपालिकालाई व्यवस्थित गर्न सक्ने क्षमता पनि मसँग भएकोले मेरो पक्षमा भोट हाल्नका लागि मतदाताहरुलाई आग्रह गरिरहेकी छु ।’

Related News

सम्बन्धित समाचार

hero news full width