पोखरा महानगर : ५ मेयर र ३ उपमेयरको उम्मेदवारी फिर्ता

प्रकाश ढकाल
वैशाख १७, २०७९
Local Election

पोखरा । पोखरा महानगरपालिका मेयरमा उम्मेदवारी दिएका ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै, उपमेयरका ३ जना उम्मेदवारले मनोनयन फिर्ता लिए । अब मेयरमा २३ र उपमेयरमा ८ जनाबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीकी रोशनी बानियाँ र राप्रपा नेपालका गोविन्द गुरुङले शुक्रबार उम्मेदवारी फिर्ता लिए । यस्तै, स्वतन्त्रबाट नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाको उम्मेदवारी फिर्ता भएको छ । तिवारी र सापकोटा गठबन्धनविरुद्ध कांग्रेसका बागी उम्मेदवार हुन् । उनीहरुले पार्टीको निर्देशनपछि उम्मेदवारी फिर्ता लिएको बताए । राप्रपा नेपालले भने आफ्नो उम्मेदवार झिकेर एमालेलाई सघाउने निर्णय गरेको हो ।
यसअघि ११ उपमेयर उम्मेदवारमध्ये ३ जनाले उम्मेदवारी फिर्ता लिए । दुवै पदमा पुरुष उम्मेदवार उठाएको मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तामाङ र नेकपा माओवादी समाजवादीका उम्मेदवार इन्द्र सुनारको उम्मेदवारी फिर्ता भएको छ । राप्रपा नेपालबाट चिना दवाडीको उम्मेदवारी पनि फिर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि मेयरका लागि २८ जनाले मनोनयन दर्ता गराएका थिए । पोखराको मेयरमा एमालेबाट कृष्णबहादुर थापा र गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यबीच प्रमुख प्रतिस्पर्धा हुनेछ । यहाँ विवेकशील साझा पार्टीकी सुशीला केसी, राप्रपाका शंकर खराल, नेपाली जनता दलका मुक्तिनाथ सुवेदी उठेका छन् । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङ, आमूल परिवर्तन मसिहा पार्टीकी मुना बानियाँ, राष्ट्रिय नागरिक पार्टीकी सिर्जनादेवी रिजाल, देशभक्त समाजका रनबहादुर दमै उम्मेदवार छन् ।

जनमत पार्टीका शरणसिंह मोक्तान, मौलिक जरोकिलो पार्टीका सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीका भोजराज खनाल, नेकपा समाजवादीका गोविन्दप्रसाद शर्मा, उन्नत लोकतन्त्र पार्टीका आशिष थापा र नेकपा माओवादी समाजवादीका भोजराज त्रिपाठीको उम्मेद्वारी कायम छ । स्वतन्त्रमा किसानसिंह गुरुङ, विमलबहादुर कार्की, खड्कराज पौडेल, नवराज बास्तोला, रामराज अधिकारी, सुनिलबहादुर कोइराला, डिलबहादुर गुरुङको मनोनयन दर्ता भएको छ । स्वतन्त्रबाट उम्मेद्वारी दिएका कार्की गठबन्धनबाट बागी उम्मेदवार हुन् । किसान भने विप्लव माओवादीबाट उम्मेदवारी दिएका हुन् ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ र कांग्रेसकी कोपिला रानाभाटबीच बढी प्रतिस्पर्धा हुन्छ । यहाँ विवेकशील साझा पार्टीका माधव भण्डारी, राप्रपाकी रञ्जनाकुमारी सेन, आमूल परिवर्तन मसिहा पार्टी नेपालका पदमबहादुर गुरुङ, सचेत नेपाली पार्टीकी सोनी परियार, नेकपा समाजवादीकी शीतला थापा र स्वतन्त्रबाट सोममाया विक उम्मेदवार बने । विक विप्लव माओवादीकी नेतृ हुन् । नेकपा माओवादी समाजवादी र नेशनल मंगोल अर्गनाइसेजनबाट दुवै पदमा पुरुष उम्मेदवार उठाएका थिए । अहिले दुवैले उपमेयरको उम्मेदवार फर्काएका हुन् । निर्वाचन मापदण्डअनुसार एउटै पार्टीले उम्मेदवार उठाउँदा मेयर र उपमेयरमा फरक लिङ्गको हुनुपर्ने अनिवार्य व्यवस्था छ । सोही व्यवस्थाका आधारमा उनीहरुले उम्मेदवार फिर्ता लिएका हुन् ।

२ बागीले फिर्ता लिए, १ को कायमै

गठबन्धनको विरोध गरेर बागी उम्मेदवारी दिएका २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अर्का १ जनाको भने कायमै छ । गत वैशाख १२ मा मनोनयन दर्ता गराएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएका हुन् । वैशाख ११ मै दोस्रो नम्बरमा दर्ता गरेका अर्का बिमलबहादुर कार्कीले मनोनयन कायमै राखेका हुन् । गठबन्धनबाट प्रमुखमा नेकपा (एकीकृत समाजवादी) लाई टिकट दिएपछि असन्तुष्ट तीनै जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता लिएका ऋषिराम सापकोटाले एउटै पार्टीबाट ३ जना उम्मेदवार लड्दा सन्देश राम्रो नजाने भएकोले फिर्ता लिएको प्रतिक्रिया दिए । मनोनयनको भोलिपल्ट उनले पत्रकार सम्मेलन गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए । लामो समयदेखि कांग्रेसमा आबद्ध सापकोटा कास्कीका पार्टीमा पूर्व कोषाध्यक्ष भई काम गरेका थिए । उनले २०७४ सालमा पनि मेयरमा आकांक्षा देखाएका थिए ।

फिर्ता लिएका अर्का नेता नन्दप्रसाद तिवारीले प्रजातन्त्र जोगाउन र मुलुकको विकासका लागि अहिलेको गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवारी फिर्ता लिएको बताए । २०३६ सालको बहुदल प्रचारप्रसार समितिको सदस्य भई काम गरेका तिवारी कांग्रेस जिल्ला कार्यसमिति पूर्व सचिव हुन् । पोखरा–३१, बेगनास निवासी उनी यज्ञबहादुर थापा सभापति हुँदा सचिवको भूमिकामा थिए ।

मनोनयन कायमै राखेका विमलबहादुर कार्कीले भने पार्टी नेतृत्वले गरेको गलत निर्णयप्रति असन्तुष्टी दोहोर्‍याए । उनले भने, ‘कांग्रेसले नै काँग्रेसलाई भोट नहाल भन्यो । पहिले पनि गोरखामा गएर आँखा (बाबुराम भट्टराई) मा भोट हाल भन्यो, चितवनमा हसियाँ हतौडा (रेणु दाहाल) मा तथा मकवानपुरमा गाई (कमल थापा) लाई भोट हाल भन्यो ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवा नै दोषी भएको बताउँदै आफूलाई पार्टीले कारबाही गर्न नमिल्ने जिकिर गरे । तरुण दल पोखरा १८ को संस्थापक अध्यक्ष उनी यसअघि पोखरा नगर सचिव र कास्की क्षेत्र २ को पूर्व सचिव थिए । उनी पोखरा १४ राधाकृष्ण टोल निवासी हुन् ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width