समावेशीमा दलको कमजोरी : गठबन्धनले खोसिए महिला सिट

प्रकाश ढकाल
वैशाख १५, २०७९
Chart

पोखरा । समानुपातिक समावेशी सिद्धान्तलाई प्रमुख एजेन्डा बनाएर जनयुद्धमा होमिएको नेकपा (माओवादी केन्द्र) विस्तारै आफ्नो एजेन्डाबाट विमुख हुन थालेको छ । गण्डकी प्रदेशका ८५ मध्ये ३३ पालिकामा प्रमुख उठाएको माओवादीले ३ जना महिलामात्रै प्रमुखमा टिकट दिएको छ । स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुखमा रेखा बस्याल, कास्कीको अन्नपूर्णमा हरिमाया तिमिल्सिना र अन्नपूर्णको रघुगंगामा मीना विकलाई प्रमुखको टिकट दिएको हो । माओवादीले दलित समुदायबाट ३ जना प्रमुख दलित समुदायबाट उठाएको छ । माओवादीबाट पालिका उपप्रमुखमा ५६ जनाले मात्रै मनोनयन दिएका छन् । तीमध्ये ३ जना दलित छन् । ५६ मध्ये २५ जनामात्रै महिला छन् भने २७ जना पुरुष उठाइएको छ ।

अहिलेको सबैभन्दा ठूलो दल नेकपा एमालेले गण्डकीका ८५ वटै पालिकामा प्रमुख र उपप्रमुख उम्मेदवार उठाएको छ । ८५ मध्ये ५ जनामात्रै महिला प्रमुख छन् । दलित भने ३ जनामात्रै उठाएको छ । ३ जना उपाध्यक्षमा दलित उठाइएको छ । एमालेले मनाङका दुई पालिकामा अध्यक्ष उपाध्यक्ष नै पुरुष उठाएको छ । प्रदेश कमिटीले गरेको निर्णयअनुसार नार्पाभूमिमा अध्यक्षका रुपमा ज्याप्ले गुरुङलाई उम्मेदवार बनाइएको छ भने उपाध्यक्षमा मिङमर फुन्चोक लामा निर्विरोध भैसकेका छन् । नासों गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङलाई उठाइएको छ । यद्यपि उनीहरुले आफ्नै कमिटीको मान्छेलाई स्वतन्त्र रुपमा उम्मेदवारी हाल्न लगाएको बताइएको छ ।
कांग्रेसले प्रमुखमा ७ जना महिला उठाएको छ । प्रमुखमा दलित समुदायबाट १ जना पनि छैनन् । उपाध्यक्षमा भने १ दलित उठाएको छ । ८५ मध्ये ७६ पालिकामा मात्रै प्रमुख उठाएको हो भने उपप्रमुख ५२ पालिकामा उम्मेदवारी दिएको छ । धेरै दलबीच सत्ता गठबन्धन भएका कारण अधिकांश पालिकामा प्रमुख उपप्रमुख नै महिलाले उम्मेदवारी दिन पाएनन् । लमजुङको क्होंलासोथरमा महिला उपाध्यक्ष छन् भने अरु सबै पालिकामा गठबन्धनबाट प्रमुख उपप्रमुख नै पुरुष छन् ।

महिलालाई टिकट नै नदिने र दिए पनि कमजोर ठाउँमा उठाउँदा नेतृत्वबाट वञ्चित

मनाङको दुई पालिकामा दुवै पदमा पुरुष हुने पक्का भएको छ । गोरखामा भने सबै पालिकामा महिला पुरुष मिलाएका छन् । स्याङ्जा पनि गठबन्धन भएका सबैजसो पालिकामा दुवै पदमा पुरुष मात्रै छन् । यदि माओवादीसँग गबठन्धन भए नवलपुरमा पनि गठबन्धनको कुनै पनि पालिकामा महिला रहने छैनन् । पर्वतको एउटा पालिकामा महिला उपाध्यक्ष हुने छन् भने अरु सबैमा पुरुषले नै कब्जा गरेका छन् । बागलुङका पनि पूरै पालिका पुरुषको कब्जामा परेको छ । संविधानत प्रमुख र उपप्रमुखमा कम्तीमा १ महिला उठाउनुपर्ने अनिवार्य व्यवस्था छ । दलहरुले उठाउँदा लिंगीय आधारमा मिलाएर उठाउनुपर्छ तर गठबन्धन गर्दा कानुनत त्यो बाध्यकारी छैन । उनीहरुले व्यवहारत समावेशी सिद्धान्त भुलेका छन् । एमालेको पनि गठबन्धन हुन सक्ने ठाउँमा महिला नै चेपुवामा पर्ने सम्भावना छ ।

दलहरुले महिला प्रमुख उठाएको ठाउँमा एउटाले महिला उठाए अर्कोले पुरुष उठाएका छन् । गोरखा नगरपालिका एमालेको तुलनात्मकरुपमा कमजोर पालिका हो, जहाँ महिलालाई मेयरमा टिकट दिइएको छ । पुतलीबजारमा यसअघि पनि एमालेले नै जितेकोले जित्ने सम्भावना रहन्छ । अर्जुनचौपारी अध्यक्ष यसअघि कांग्रेसले जितेको हो । अहिले एमालेबाट महिला उम्मेदवार छिन् । धवलागिरी गाउँपालिकामा पुन दोस्रो पटक उम्मेदवार बनेकी हुन् । मोदी गाउँपालिका एमालेको पकड भएको पालिका हो ।

थासाङ गाउँपालिका यसअघि पनि कांग्रेस विजयी भएकोले सोही नतिजा दोहोरिए महिला अध्यक्ष हुनेछन् । मनाङ ङिस्याङमा कांग्रेस कमजोर छ । कालिगण्डकी र घिरिङ गाउँपालिका यसअघि एमालेले जितेको हो । म्याग्दे र हुप्सेकोटमा यसअघि पनि कांग्रेसले नै जितेकोमा सोही उम्मेदवार दोहोरिएका छन् । रुपा गाउँपालिका बढी नै प्रतिस्पर्धा हुने ठाउँ हो । दलहरुले महिलालाई टिकट नै नदिने र दिए पनि कमजोर ठाउँमा उठाउने गरेका कारण नेतृत्वमा महिला पुग्ने अवसरबाट वञ्चित छन् ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width