अहिले समय र जनताले नेपाली कांग्रेस चाहेको छ: कोपिला रानाभाट

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७९
Kopila Ranabhat 3

कोपिला रानाभाट पोखरा महानगरपालिकाको उपप्रमुख पदका लागि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससहित ५ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन् । उनी यसअघि रानाभाट नेपाल महिला संघ तदर्थ समितिको वडा सभापति, कास्की जिल्ला कार्यसमितिको सदस्य, त्यसपछि उपसभापति हुँदै सभापति निर्वाचित भइसकेकी छन् । यसैगरी गण्डकी प्रदेश समितिको सहमहामन्त्री, नेपाली कांग्रेस १२ औं, १३ औं र १४ औं महाधिवेशनको प्रतिनिधि, ११ औं महाधिवेशनमा क्षेत्रीय कार्यसमितिको कोषाध्यक्ष र १० औं महाधिवेशन क्षेत्रीय कार्यसमिति सदस्यको जिम्मेवारीसमेत उनले पूरा गरिसकेकी छन् । पारालिगल कास्की र महिला न्यायिक मञ्च कास्कीमा अध्यक्ष रहेर काम गरेको अनुभव पनि उनीसँग छ । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुलफीकर भुट्टोलाई फाँसी दिइएको घटनाबाट प्रभावित भई राजनीतिमा आएको बताउने नेतृ रानाभाटसँग आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आदर्श समाज प्रतिनिधिले गरेको वार्तालाप यहाँ प्रस्तुत गरिएको छ :

तपाईंको राजनीतिक र सामाजिक यात्रा कसरी अगाडि बढ्यो?

म २०३५ सालबाटै नेपाल विद्यार्थी संघको सक्रिय सदस्यको रुपमा राजनीतिमा प्रवेश गरे पनि पछिल्लोपटक २०६२/०६३ सालको जनआन्दोलनमा नेपाल महिला संघ कास्कीको नेतृत्व गर्दै काठमाडौंमा १९ दिने आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्न पुगें । त्यसअघि २०५९ सालताका शाही शासनविरुद्धको आन्दोलनमा गिरफ्तार भई बन्दीगृहमा काराबास सजायँ भोग्नुपर्‍यो । २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन लेखनाथ ५ बाट वडा सदस्यमा निर्वाचित भई सेवा गर्ने मौका पनि पाएको थिएँ । त्यसअघि २०३६ सालमा बहुदल र निर्दलबीचको जनमत संग्रह, २०४६ सालको आन्दोलन र २०४२ सालको सत्याग्रहमा सक्रिय सहभागी भई पञ्चायतविरुद्ध सशक्त संघर्ष पनि गरियो । नीति र सिद्धान्तका कुरा थाहा नहुँदै राजनीतिमा लागेँ । म नेपाली कांग्रेसको तरुण पत्रिका र नेपाली कांग्रेसको झण्डासँग खेल्दै गर्दा राजनीतिमा समाहित हुन पुगेँ । म राजनीतिक परिवारमा पनि जन्मिएको हुँं । मेरो रगत राजनीतिक रगत हो । मेरो बुबा हरिबहादुर रानाभाट साबिक लेखनाथ नगर नेपाली कांग्रेसको संस्थापक नगरसभापति पनि हुनुहुन्थ्यो । २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनमा उहाँले प्रजातन्त्र स्थापनाका लागि गिरफ्तारी दिनुभएको थियो । बुबाको यो पक्षले पनि मलाई राजनीतिमा अगाडि बढ्न थप प्रेरणा मिल्यो । त्यसैगरी ४ कार्यकालसम्म भवानी कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्य, पारालिगल कास्कीको अध्यक्ष, महिला न्यायिक मञ्च कास्कीको अध्यक्ष, महिला सञ्जाल लेखनाथको अध्यक्ष र अन्तरपार्टी महिला सञ्जाल कास्कीको संस्थापक अध्यक्षको रुपमा पनि मैले काम गरिसकेकी छु ।

