जो निर्विरोध भए

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७९
Local-level (1)

पोखरा । मनाङको एक वडामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार वडाध्यक्षसहित सदस्य सबै जना निर्विरोध भएका छन् । नेस्याङ गाउँपालिका–९ का वडा त्यस्तो नतिजा आएको हो ।

नेस्याङ गाउँपालिका–९ को वडाध्यक्षमा चोल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाका ३ जना एमाले, काँग्रेस समर्थित समेत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए । उनका अनुसार वडामा सबै पार्टीका नेताहरूले सल्लाह गरेर वडा अध्यक्ष माओवादीलाई दिएका हुन् ।

मुस्ताङको ५ स्थानीय तहमध्ये २ स्थानीय तहमा कुल ६ वटामा निर्विरोध भएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्डमा ३ वटा वडा र घरपझोङ गाउपालिकामा ३ वटामा एकल उम्मेदवारी परेपछि त्यहाँ पनि उम्मेदवार निर्विरोध भएका छन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा १ , ३ र ४ मा उम्मेदवारी दिने उम्मेदवार निर्विरोध भएको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले जानकारी दिए । एमाले जिल्ला इञ्चार्ज चन्द्रमोहन गौचनका अनुसार लोघेकर दामोदरकुण्ड १ को वडाध्यक्षमा टसी ढिन्डु ठुकुरीसहित पुरै सेट एमाले निर्विरोध भएको हो । वडा २ मा एमालेका वडाध्यक्ष उम्मेदवार झ्याब्याङ तेञ्जिङ गुरुङसहित २ वडासदस्य र कांग्रेसबाट एक वडासदस्य निर्विरोध भएको एमाले जिल्ला इञ्चार्ज गौचनले बताए । यस्तै, वडा—३ मा एमालेबाट वडाध्यक्ष झ्याब्याङ छोसाङ गुरुङसहित २ वडासदस्य एमाले र एक वडासदस्य कांग्रेसको निर्विरोध भए । लोघेकर वडा २ र ५ मा कांग्रेस र एमालेबीच सबै पदमा उम्मेदवारी भएको छ भने ४ वटा वडामा दलित सदस्य कोटा खाली छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका वडा १ र २ मा नेपाली कागे्रेसका वडाध्यक्ष उम्मेदवार निर्विरोध भएका छन् भने वडा–५ मा एमालेका वडाध्यक्ष निर्विरोध भएका छन् । घरपझोङको १, २ र ५ मा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र राप्रपाबीच आन्तरिक तालमेल भएको हो ।

डोल्पाका २ गाउँपालिकाको अध्यक्षमा १ जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका हुन् ।

काइके गाउँपालिकाका अरु जनप्रतिनिधिमा पनि एकीकृत समाजवादीको मात्र मनोनयन दर्ता भएको छ ।

छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भयो । काइके गाउँपालिका अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता भएपछि उनीहरु निर्विरोध भएका छन् । उता, डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्षमा पेमा वाङ्जु गुरूङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भइन् ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा अध्यक्षसहित सबै सदस्य निर्विरोध भएका छन् ।

वडाध्यक्ष छेदेन लामा शेर्पा, महिला सदस्यमा फुपु लमु श्रेष्ठ, दलित महिला सदस्यमा विपना तुम्हामफे विक र खुला सदस्यमा टासी शेर्पा र बाङ्या शेर्मा निर्वाचित भएका छन् । निर्विरोध सबै जनाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width