राप्रपा धार्मिक पार्टी : हेमजंग

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७९
rpp election

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले आगामी स्थानीय तह चुनावमा राप्रपा देशकै तेस्रो ठूलो दल हुने दाबी गरेका छन् । उनले पछिल्लो समय नेतृत्व परिवर्तन भएसँगै युवाको आकर्षण आफ्नो पार्टीमा बढेको बताए ।

पोखरामा आयोजित राप्रपाको स्थानीय तह निर्वाचनका उम्मेदवार प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा राप्रपा केन्द्रीय उपाध्यक्ष गुरुङले भने, ‘हामी धर्मयुद्धमा छौँ । यो कुरामा स्पष्ट हुनुहोस् कि अन्त्यमा धर्मकै जीत हुन्छ ।’

पछिल्लो समय देशव्यापीरुपमा राप्रपा र राप्रपाले उठाएका मुद्दाको विषयमा सकारात्मक बहस चल्नेक्रम बढेको उनले बताए । पार्टीको यस्तोखाले माहौल बनेको इतिहासमै पहिलोपटक भएको उनको दाबी छ ।

गुरुङले राप्रपाका उम्मेदवारलाई चुनाव जित्नका लागि अन्य दलका उम्मेदवारलाई गालीगलौज नगर्न पनि सुझाव दिए । ‘हामीले हाम्रो एजेन्डाले जनताको मन जित्ने हो र चुनाव पनि त्यही जनमतले जिताउने हो । हामी धार्मिक पार्टी हौं र हामीले कसैलाई गाली गरेर आफूलाई चोख्याउने काम गर्नुहुँदैन,’ गुरुङले भने, ‘जनतामाझ गएर जबरजस्ती आफ्ना धारणामात्रै नसुनाउनुहोस् । बरु सकेसम्म जनताको कुरा सुन्ने गर्नुहोस् ।’ उनले जनताले राजनीतिक विकल्प खोजेकोले त्यो विकल्प राप्रपा बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, केन्द्रीय सदस्य डा. महेन्द्रबहादुर केसी, राप्रपा नेता जयलाल पुन, जिल्ला अध्यक्ष नारायण गुरुङ लगायत बोलेका थिए ।

राप्रपाले पोखरा महानगर प्रमुखमा शंकर खराल र उपप्रमुखमा रञ्जना सेन पौडेललाई उम्मेदवार बनाएको छ । पार्टीले देशभरीका स्थानीय तहमा १२ हजार ४ सय उम्मेदवारलाई उठाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width