पोखरा महानगरको उपप्रमुखमा तपाईंको उम्मेदवारी किन ? बताइदिनुस् न ।

मेरो पार्टी नेपाली कांग्रेसले मलाई उपप्रमुखको रुपमा टिकट दिएर मेरो उम्मेदवारी दर्ता भएको अवस्थामा यो प्रश्न स्वाभाविक छ । हिजो स्मार्ट र सुखी पोखराको नारा हामी सबैले सुन्न पुग्यौं । ती नारा कति पूरा भए कति पूरा भएनन्, सबै पोखरेली जनताले देखेकै छन् । पोखरेली जनतालाई थाहा छ स्मार्ट र समृद्ध पोखराको नारा नारामै सीमित रहन पुगे । ती सपना पूरा नहुँदै गर्दा अहिले पुनः जनताले प्रश्न उठाउने बेला आएको छ । ती प्रश्नको जवाफ जनमतमार्फत् दिनका लागि पनि मैले उम्मेदवारी दिएको हुँ । अर्को कुरा म महिला पनि भएका कारण उपप्रमुखको भूमिकासँग नागरिकका लागि गरिनुपर्ने न्यायिक निरुपणका विषयहरु पनि संविधानले जोडेको छ । म यसअघि महिला मञ्च र पारालिगलमा समेत आबद्ध भएर काम गरेका कारण न्यायिक विषयमा मेरो अनुभव पनि रहेको छ । म त्यो अनुभव उपप्रमुखको रुपमा सदुपयोग गर्न चाहन्छु, पीडितका लागि छिटो छरितो न्याय प्रदान गर्ने मेरो ध्येय हुनेछ । मैले महिला हिंसाविरुद्ध धेरै वर्ष अघिदेखि काम पनि गर्दै आएको हुँ । समाजमा थुप्रै महिला विभिन्न किसिमले पीडित छन् । अधिकारका बारेमा कोही जानेर पीडित छन्, कोही नजानेर पीडित छन् । नागरिकताकै कुरा गर्दा पनि नागरिकता भनेको श्रीमान्ले दिए लिने वस्तु हो जस्तो भ्रममा हुनुहुन्छ धेरै । यो मौलिक र मानवअधिकारको विषय हो भन्ने धेरैलाई ज्ञान छैन । समाजमा कतिपय पुरुष पनि पीडित हुनुहुन्छ । आमाको नाममा नागरिकता दिने सवालमा पनि सबै ठाउँमा यो कार्यान्वयन हुन सकेको छैन । यस्ता कुरालाई सल्टाउने सोचका साथ म चुनावी प्रतिस्पर्धामा उत्रिएको हुँ ।

मलाई भ्रष्टाचार गरेर कुनै धनसम्पत्ति कमाउनु छैन । मलाई घर परिवार सम्हाल्नुपर्ने बाध्यता पनि छैन

उपप्रमुखको उम्मेदवारको रुपमा तपाईंका भावी योजना के–कस्ता छन्?

म निर्वाचित भएपछि सर्वप्रथम त कार्यालय र कर्मचारी व्यवस्थापनको पक्षलाई मैले ध्यान दिनेछु । कार्यालयबाट नागरिकले सहज सुविधा र सेवा पाऊन् भन्नेतर्फ मेरा पहलहरु केन्द्रित हुनेछन् । मुख्य कुरा जनतालाई सेवा प्रवाहका लागि कार्यालय व्यवस्थित बनाउने मेरो प्राथमिकता हुनेछ । त्यस्तै पोखरामा अव्यवस्थित पार्किङ विद्यमान छ । अव्यवस्थित पार्किङले पोखराको स्वरुप नै फेरिएको छ । यहाँको सुन्दरतामा आँच पुगेको छ । त्यसैले व्यवस्थित पार्किङ बनाउनेतर्फ मेरो जोड रहने छ । अनि पोखरा एउटा पर्यटकीय सहर पनि हो । पोखरा प्राकृतिक र सांस्कृतिक रुपमा धेरै सुन्दर छ । यहाँको सुन्दरता जोगाउन र संस्कृतिको संरक्षणको लागि मेरो पहल रहनेछ । अझै पोखरालाई पर्यटकीय हिसाबले थप आकर्षक बनाउन र नयाँ गन्तव्यको खोजी गरी पर्यटकको बसाइँ लम्ब्याउनेतर्फ मैले काम गर्नेछु । यसका लागि पर्यटन व्यवसायी र सरोकारवालासँग हातेमालो गर्दै अगाडि बढ्नेछु । कृषिको आधुनिकीकरण र कृषि पकेट क्षेत्रहरुको विकासका लागि समेत मैले ध्यान दिनेछु । यसैगरी पोखरामा अन्तर्राष्ट्रियस्तरको सभाहलको निर्माण र त्यसका लागि उपयुक्त स्थलको पहिचानमा लागि पनि काम गर्नेछु । धेरै वर्ष अगाडिको योजना भए पनि मूर्त रुप लिन नसकेको पोखराको प्रस्तावित बसपार्कलाई अगाडि बढाउने छु । सञ्चालनमा रहेको पोखराको नयाँ (बाग्लुङ) बसपार्कलाई पनि थप व्यवस्थित बनाउने छु । धार्मिक स्थलहरुको समेत संरक्षण गर्दै समग्रमा स्वच्छ, सुन्दर र हराभरा पोखरा बनाउने मेरो योजना हो ।

नेपाली कांग्रेस एक्लै पनि चुनाव लड्न सक्ने पार्टी हो, अहिले ५ दलीय गठबन्धनको आवश्यकता किन पर्‍यो?

