‘लागुऔषध सेवनकर्ताको मानवअधिकार हनन्’

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७९
lagu

पोखरा । लागुऔषध प्रयोगकर्तालाई दण्डको रुपमा काराबास सजायको विकल्पमा सुधारगृहमा राख्नुपर्ने माग गरिएको छ । साथै उनीहरुको मानवअधिकारको हनन भएको भन्दै त्यसको विकल्पमा नेपाल ड्रग ऐन, २०३५ संशोधन हुनुपर्नेमा जोड दिइएको छ ।

रिकभरिङ नेपालले ऐन संशोधनका लागि मंगलबार पोखरामा आयोजना गरेको मिडिया क्याप्पेनमा वक्ताले सो कुरामा जोड दिएका हुन् ।

लागुऔषध प्रयोगकर्तालाई प्रहरीले अप्ठ्यारोमा पार्ने, गालीगलौच गर्ने, कुटपिट गर्ने गरेको उनीहरुले बताउँदै नेपालको फौजदारी न्याय प्रणाली नै फेर्नुपर्ने बताए । मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ मा लागुऔषध कारोबारमा संलग्नलाई सिधैं फौजदारी मुद्दा चलाउने कानुनी प्रावधान छ । यसो गर्दा लागुऔषध प्रयोगकर्ताको मानवअधिकारको हनन हुने, उनीहरुलाई लामो समय काराबासको सजायले जीवन सुधारको सट्टा विकृति मानसिकता हुन सक्ने रिकभरिङ नेपालका कार्यक्रम संयोजक देवेन्द्रकुमार गुरुङले बताए । विश्वव्यापीरुपमा लागुऔषध सेवनकर्तालाई ‘प्रोबेसन’ लगायत सुविधा दिइने गरेको र सुधारगृहमा राखेर उनीहरुलाई सामान्य जीवनमा फर्काइने अभ्यास छ ।

कम्युनिटी सपोर्ट ग्रुपका कार्यक्रम अधिकृत सन्तोष गुरुङले किशोरावस्थामा हुँदा नयाँ कुरा चाख्ने, देखासिकी गर्न मन लाग्ने हुँदा उनीहरु सहजै लागुऔषध दुव्र्यसनमा फस्न सक्ने भएकोले आवश्यक सल्लाहसुझाव अपरिहार्य हुने बताए ।

राष्ट्रिय एचआइभी एड्स महासंघका केन्द्रीय सदस्य मनोज गुरुङले संक्रमित भए पनि समयमै सही परामर्श दिन सके उनीहरुलाई राष्ट्रको लागि एक सच्चा नागरिक बनाउन सकिने अनुभव सुनाए । एचआइभी एड्स संक्रमितलाई समयमै उचित परामर्श आवश्यक रहेकोमा उनले जोड दिए ।

नेपाल ड्रग ऐन, २०३५ संशोधन हुनुपर्नेमा वक्ताको जोड

गोरेटो नेपालका अध्यक्ष विमला गुरुङले हाल रक्सी र गाँजा सेवन गर्ने महिलाहरुको संख्या बढेको जानकारी दिइन् । कतिपय युवतीहरु विभिन्न कारण लागुऔषध सेवनकर्ता हुँदै यौन व्यवसायमा फस्न गरेको हुँदा राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिइन् ।

रिकभरिङ नेपालका गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष विकास बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा कम्युनिटी सपोर्ट ग्रुपका कार्यक्रम अधिकृत सन्तोष गुरुङले लागुऔषध सेवनकर्ता, एचआइभी एड्स संक्रमित, महिला यौन व्यवसायी, प्रचलित कानुनी व्यवस्था लगायतमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नौलो बिहानीका रजनी खड्काले रोजगारी नपाएका कारण यौनकर्मी संख्या बढ्दै गएको बताइन् । हिंसाका कारण समेत यौनकर्मीको संख्या बढेकाले जबसम्म समाजलाई हिंसामुक्त र स्वस्थ समाज निर्माण हुँदैन, तबसम्म यौनकर्मीको संख्या नघट्ने दाबी गरिन् ।

रिकभरिङ नेपालका कार्यक्रम संयोजक देवेन्द्र गुरुङले नेपालमा प्रत्येक वर्ष ११.३६ प्रतिशतका दरले लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको बताए । २०६३ सालमा ४६ हजार, ६९ सालमा ९१ हजार र २०७६ सालमा लागु औषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार पुगेको उनको भनाइ थियो । जसमा गाँजाजन्य लागुऔषध प्रयोग गर्नेको संख्या ८४ प्रतिशत छ । हाल कास्कीमा ७ हजारदेखि ८ हजार जना लागुऔषध सेवनकर्ता रहेको अनुमान छ ।

नेपालमा लामो समयसम्म मुलुकी ऐन, २०२० व्यवस्था थियो । गएको ३ वर्षदेखि नेपालमा मुलुकी फौजदारी संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ प्रचलित छ । तर, २०३५ मा प्रारम्भ भएको नेपाल ड्रग ऐन चार दशक बित्दासमेत संशोधन हुन सकेको छैन । समयसँगै प्रविधिको व्यापक परिवर्तन भए पनि कानुनी विषय संशोधन हुनुपर्ने यस क्षेत्रमा कार्यरत् विभिन्न संघसंस्थाले लामो समयदेखि माग उठाउँदै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width