निर्वाचन आचारसंहितामा कडाइ

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
Nirvachan Achar

स्याङ्जा । स्याङ्जामा निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई २४ घण्टाभित्र नियन्त्रणमा लिई त्यस्ता सामग्री हटाउन लगाउने भएको छ । साथै राति ८ बजेपछि मदिरा पिएर होहल्ला गर्न नपाइने भएको छ ।

कानुनले तोके बमोजिमका कानुनी कारबाही यथावत राख्दै राति ८ बजेपछि मदिरा लगायतका पदार्थ पिएर होहल्ला गर्न नपाइने यहाँ राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त बैठकले निर्णय गरेको हो । बैठकले सबै पक्षलाई आचारसंहिताप्रति जागरुक बनाउने उद्देश्यले कार्यक्रम गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश वसन्तराज पौडेलले जानकारी दिए ।

पौडेलले सबै राजनीतिक दलहरु सबैले आ–आफ्ना कार्यकर्तालाई संयमतापूर्वक प्रचारप्रसार र निर्वाचनका कार्यक्रममा सहभागी हुन र आचारसंहिताबारे जानकारी राख्नसमेत सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र प्रहरी उपरीक्षक राजीव वस्नेतले जिल्लाको सुरक्षा अवस्था र निर्वाचनको अघि र पछि हुन सक्ने गतिविधि सूक्ष्मरुपमा अध्ययन गरिरहेको जनाउँदै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैले आ–आफ्ना स्थानबाट सहयोग गर्न गराउन आग्रह गरे।

छलफलमा नेकपा एमालेमा सहसचिव तारा शर्मा र नगर अध्यक्ष भरत गोदार, नेपाली कांग्रेसका नवराज सुवेदी, नेकपा माओवादी केन्द्रका दुर्गानारायण ढकाल, राप्रपाका पूर्व अध्यक्ष भूमिजंग केसी, नेकपा (एकीकृत समाजवादी) का लोकराज शर्मा, जनता समाजवादी पार्टीका पमनारायण अर्याल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रै, मंगोल नेसनल अर्गनाइजेसनका अध्यक्ष नेमबहादुर गुरुङ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले आचारसंहिता कार्यान्वयनमा जोड दिई स्वस्थ्य प्रतिस्र्धाबाट निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

जिल्ला आचारसंहिता अनुगमन समितिमा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित निर्वाचन अधिकृतहरु, जिल्ला प्रहरी कार्यालय प्रमुख, निर्वाचन कार्यालय प्रमुख रहने र सो समितिले राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र पत्रकार महासंघका प्रतिनिधि पनि आमन्त्रण गर्न सकिने प्रावधान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width