पार्टीको केन्द्रीय तहको निर्णयअनुसार हामी अहिले यहाँ पनि गठबन्धन गरेर चुनावमा जाँदै छौं । गठबन्धन भइरहँदा सीमित ठाउँहरुमा केही विवादका कुरा पनि आएका छन् । यही वैशाख १६ गतेभित्र सानातिना विवाद हामी मिलाइसक्ने छौं । उति ठूलो विवाद केही पनि छैन । गठबन्धनको साझा घोषणापत्र पनि एकदुई दिनभित्र आउनेछ । घोषणापत्रअनुसार नै हामीले काम गर्ने हो । गठबन्धनका तर्फबाट हामीले नेकपा (एकीकृत समाजवादी) का नेता शालीन व्यक्तित्व आदरणीय धनराज आचार्यलाई पोखरा महानगरको प्रमुखको साझा उम्मेदवार बनाएका छौं । यो पटकको निर्वाचनको परिणाम हाम्रो हातमा आउनेछ । हिजोजस्तो ढाँटेर, झुटा आश्वासन बाँड्ने समय यो होइन । उसै पनि जनताले आफैं मूल्यांकन गर्नेछन् । बहुमतका साथ नतिजा हाम्रो पक्षमा आउनेछ । अर्को कुरा लोकतन्त्र र संविधान बचाउनका लागि पनि अहिले गठबन्धनको आवश्यकता खड्किएको हो ।

यसअघि ठूलो मतान्तरले उपप्रमुखमा कांग्रेसका उम्मेदवार पराजित भएको अवस्थामा यसपटक तपाईंले चुनाव जित्ने आधार के छन्?

हिजो नेपाली कांग्रेस एक्लै चुनाव लडेको हो । अहिले हामी गठबन्धनका सहयात्री दलहरु सँगै छौं । अर्को कुरा नेकपा एमाले फुटेको अवस्थामा त्यसको मूल प्रवाह हामीतिर नै छ । फुटपछि एमाले एउटा हाँगोजस्तो मात्र रहन पुगेको छ । अहिले समय र जनताले नेपाली कांग्रेस चाहेको छ । देश बचाउन जनताले कांग्रेसलाई रोजेका छन् । यसैगरी उपप्रमुखको सन्दर्भमा लेखनाथ क्षेत्रबाट मेरो उम्मेदवारी नै पहिलो हो । त्यस क्षेत्रका बासिन्दाको सदासयता पनि मलाई रहने नै छ । भेगीय हिसाबले र महिला भएका कारण पनि मैले धेरै मत पाउने छु । उपप्रमुखको उम्मेदवारको रुपमा म प्रस्तुत भइरहँदा लेखनाथ क्षेत्रका लागि पनि यो गर्वको कुरा हो । चुनाव पछिल्ला वर्षहरुमा केही कस्ट्ली (महँगो) हुँदै गए पनि म आवश्यकभन्दा बढी खर्च गरेर तडकभडकका साथ चुनाव लड्ने छैन । पैसा खर्च गरेर म भोट किन्दिनँ । मैले कलंकित हुने गरी अहिलेसम्म कतै काम गरेको पनि छैन । मेरो जीवन नै राजनीति र राजनीति नै जीवन रही आएको छ । मेरो रगतमा नै राजनीति छ । अविवाहित भएका कारण पनि मैले जनसेवामा धेरै समय दिन सक्नेछु । मलाई भ्रष्टाचार गरेर कुनै धनसम्पत्ति कमाउनु छैन । मलाई घर परिवार सम्हाल्नुपर्ने बाध्यता पनि छैन । मेरो एक दिदी हुनुहुन्छ । आमा बुबा हुनुहुन्न । मैले सरल र साधारण जीवनयापन गर्दै आएको छु । विलासी जीवन मेरो छैन । यी र यस्तै आधारले म विजयी हुनेमा निश्चिन्त छु ।

Related News

सम्बन्धित समाचार

hero news full width