बिरासत जोगाउने एमालेको लक्ष्य

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७९
Uml pkr 31j

पोखरा । नेकपा एमाले पोखरा ३१ ले पुरानो बिरासत जोगाउने लक्ष्यसहित घरदैलोलाई तीव्रता दिएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा सबै पदमा फराकिलो मतान्तरले जीत निकालेको एमाले पोखरा ३१ ले स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै सोही बिरासतलाई कायम राख्ने लक्ष्यका साथ घरदैलोलाई तीव्रता दिएको हो ।

घरदैलोको क्रममा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको र आफ्नो टिम जीतको नजिक रहेको अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी बन्जराले बताए । उनले भने, ‘ हामीहरू जहाँ जहाँ पुगेका छौं त्यहाँ मतदाताको सकारात्मक र ऊर्जासहितको प्रतिक्रिया पाइरहेका छौं । सबैको माया र साथले हाम्रो टिम जीतको नजिक पुगेको महसुुस गरेका छौं ।’

नेकपा एमाले विकास र समृद्धिको संवाहक भएकोले सूर्य चिन्हमा मतदान गरी देश विकासको नेतृत्व एमालेलाई दिन आफूले सबैसँग अपील गरेका उनको भनाइ थियो ।

नेकपा एमाले पोखरा ३१ ले आइतबार बेगनासतालपारिको भाग, अदुवाबारी, कालीमाटी, बाँसपानीलगायत टोलमा घरदैलो गरेको प्रचारप्रसार समितिका संयोजक एवं वडा कमिटीका सचिव पुरुषोतम अधिकारीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका लागि पोखरा ३१ बाट नेकपा एमालेले अध्यक्षमा चिरञ्जीवी बन्जरा, खुल्ला सदस्यहरू देवेन्द्र अधिकारी र विनोदमणि लामिछाने, महिला सदस्य धनदेवी तिवारी र दलित महिला सदस्यमा तारा नेपालीलाई चुनावी मैदानमा उतारेको छ ।

पोखरा ३१ एमालेको राम्रो जनाधार भएको क्षेत्र मानिन्छ । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उक्त वडाका सबै पदमा नेकपा एमालेका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग