हेमजामा बढ्दो चुनावी सरगर्मी

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
hemja election~shree

हेमजा । स्थानीय तह निर्वाचन मिति नजिकिंदा पोखरा–२५, हेमजामा चुनावी सरगर्मी हवात्तै बढेको छ । एमाले, गठबन्धनमा आवद्ध दल लगायत स्वतन्त्रले घरदैलो अभियान तीव्र पारेका छन् ।

एमालेले साविक हेमजा गाविसअन्तर्गत वडा १, २, ३ तथा झिर्झिका बाहेक अन्य सबै स्थानमा घरदैलो गरिसकेको छ ।

मंगलबार लामाचौतारा, छापथोक, लस्करे, सापकोटाचोक, खत्रीथर, सोतिपसल लगायतमा मत माग्न उम्मेदवार सहित कार्यकर्ता घरघरै पुगेको सदस्य पदका उम्मेदवार कृष्णबहादुर कुँवरले बताए। घरदैलोका क्रममा जनता निकै उत्साहित भएको आफूहरुले पाएको उनको भनाइ छ ।

जनताले विकास खोजेका छन्, क्रमागत योजना पनि पूरा गर्नुपर्दछ भनेका छन् । ती योजना पूरा गर्न आफ्नो टोली तयार रहेको एमालेबाट अध्यक्षका प्रत्यासी तीर्थबहादुर थापाले बताए ।

एमालेबाट सदस्यमा धना तिम्सिना, तारा विश्वकर्मा, सुवास भण्डारी र कृष्णबहादुर कुँवर उम्मेदवार छन् ।

उता, गठबन्धनमा रहेका दलले मंगलबार मिलनचोक, चापाघाट, नहरचोक, पौडेलथर, गैरी, कुँवरवस्ती लगायतमा घरदैलो गरेको गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार कांगेस नेता मोतिराज तिम्सिनाले बताए ।

जनताले विगतमा एमालेलाई मात्र मत दिंदा हेमजाको विकासमा आश गरे जति प्रगति नभएको आरोप लगाउँदै उनीहरुले यसपालि मतदाताले आफूहरुलाई भोट दिने विश्वास व्यक्त गरे ।

हेमजामा गठबन्धनतर्फबाट कांगेसका मोतिराज तिम्सिना अध्यक्षसहित सदस्यमा माओवादीका सुरेशबहादुर सापकोटा, आरति अधिकारी, सीता नेपाली र नेकपा (एकीकृत समाजवादी) बाट इ.दीपेन्द्र बास्तोला प्रतिस्पर्धामा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width