पोखरामा ठाडोभाका संरक्षणको पहल

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७९
Thado Bhaka 1

पोखरा । लमजुङ जिल्लामा बढी गाइने ठाडोभाकाको संरक्षणका लागि बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरिएको छ । लमजुङका कवि एवं गीतकार तीर्थराज अधिकारीको प्रस्तुति रहेको कार्यक्रम लमजुङ–पोखरा सम्पर्क समितिले आयोजना गरेको हो । लमजुङे ठाडोभाका समारोह नाम दिएर कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले गीत गाएर गरे । सो अवसरमा उनले ठाडोभाकाको संरक्षण र प्रवद्र्धनमा आयोजित कार्यक्रम र पहलको सराहना गरे । सो अवसरमा तीर्थराज अधिकारीद्वारा लिखित ‘यो कस्तो हात हो’ नामक गीत र कविता संग्रह वितरण गरिएको थियो । २००३ सालमा लमजुङको दुराडाँडामा जन्मिएका अधिकारीलाई मुक्तकमणिका रुपमा समेत चिन्ने गरिएको छ । उनका जुनकीरी, ऐना, तीन लय तेह्र गीत, झटारो लगायत विभिन्न कृतिहरु प्रकाशित छन् ।

सो अवसरमा पुस्तकका सम्पादक असफल गौतमले तीर्थराज आफैंमा साहित्यिक तीर्थ भएको बताउँदै उनको लोभलाग्दो जीवन सबैका लागि अनुकरणीय रहेको उल्लेख गरे । धर्मपत्नी सीताको साथसँगै तीर्थले नेपाली साहित्यको श्रीवृद्धिमा पु¥याएको योगदानको गौतमले प्रशंसा गरे । कलाकार बुद्धिमान दुराले पनि कार्यक्रममा आफ्नो भनाइ राखेका थिए । सो अवसरमा कलाकारले ठाडोभाकाका गीत प्रस्तुत गरेका थिए । समिति अध्यक्ष विपीन अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । समितिका सल्लाहकार कल्याण पन्तले ठाडोभाकाका बारेमा संक्षिप्त जानकारी दिंदै कार्यक्रम संचालन गरेका थिए ।

पन्तका अनुसार ठाडोभाका लमजुङको एक सांस्कृतिक सम्पदाको रुपमा परिचित छ । एक शताब्दीअघि देउबहादुर दुराले यो भाकालाई चर्चामा ल्याएका हुन् । मेलापात गर्दा होस् वा वनपाखा जाँदा लमजुङमा यो भाकाका गीत गाउने गरिन्छ । यसमा विभिन्न टुक्का राखी घुमाउँरो पाराले गीत सिर्जना गरी गाइन्छ । गीतमा सामाजिक विसंगति र ठूलाले निमुखालाई दमन गरेको तथा मनमा उब्जेका विरहलाई समेटिएको हुन्छ । लमजुङमा यो गीत गाउनेमा करापुका पञ्चसुबा र हर्कसुबा हुन् । श्रीमाया सर्किनी र नेटा थानसिङकी जुठी कामिनी तथा संजुरका मिया पनि हुन् । देउबहादुर दुरा पछि पञ्चसुृवा, हर्षसुवा, मनिराम दुरा, काजी दुरा, भेडिखर्के साइला, भक्ति दुरा लगायतले यो गीत गाए । गीतलाई जगेर्ना गर्न अहिले लमजुङे ठाडोभाका प्रतिष्ठान नै खोलिएको छ । यस भाकाको संरक्षणमा पछिल्लो पटक बुद्धिमान दुराको विशेष भूमिका रहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width