गठबन्धनको पोखरा घोषणापत्र : मेट्रो रेल चलाउने, भत्ता बढाउने

प्रकाश ढकाल
वैशाख १६, २०७९
ghosana patra 2

पोखरा । पाँचदलीय सत्ता गठबन्धनबाट पोखराका उम्मेदवारले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्र भने पूरा गर्नेभन्दा ‘पपुलिष्ट’ हुनेखालका छन् ।

राम्रो नगर बससमेत चढ्न नपाएका पोखरेलीलाई फेवातालदेखि बेगनासताल जोड्ने मेट्रो रेल सञ्चालन सपना देखाइएको छ । त्यतिमात्रै होइन, फेवातालबाट नेपालका प्रमुख ताल हवाइ कनेक्सनबाट जोड्ने योजना अघि सारिएको छ । अहिले पोखरामा आइरहेका पर्यटक संख्या बढाएर बर्सेनि १० लाख भित्र्याउने लगायत महत्वकांक्षी योजना छ । हाल पोखरामा वार्षिक साढे ४ देखि ५ लाख हाराहारी विदेशी पर्यटक आउँछन् । पोखरामा ट्राफिक जाम निकै बढेको छ । सहरको प्रमुख समस्यारुपमा बिस्तार हुँदैछ, फोहोर । गठबन्धनका उम्मेदवारले पृथ्वीचोकमा सिटी बसपार्क र लामेआहालमा प्रदेशस्तरीय बसपार्क निर्माण गर्ने योजना दोहो¥याएका छन् । यी योजना हरेक पार्टीले सधैंका घोषणापत्रमा समेट्ने तर कार्यान्वयन नगर्ने योजना हुन् ।

घोषणापत्रमा बाइपास रोड पनि समेटिएको छ । मुख्य राजमार्ग जोड्ने तर पोखराको मुख्य सहरभन्दा बाहिरबाट बाइपास बनाएर गाडीहरु सहर छिर्न नदिने प्रस्ताव छ । सधैं चर्चामा आउने, कहिलेकाहीँ योजना बनेजस्तो पनि गर्ने पोखरा रिङरोडलाई गठबन्धनले पनि घोषणापत्रमा लेखेको छ । ‘५ वर्षमा निर्माण नहुन सक्छ । तर निर्माण सुरु गर्छौं,’ घोषणापत्रमा भनिएको छ । यस्तै, पोखरा महानगरको ग्रामीण क्षेत्रमा सेटलाइट सिटी बनाएर ४० देखि ५० हजार जनसंख्याको बसाइँ व्यवस्थापन गर्ने घोषणा छ । ग्रामीण इलाकामा ५ वटा स्याटलाइट सिटी बनाउने भनिए पनि कुन ठाउँ भनेर तोकिएको छैन ।

विदेशी कामदारलाई परमिट अनिवार्य

अहिले पोखरामा कति विदेशी पर्यटक छन् भन्ने तथ्यांक छैन । उनीहरुले नेपालबाट कमाएर लैजाने रकमको झन् लेखाजोखा छैन । सत्ता गठबन्धनका पोखरा उम्मेदवारहरुले ती कामदारको तथ्यांक राख्ने, परमिट अनिवार्य गर्ने र उनीहरुको कमाइमा कर लगाउने घोषणा गरेका छन् ।

गठबन्धनले निर्वाचित भएको ६ महिनाभित्रै ३ हजार जनालाई रोजगारी दिने गरी योजना अघि सार्ने बताएको छ । महानगरले काम गर्ने युवालाई परियोजना हेरेर १० लाखसम्म ऋण लगानी गर्ने घोषणा छ । अति विपन्नलाई निशुल्क स्वास्थ्य बिमा गर्ने, कृषिको उत्पादन महानगरले खरिद गर्ने, पुराना सम्पदाको संरक्षणका लागि विशेष प्याकेज ल्याउने र फोहोर बैंकमार्फत फोहोर खरिद गर्ने कार्यक्रम गठबन्धनको घोषणापत्रमा छ ।

भत्ता २० प्रतिशत बढाउने

गठबन्धनले चुनाव जिते सामाजिक सुरक्षा भत्ता २० प्रतिशत बढाउने घोषणा गरेको छ । अहिले पोखरामा १० प्रतिशत भत्ता बढाएर वितरण भइरहेको छ । हरेक वर्ष करिब ४ करोड हाराहारी खर्च बढ्छ । सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गर्ने उम्मेदवारले बताए । निर्माणाधीन नयाँ एयरपोर्टबाट लेकसाइड र कोत्रेसम्म फास्ट ट्रयाक निर्माण गर्ने योजना छ । फेवातालमा यसअघि मिसाइएको ढल बासपास गरेर बिसर्जन गर्ने बताइएको छ । उहिलेको पोखरा ब्युँत्याउने र अहिलेका ग्रामीण क्षेत्रहरुमा बहुसांस्कृतिक ग्राम निर्माण गर्ने गठबन्धनको प्रस्ताव छ ।

गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्यले पोखरेलीलाई ५ वर्षभित्र धनी बनाउन आधार तयार गर्ने बताए

घोषणाअनुसार पहिलो दिनदेखि १ वर्षसम्मका काम छन् । पहिलो दिन नै सेवाग्राहीलाई अत्यावश्यक सिफारिस निशुल्क दिने कामको थालनी गर्ने तयारी छ । ‘हेलो मेयर’ कार्यक्रम सञ्चालन गर्ने, ३ महिनाभित्र घुम्ती अस्पताल सञ्चालन गर्ने, महानगरको केन्द्रबाट गाउँसम्म पुग्न साँझ बस सेवा सञ्चालन गर्ने, नयाँ करको दायरा खोज्ने, एउटै कोठाबाट सेवा दिने वातावरण तय गर्ने, अनुसन्धानमा आधारित विकास परियोजना सञ्चालन गर्ने, ६ महिनाभित्र स्कुल टु वर्क कार्यक्रम सञ्चालन गर्ने, आमा समूहलाई एक समूह एक उत्पादन कार्यक्रममा जोड्ने कार्यक्रम ल्याइएको छ ।

कसरी जुटाउने पैसा ?

उम्मेदवारले ५ वर्षको कार्यकालभित्र गरिबीको रेखामुनिको जनसंख्या शून्य बनाउने तथा सुन्दर र सफा पोखरा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । घोषित कार्यक्रम पूरा गर्न संघ, प्रदेश र दातृनिकायबाट सहयोग माग्ने तथा पोखराकै बासिन्दाबाट सेयर संकलनको प्रस्ताव गरेका छन् । ‘पूरा नहुने कुनै योजना छैनन् । धेरैतिरबाट छलफल गरेर यो बनाएका छौं,’ मेयरका उम्मेदवार धनराज आचार्यले भने, ‘अहिले पोखराको बजेट ७ अर्ब छ । संघ र प्रदेशबाट थप बजेको माग गर्छौं । ५ लाख महानगरवासी हुनुहुन्छ । उहाँहरुको मन जितेर पोखरालाई नमुना बनाउन पहल गर्छौं ।’

पोखरामा वर्षेनी चालु प्रकृतिका खर्च अस्वभाविक रुपमा बढिरहेको छ । त्यसको नियन्त्रण हुन सकेको छैन । आचार्यले पोखरेलीलाई ५ वर्षभित्र धनी बनाउन आधार तयार गर्ने बताएका छन् । उनले नवलपुरदेखि मुस्ताङ र गोरखादेखि बागलुङसम्म समेटेर ग्रेटर पोखराको अवधारणा तय गर्ने बताए । ‘म भ्रष्टाचार गर्दिनँ, मेरो सिस्टमले भ्रटाचार गर्दैनँ । अहिलेसम्म माथिकालाई दिनुपर्छ भनेर तलका कर्मचारीले पैसा मागेका छन् । माथी भ्रष्टाचारको पैसा लिने मान्छे नै नभएपछि भ्रष्टाचार कसरी हुन्छ ?,’ उनले भने, ‘कसैले गलत गरे शाखा फेर्छाैं, त्यसपछि पनि नभए टर्मिनेट गर्छाैं ।’

उनले गठबन्धनका सबै पार्टीका विज्ञहरुलाई राखेर थिंक ट्यांक निर्माण गर्ने र सोही समूहको सुझावअनुसार काम गर्ने बताएका छन् । लगानी भित्र्याउन र योजनाको व्यवस्थित छनोट गर्न पोखरा विकास प्राधिकरण स्थापना गर्ने प्रस्ताव ल्याएका छन् ।

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले आफू निष्कलंक भएर कार्यकाल पूरा गर्ने बताइन् । ‘धन कमाउनु छैन, परिवार पाल्नु छैन । निष्कलंक भएर निस्किने छु,’ उनले भनिन्, ‘भ्रष्टाचार हुन दिने छैन, अनियमितता हुन दिने छैन । न्यायिक समितिमा रहेर सबैलाई न्याय हुने गरी मुद्दा किनारा लगाउने छु । कुनै मुद्दा अदालत जान नपर्ने गरी काम गर्छु ।’ पोखरामा गठबन्धनबाट मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेसलाई भागमा परेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width