घरदैलोसँगै मतदाताको समस्या बुझ्दै कांग्रेस उम्मेदवार

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७९
congress pkr 1

पोखरा, २० वैशाख । पोखरा १ मा नेपाली कांग्रेसका उम्मेदवार ‘सास्ती हैन, सुविधाका लागि, स्वार्थी हैन इमानदारिताका लागि’ भन्दै घरदैलोमा व्यस्त छन् । वडाध्यक्षका उम्मेदवार सीता गुरुङसँगै सदस्यमा सुनिता कुँवर नेपाली, पार्वती खनाल पोख्रेल, मेघबहादुर गुरुङ र रामजीप्रसाद पौडेल चुनावी मैदानमा छन्।

मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउन सकिन्छ भनी उनीहरुले सुझावसमेत संकलन गरेका छन्। घरदैलोमा मत माग्नुका साथ उम्मेदवारले वडामा निर्वाचित भएपछि प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन् भनी मतदातासँग प्रत्यक्ष सुझाव संकलन समेत गरेका थिए । आफ्नौ घरदैलोमा आइपुगेका उम्मेदवारलाई स्थानीयले जीतको शुभकामना दिएका थिए । अध्यक्षका उम्मेदवार सीता गुरुङले पोखरामा कांग्रेसले जीतको लागि वडा १ बाट खाता खोल्ने दाबी गरिन् । घरदैलेमा पुग्दा मतदाताबाट जुन स्वागत, सत्कार, आत्मीयता र माया पाइयो यो नै जीतको आधार रहेको उनको भनाइ छ।

हाल मुख्यरुपमा वडाका अधुरा काम पूरा गर्न, विभिन्न वस्तीहरुमा भएको सेती कटान रोक्न तटबन्ध, खानेपानी, जौवारीदेखि सिम्पानीसम्मको सोतीको मापदण्ड, ज्येष्ठ नागरिक र बालमैत्री विश्रामस्थल निर्माणलगायत विभिन्न काम गर्न सुझाव आएको उम्मेदवार गुरुङको भनाइ छ।

वडालाई पोखराको विकास, सुशासन र अन्य कामले महानगरकै १ नम्बरको वडा बनाउने उनले बताइन् । ‘हाम्रो काम भनेको स्थानीय जनताकै सेवामा खटिने हो । वडाले प्रदान गर्ने सेवा सहज बनाउने हो । जसमा हाम्रो टिमले काम गर्छ,’ उनले प्रतिबद्धता व्यक्त गरिन्।

Related News

सम्बन्धित समाचार

hero news full width