मत दिए ५ वर्षमा सुन्दर पोखरा दिनेछौं : उपमेयर उम्मेदवार रानाभाट

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
deputy mayor kopila ranabhat

पोखरा, २० वैशाख । पाँचदलीय गठबन्धनतर्फबाट पोखरा महानगरमा उपमेयर उम्मेदवार कोपिला रानाभाटले पाँच वर्षपछि आफुहरुले पोखरेलीलाई सुुन्दर पोखरा उपहार दिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।पोखरा १७ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रानाभाटले भनिन्, ‘वैशाख ३० गते हामीलाई मत दिनुहोस्, हामी तपाईहरुलाई सुन्दर पोखरा दिनेछौं ।’

उनले आफूहरुको एकमात्रै मिसन भनेको सुन्दर र हराभरा पोखरा बनाउने भनिन् । ‘उपमेयर भएर मलाई घर चलाउनु छैन, छोराछोरी पाल्नु छैन । त्यसैले मेरो २४ सै घण्टा पोखराका जनताको सेवामा बित्छ,’ उनले भनिन् । उनले राजनीति र समाजसेवामा आफ्नो लामो अनुभव भएको बताउँदै त्यो अनुभवलाई कार्यान्वयन गर्न आफूले उपमेयरमा उम्मेदवारी दिएको बताइन् ।

एमाले नेतृत्वको पोखराको टोलीले पोखरालाई विकास गर्नुभन्दा पनि दोहन गर्न ध्यान दिएको आरोप लगाउँदै उनले अबको ५ वर्ष पोखराको विकासको वर्ष भएको बताइन् । लोकतन्त्र, संविधान र पद्दति जोगाउन अहिलेको पाँचदलीय गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्मै जानुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पोलिट्व्युरो सदस्य श्रीनाथ बराल, कांग्रेसका नेता तथा संविधानसभा सदस्य बृन्दादेवी रानामगर, कांग्रेसका क्षेत्रीय सभापति दीपक आचार्य, वडा अध्यक्षका उम्मेदवार देवराज आचार्य लगायतले प्रतिगमनलाई परास्त गर्न तथा लोकतन्त्रको रक्षा गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width