म्याग्दीमा ७५९ उम्मेदवारी दर्ता

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७९
myagdima candidate finals

म्याग्दी । स्थानीय तह निर्वाचन अन्तर्गत म्याग्दीमा २ सय ३७ पदका लागि ७ सय ५९ जनाले मनोनयन दर्ता गराएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडाबाट निर्वाचित हुने पदका लागि आइतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बेनी नगरपालिकाको ५२ पदमा १ सय ७९, धवलागिरिको ३७ पदमा ८९, मालिकाको ३७ पदमा १ सय ४७, मंगलाको २७ पदमा १ सय ५, रघुगंगाको ४२ पदमा १ सय ४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ ।

जिल्लाभर धवलागिरि १ गुर्जाको वडा सदस्यमा एकल उम्मेदवारी परेकाले नेकपा माओवादी केन्द्रका सीताकुमारी छन्त्याल निर्विरोध भएको निर्वाचन अधिकृतले जनाएको छ ।

एक मात्र नगरपालिका रहेको म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा ८ जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेनीको प्रमुख र उपप्रमुखमा क्रमश नेकपा एमालेबाट सुरत केसी र पशुपति शाही, नेपाली कांग्रेसबाट चिरञ्जीवी शर्मा र अमृतादेवी बानियाँ, माओवादी केन्द्रबाट धनलाल जैसी र ज्योति लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा समाजवादीबाट कृष्णकुमार विश्वकर्मा र मुनाकुमारी बानियाँ, राप्रपाबाट मिनाकुमारी शर्मा सापकोटा र एकेन्द्रबहादुर रावल, राष्ट्रिय जनमोर्चाबाट टीकाप्रसाद रानामगर र भोमकुमारी कार्की, मंगोल नेसनल अर्गनाइजेसनबाट नरबहादुर थापामगर र बिबा आले, स्वतन्त्र उम्मेदवार धनबहादुर श्रीषले उम्मेदवारी दर्ता गराएका छन् ।

धवलागिरि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेबाट थमसरा पुन र प्रगति कार्की, कांग्रेस–माओवादीबाट प्रेमप्रसाद पुन र रेशम पुनमगर, एकीकृत समाजवादीबाट बमबहादुर पाइजा, मंगोल नेसनल अर्गनाइजेसनबाट शंकरबहादुर पुन र खममाया रोका तथा राप्रपाबाट होमबहादुर थापा उम्मेदवार छन् ।

मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेबाट बेगप्रसाद गर्बुजा र लक्ष्मी पुन, कांग्रेसबाट श्रीप्रसाद रोकामगर र पिपला बुढा, माओवादी केन्द्रबाट रेशम जुग्जाली र गौरी सेन्च्युरी, मंगोल नेसनल अर्गनाइजेसनबाट खमबहादुर रोका र धनदेवी घर्ती रहेका छन् ।

मंगला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेका शतप्रसाद रोका र प्रेमकुमारी क्षेत्री, कांग्रेसबाट वीरेन्द्र बुढाथोकी र शर्मिला थापा, माओवादीबाट टेकबहादुर विक र सुकमाया रोका, राप्रपाबाट योगेन्द्रमान शेरचन र विन्दु मल्ल, समाजवादीबाट रुद्रबहादुर किसान र कल्पना सापकोटा तथा स्वतन्त्रतर्फ टंकप्रसाद बुढाथोकी छन् ।

रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेका प्रेमबहादुर कार्की र यामकुमारी गर्बुजा, कांग्रेसका भवबहादुर भण्डारी र प्रेमकुमारी पुन, माओवादीका मीना विक र रिमबहादुर कटुवाल, मंगोल अर्गनाइजेसनका तुलप्रसाद थापा, स्वतन्त्रबाट सागर भण्डारी र अनुरोध रिजालको उम्मेदवारी दर्ता भएको छ ।

अन्नपूर्ण गाउँपालिकामा एमालेबाट भरतकुमार पुन र दिवाकुमारी तिलिजा पुन, कांग्रेसका बलबहादुर तिलिजा र ललिता तिलिजा, राप्रपाबाट तीर्थबहादुर खड्का, मंगोल नेसनलबाट रामबहादुर गर्बुजा र एलिना पुर्जा शेरपुर्जाले क्रमश अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width