निर्वाचन आचारसंहिता टेर्दैनन् दलहरु

धनबहादुर गुरुङ
वैशाख २१, २०७९
Mike Japhat Photo 1

पोखरा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार पोखरामा निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी सर्वदलीय–सर्वपक्षीय बैठक गर्‍यो । बैठकमा कास्कीमा ठूला भनिएका दल तथा निर्वाचनमा उम्मेदवार बनेकाहरु उपस्थित थिए ।

आसन्न स्थानीय तह चुनाव सफल पार्न निर्वाचन कार्यालयले विभिन्न माध्यमको प्रयोग गरी आचारसंहिताको बारेमा जानकारी गराउँदै आएको छ ।

पोखरामा मेयरका उम्मेदवारले आचारसंहिता पालना गर्दै निर्वाचन सफल बनाउने प्रतिवद्धता पनि जनाएका थिए । नेकपा एमालेबाट मेयर उम्मेदवार कृष्ण थापाले निर्वाचनमा भएका कमीकमजोरी सुधार्दै लैजाने प्रतिबद्धता जनाए ।

गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेदवार धनराज आचार्यले आचारसंहिताबमोजिम नै प्रचारप्रसार गरिरहेको दाबी गरे । यस्तै कार्यक्रममा अन्य दलका मेयर, उपमेयर, स्वतन्त्र उम्मेदवारी दिएकाले आचारसंहिता पालना गर्ने–गराउने प्रबिद्धता व्यक्त गरे ।

तर, बैठकको भोलिपल्टै मंगलबार निर्वाचन आचारसंहिता उल्लंघनका घटना बाहिरिएको छ । निर्वाचन आचारसंहिता पढाएर पठाइएमध्ये पालना भयो वा भएन अनुगमनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कास्की जिल्लास्तरीय निर्वाचन अनुगमन समिति निस्कियो । टोलीमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख होमनाथ पराजुली अनुगमन समितिको सदस्य सचिव, निर्वाचन कार्यालयबाट अनुगमन हेर्ने अधिकृत नील पनेरुसहित सुरक्षा निकायका प्रतिनिधि संलगन थिए । उनीहरुले पोखराका केही वडाबाट चर्को आवाजमा बजाउँदै हिडेकामध्ये १५ वटा माइक बरामद गरेको छ ।

गाडीमा माइक राखेर चर्को स्वरमा चुनावी प्रचार गर्नेहरुमध्ये विभिन्न दलका १५ माइक बरामद गरिएको छ

पोखरा महानगरभित्र निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार गरेपछि टोलीले माइक बरामद गरेको निर्वाचन अनुगमन अधिकृत पनेरुले बताए । विभिन्न दलले आचारसंहिताविपरीत माइकिङ गरेकाले प्रचार प्रसारमा प्रयोग भएका सामग्री नियन्त्रणमा लिएको बताए । उनका अनुसार महानगरमा संयुक्त र जिल्लाका पालिकाहरुमा सम्बन्धित पालिकाका निर्वाचन अधिकृतको कार्यालयले अनुगमन गर्नेछ । ‘हामीले कुनै पनि हालतमा अब आचारसंहिता उल्लंघन गर्न दिने छैनौं । यो कडाइका साथ पालना हुनेछ,’ उनले भने ।

गाडी प्रयोग गरेर चर्को आवाजमा माइकिङ गरिएकामध्ये कांग्रेसका ६, राप्रपा ४, एमाले ३ र विवेकशील साझाका २ स्थानमा प्रयोग गरेको माइक बरामद गरिएको पनेरु जानकारी दिए । ती सामग्री आवश्यक प्रक्रियामा लगेर बुधबारदेखि अनुगमन अझ तीव्र पार्ने उनको भनाइ छ । ‘निर्वाचन आचारसंहिता पालना गराउने सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय कटिबद्ध छ,’ उनले भने, ‘अनुगमनका विषयमा समितिको बैठक बसेर भोलिका दिनका लागि योजना बनाएर अघि बढ्छौं ।’

उनका अनुसार उल्लंघनका उजुरी पनि कार्यालयमा आएकाले त्यसमा अनुसन्धान भइरहेको छ । ‘हामीकहाँ मतदातालाई प्रभाव पार्न जिन्सी सामग्री वितरण गरेको भन्दै फोटोसहित उजुरी परेको छ,’ उनले भने, ‘सोबारे पार्टीलाई सचेत बनाएर अघि बढ्नेछौं ।’

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअन्तर्गत मतदातालाई नगद वा जिन्सी वितरण गर्न नहुने, भोजभतेर आयोजना गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराउन नहुने, कुनै मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च वा कुनै धार्मिकस्थल वा सार्वजनिक उद्यान प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न वा भोजभतेर गराउन नहुने उल्लेख छ । यस्तै कुनै सरकारी विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला, भोजभतेर वा प्रचारप्रसार गर्न वा गराउन पाइँदैन । यसैगरी निर्वाचन सम्बन्धी प्रचारका लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल, सार्वजनिक उद्यान वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने, निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने, सार्वजनिक आवागमनमा अवरोध हुने गरी आमसभा, र्‍याली, कोणसभा, बैठक, भेला वा प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width