भ्रष्टाचारमुक्त पालिका बनाउने रेग्मीको प्रतिवद्धता

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७९
syangja election

स्याङ्जा । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा उम्मेदवार घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् ।

विभन्न दल, कार्यकर्ता, शुभेच्छुक सम्बन्धित क्षेत्र पुगेर आ–आफ्नै शैलीले मत माग्ने गरेका छन् । निर्वाचन कार्यालयले अन्तिम नामावली प्रकाशन गरेसँगै उम्मेदवारले मत माग्ने अभियान तीव्र पारेका हुन् ।

अघिल्लो पटक पुतलीबजार नगर प्रमुखका उपविजेता नेपाली कांग्रेसका उम्मेदवार तुलसीराम रेग्मी यस पटक आफू निर्वाचित भए नगरवासीका आवश्यकताअनुरुप शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकाससँगसँगै सुशासनयुक्त र भ्रष्टाचारमुक्त पालिका बनाउने अभियानमा जुटेको बताए ।

‘सदरमुकामसँगै रहेको नगरपालिका अस्तव्यस्त छ । पाँचवर्षे समयसीमा उल्लेख्य कुनै काम हुन सकेनन् । बनेका पनि टिकाउ र राम्रा छैनन् । विकास निर्माणले गति लिएनन्,’ उनले भने, ‘साघुँरो राजमार्ग, अव्यवस्थित खानेपानी र ढल निकास, विभेदयुक्त अनुदान तथा सहयोग वितरणलगायत कार्यकर्तामुखी कार्यक्रमका कारण समग्र नगरवासीका पहुँचभन्दा बाहिर बनाइएकोे पालिकालाई सबैको साझा बनाउनेछु ।’

अघिल्लो पालि तुलसीराम रेग्मी १२ हजार मतान्तरले पराजित भएका थिए

सबै वर्ग, धर्म र जातजातिलाई समान शिक्षा, उपचार, रोजगार र सीप विकासमा ध्यान दिई नगरपालिकाको बढ्दो बसाइँसराइ नियन्त्रण गरी प्राविधिक तथा उच्च शिक्षालय स्थापना गर्ने उनले भने ।

उपप्रमुखका उम्मेदवार देवी अर्यालले गृहिणीदेखि कामकाजी सबै महिलाको समान सम्मानसहित उनीहरुका हकहित, अधिकार, रोजगार र न्यायका पक्षमा काम गर्ने बताइन् ।

सबै वर्गका महिलाका लागि सम्मानयोग्य काम गर्ने, उनीहरुका क्षमता पहिचान गरी रोजगार तथा सीपमूलक तालिम उपलब्ध गराई महिलामुखी रोजगारी सिर्जना गर्ने पक्षमा रहेको लक्ष्य उनले सुनाइन् ।

अघिल्लो पटक १ हजार २ सय २० मतान्तरले पराजित भएका रेग्मी यस पटक आफू निर्वाचित हुनेमा आशावादी छन् । क्षत्रीले १० हजार २ सय ४९ मत ल्याएर विजयी हुँदा रेग्मीले ९ हजार २९ मत पाएका थिए । १४ वटा वडा रहेको यहाँका मतदाता हाल ३७ हजार ७ सय ८ छन् । अघिल्लो पटक पनि सीमा क्षत्रीसँगै चुनावी प्रतिस्पर्धामा थिए ।

यसपटक पनि एमालेबाट उही पुराना प्रमुखमा सीमा क्षेत्रीलाई दोहोर्‍याएको छ । कांग्रेसले भने प्रमुखका प्रत्यासी रेग्मीलाई पुनः उम्मेदवारी बनाएको हो भने उपप्रमुखमा अर्याललाई पहिलो पटक उम्मेदवारी बनाएको हो । उनी नेपाली कांग्रेस महासमिति सदस्य हुन् भने रेग्मी क्षेत्र १ का क्षेत्रीय सभापति हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width