अन्नपूर्णमा ५ जनाले फिर्ता लिए मनोनयन

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७९

हेमजा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ५ जनाले मनोनयन फिर्ता लिए ।

गाउँपालिका वडा १ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवारी दिएका दीपेश दाहाल र बलबहादुर कुँवर, वडा २ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार खगराज अधिकारी, वडा ३ मा माओवादी केन्द्रबाट सदस्य उम्मेदवार ओमप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी) बाट वडा सदस्यका उम्मेदवार चर्तुरमान विकले मनोनय फिर्ता लिएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए । अब गाउँपालिकामा ८ दल र स्वतन्त्रका गरी २ सय १ जना उम्मेदवार चुनावमा होमिने छन् ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिंदै गर्दा दलले घरदैलो अभियान पनि सुरु गरेका छन् ।

नेकपा एमालेले शुक्रबार वडा ४ स्थित सल्यानको काफलबोट क्षेत्रमा घरदैलो गरेको छ । साथै साँझ पोखरास्थित तमु समाज सल्यानका प्रतिनिधिसँग पनि छलफल चलायो भने घरदैलो अब तीव्र पार्ने निर्णय गरेको छ ।

उता, कांग्रेसले पनि शनिबारबाट घरदैलो सुरु गर्ने जनाएको छ । कार्यसम्पादन समितिले निर्णय गरेको कार्यतालिका आधारमा टोलटोलमा पुग्ने गाउँपालिकामा अध्यक्षका प्रत्यासी युवराज कुँवरले जानकारी दिए ।

माओवादी केन्द्रले आइतबारबाट घरदैलो गर्ने भएको छ । उपाध्यक्षका प्रत्यासी धर्म गुरुङले जसको नीति, उसकै नेतृत्व अभियानका साथ पार्टी जनताको घरघरमा पुग्ने बताए ।

अन्नपूर्णमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा (एस), जनता समाजवादी, मंगोल नेसनल अर्गनाइजेसन लगायत दल चुनावी मैदानमा छन् ।

गाउँपालिका अध्यक्षमा ११ र उपाध्यक्षमा ५ जना उम्मेदवार कायम छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग