नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
high level meeting for sports

पोखरा । पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले तयारी थालेको छ । संघ सरकारले नै प्रतियोगिताको व्यवस्थापन गर्ने भए पनि पोखरामा हुन लागेको महाकुम्भलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न प्रदेश सरकारले चासो देखाएको हो । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता हुँदैछ ।

प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार उच्चस्तरीय बैठक राखेका छन् । पहिलो त पोखरमा हुन लागेको प्रतियोगितालाई व्यवस्थापन गर्न अनि दोस्रो प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुने खेलाडीको छनोटका बारेमा उक्त अवसरमा छलफल गरिएको थियो ।

मुख्यमन्त्री पोखरेलले संघ सरकारको कार्यक्रम भए पनि पोखरामा हुन लागेको यस प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै निकाय र सरोकारवाला जिम्मेवार भएर लाग्न निर्देशन दिए । प्रतियोगिताका लागि बजेट केन्द्र सरकारले नै उपलब्ध गराउने भए पनि प्रदेशका तर्फबाट खेलाडी छनोटका लागि भने प्रदेशले नै बजेट व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसका लागि आवश्यक बजेटको प्रवन्ध गर्न सरकार तयार रहेको प्रतिबद्धता उनले जनाए ।
बैठकमा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकास मन्त्री कुमार खड्काले संघ सरकारसँगको सहकार्यमा प्रतियोगितालाई व्यवस्थित गर्र्नुपर्नेमा जोड दिए ।

प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रतियोगिताको आयोजक संघ सरकार भएकाले यसमा सहभागिता र समन्वयका लागि औपचारिक रुपमा प्रदेशमा जानकारी नआएको भनाइ राखे । तर पनि पोखरामा हुने प्रतियोगिता सफल बनाउने दायित्व प्रदेशको पनि भएकाले यसतर्फ आफूहरु चनाखो रहेको उनले बताए । प्रतियोगितामा सहभागिता जनाउने सन्दर्भमा मन्त्रिपरिषदबाट निर्णय गरेर अगाडि बढिने उनले जानकारी गराए ।

प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आधिकारिक पत्राचारका लागि संघ सरकारसँग आफूले पहल गर्ने बताए । प्रदेशमा खेलाडी छनोट र खर्च प्रक्रियाका लागि आवश्यक पर्ने कार्यविधि तत्काल निर्माण गरिने उनले जानकारी गराए ।
अर्थसचिव वैकुन्ठ अर्यालले पहिला खेलाडी छनोटको कार्यविधि तयार भएपछि बजेट व्यवस्थापन गरिने बताए । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिता सञ्चालनका लागि हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराए । उनले प्रदेशस्तरमा खेलाडी छनोट र व्यवस्थापन लगायत कामका लागि ५ करोड २० लाख रुपैयाँ आवश्यक पर्ने बताए । उनले भने, ‘केन्द्रको नियमावली अनुसार अनुमानित बजेटको प्रस्ताव तयार गरेका छौं, यी सबै रकम प्रदेशकै खेलाडी छनोटमा खर्च हुनेछ ।’

उनका अनुसार प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् । पोखरामा हुने भएकाले प्रतियोगितामा नसमेटिने गरी छेलो र क्यानोनिङ समेत समावेश गर्न लागिएको सदस्य सचिव गुरुङले बताए ।

गण्डकीमा खेल गतिविधि अत्यधिक हुने भए पनि राष्ट्रियस्तरका प्रतियोगितामा गण्डकीको नतिजा भने अत्यन्तै कमजोर हुने गरेको छ । नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गण्डकी छैटौं नम्बरमा थियो । उक्त प्रतियोगितामा ७ वटा प्रदेशका अतिरिक्त ३ वटा विभागीय टोली सहभागी थिए । अहिले भने एनआरएनको टोली समेत थपिएर ११ वटा टोलीबीच प्रतियोगिता हुने भएको छ । प्रदेशका सबै जिल्लामा कम्तीमा पनि एक खेलको प्रतियोगिता हुने गरी व्यवस्थापन मिलाउन लागिएको छ ।

गण्डकी प्रदेशमा ३९ वर्ष पछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा ७ हजार खेलाडी, २ हजार व्यवस्थापक र १ हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष संलग्न हुनेछन् । यसले खेल गतिविधि मात्र नभए पोखराको पर्यटनमा समेत राम्रैसँग प्रवद्र्धन हुनेछ ।

बैठकमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयराज आचार्य, प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी दिवेश लोहनी, सशस्त्र प्रहरी बलका बाहिनीपति बाबुराम पाण्डे, नेपाली सेनाका प्रतिनिधि, खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद्का अधिकारीहरु सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width