दुई दिने बिदाको भविष्य के होला ?

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७९
bida holiday

पोखरा । सातामा २ दिन सार्वजनिक बिदा दिने प्रचलन प्रधानमन्त्री शेरबहादुर देउवाले २० वर्षअघि नै खारेज गरे पनि अहिले पुनः त्यस्तो व्यवस्था ब्युँताएपछि यसले विविध क्षेत्रमा पर्न सक्ने सकारात्मक र नकारात्मक असरको आकलन सुरु भएको छ ।

२०५९ सालमा देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा यस्तो व्यवस्था खारेज गरेका थिए । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ साउन १ देखि काठमाडौं उपत्यकाका लागि दुई दिने बिदाको व्यवस्था लागु गरेका थिए । २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले इन्धन लगायतको खर्च कटौटी गर्न सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै सातामा २ दिन बिदाको सिफारिस गरेबमोजिम २०५६ सालबाट निर्णय कार्यान्वयनमा गएको थियो ।

कर्मचारी र कामदारको उत्पादकत्व वृद्धि गर्न थुप्रै विदेशी मुलुकमा सातामा २ दिन बिदाको प्रचालन भए पनि नेपालमा भने फरक प्रसंगमा यो निर्णय निर्णय पुनः कार्यान्वयनमा जाने चरणमा छ । अर्थतन्त्र संकटग्रस्त बन्दै गएपछि इन्धनको खपत घटाउन भन्दै आउँदो जेठ १ देखि यो व्यवस्था सरकारले कार्यान्वयन गर्न गत वैशाख १३ को मन्त्रिपरिषद्मार्फत निर्णय गराएको छ ।

नेपाल आयल निगमले इन्धन खपत घटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सातामा २ दिन बिदाको प्रस्ताव गरेको थियो । यसैगरी नेपाल राष्ट्र बैंकले पनि सरकारी खर्च घटाउन र कर्मचारीको सेवा प्रवाहमा सुधार ल्याउन भन्दै सोही प्रकारको प्रस्ताव सरकारसँग गरेको थियो । यिनै प्रस्तावका कारण पनि शनिबार र आइतबार सार्वजनिक बिदाको निर्णय कार्यान्वयनमा जान लागेको हो ।

उसो त तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले पनि २ दिन बिदाका लागि पहल गरेका थिए । कोरोनाले अस्तव्यस्त बनाएको पर्यटनलाई उकास्न भन्दै २०७७ असोज ८ मा पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा अध्ययनका लागि भन्दै मन्त्रालयले समिति नै गठन गरेको थियो ।

प्रधानमन्त्री भट्टराईले २०५६ मा काठमाडौं उपत्यकाका लागि दुई दिने बिदाको व्यवस्था लागु गरेकोमा देउवाले खारेज गरेका थिए ।

भट्टराईले नेतृत्व गरेको समितिले कर्मचारी र कार्यालय तथा संस्थाको उत्पादकत्व बढ्ने, पर्यटन प्रवद्र्धन हुने र सरकारी खर्च कम हुने भन्दै छलफलको मस्यौदामा २ दिने बिदाको सिफारिस गरेको थियो । यसैगरी सामाजिक दृष्टिले लैंगिक समानता कायम गर्न सघाउ पुग्ने, पारिवारिक सामीप्यता बढ्ने, काम र व्यक्तिगत जीवनबीच सन्तुलन कार्यम गर्न सहयोग पुग्ने र पर्यावरणीय सन्तुलनमा समेत टेवा पुग्ने भन्दै समितिले निस्कर्ष दिएको थियो ।

पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले यो निर्णयबाट आन्तरिक पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने बताउँछन् । यसैगरी होटल संघ पोखरा नेपालले समेत विज्ञप्ति जारी गरी त्यस्तो व्यवस्थाको स्वागत गरेको थियो । संघका अध्यक्ष लक्ष्मण सुवेदीले कोरोनाले थलिएको पर्यटन उकास्न सहयोग हुने भन्दै निर्णयको स्वागत गरे ।

कर्मचारीले साढे ९ देखि साढे ५ बजेसम्म काम गर्ने गरी सरकारले गरेको दुई दिने बिदा व्यवस्था अधिकांश अभिभावकले भने निको मानेका छैनन् । यस्तो व्यवस्थाले पठनपाठन समस्या पर्ने उनीहरुको तर्क छ । पुँजीबजारका लगानीकर्ताले समेत यो व्यवस्थाको आलोचना गर्दै शुक्रबार पनि धितोपत्रको कारोबार खुला गर्न माग गरेका छन् ।

कर्मचारीको उत्पादकत्व बढाउन विदेशमा सामान्यतया सातामा ४० घण्टा काम गर्ने र २ दिन बिदाको प्रचालन रहे पनि नेपालका हकमा यस्तो व्यवस्थाले नकारात्मक असर पर्ने हो कि भन्ने कतिपय विज्ञको चिन्ता छ । विकसित देशमा चुस्त सेवाप्रवाह, अनलाइनमार्फत सेवा दिने र सहज यातायात हुँदा २ दिने बिदा व्यवहारिक भए पनि नेपालमा त्यस्तो नहुँदा यो व्यवस्था पुनः असफल हुने हो कि भन्ने आशंका छँदै छ ।

Related News

सम्बन्धित समाचार

hero news full width