गणतन्त्रमा धेरै भ्रष्टाचारी देखिए: रञ्जना सेन पौडेल

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७९
Ranjana Sen

रञ्जना सेन पौडेल (रञ्जु) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सक्रिय र लोकप्रिय महिला नेतृको रुपमा परिचित छन् । स्याङ्जा पुतलीबजार नगरपालिका– ८ बाहकोट घर भएकी उनी २०४६ सालबाट राजनीतिमा प्रवेश गरेकी हुन् । राप्रपामा उनी २०६२/०६३ सालदेखि सक्रिय थिइन् । सुरुमा साधारण सदस्यबाट राप्रपामा सक्रिय हुन थालेकी उनले कास्की जिल्ला कमिटीको पूर्व कोषाध्यक्ष भएर पनि काम गरिन् । हाल उनी राप्रपाको गण्डकी प्रदेश कमिटी सदस्य र महाधिवेशन प्रतिनिधि पनि हुन् । राप्रपाले उनलाई आसन्न स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको उपप्रमुखको उम्मेदवारको रुपमा घोषणा गरेको छ । निर्वाचनलाई नै लक्षित गरी रञ्जनासँग आदर्श प्रतिनिधिले गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

महानगरको उपप्रमुख बन्ने आकांक्षा देखाउनुभएको छ, तपाईंको उम्मेदवारी के को लागि ?

राप्रपाको नेतृत्व पंक्तिबाट नै भ्रष्टाचारमुक्त नेपाल बनाउने र त्यसमा पनि राजसंस्थासहितको हिन्दू राज्य स्थापित गर्नुपर्छ भन्ने अठोट रहेको छ । यो देशले नेताका कारण निकै उथलुपथल भोग्नुपर्‍यो । यस हिसाबले हेर्दा देश नै नरहे हामी कहाँ रहन्छौं भन्ने अहं प्रश्न पनि उब्जेको छ । मुख्य कुरा त हामी यो गर्छौं, त्यो गर्छौं भनेर भन्नुभन्दा पनि आफ्नो देशलाई पहिला जोगाऊँ अनि शासन गरौं भन्ने मेरो मान्यता हो । यसअघि कति दलले शासन गर्नुभयो, नेपाली काँग्रेसले ग¥यो, अरु दलले गरे । हामीले पनि धेरै बोल्नुभन्दा केही गरेर देखाउनु छ यहाँ । त्यसमा पनि म एउटा महिला भएको कारण के भन्न चाहन्छु भने धेरै महिलाहरु पीडित हुनुहुन्छ, कतिजना हत्या, हिंसा र बलात्कारमा पर्नुभएको छ । तर यस्ता कतिपय घटनालाई समाजमा त्यत्तिकै भित्र दबाएर राखिएको छ । जुन दोषी हो, हत्यारा हो उसलाई पक्राउ र प्रश्न नगरेर पहुँचको आधारमा न्याय दिने काम भएको छ । यस्तो कार्यविरुद्ध हामी लड्न जरुरी छ । र, अहिले हाम्रो अर्थतन्त्र पनि डामाडोल भएको अवस्था छ । उस्तै परे देश श्रीलंका जस्तो पो हुने हो कि भन्ने पनि छ । अहिले युक्रेनमा पनि युद्ध भइरहेको छ, धेरै संरचना ध्वस्त भएका छन् । यहाँ नेपालमा पनि एमसिसी अनुमोदन गरिएको छ । भोलि अब यो परियोजनाको नाममा अमेरिकाले हामीलाई मोहोरा बनाएर चीनलाई आक्रमण गर्ने पो हो कि? यस्तो भयो भने चीनले हामीलाई बाँकी राख्दैन । नेपाल एउटा सानो राज्य हो भन्ने हामीले बुझ्नुपर्छ । यस्तै अवस्थाबाट सिर्जित अव्यवस्था र अप्ठेरो अवस्थाबाट माथि उठाउने मेरो प्रयास रहने छ ।

महानगरमा विकास र सेवा प्रवाहका कस्ता योजनाहरु बनाउनु भएको छ ?

यति सुन्दर देशमा हामी लुछाचुँडी गर्नुभन्दा तलदेखि नै राम्रो व्यवस्था स्थापना गरौं भन्ने मेरो आह्वान र अठोट पनि छ । जनताले अवसर दिएमा मैले के कति गर्न सक्छु, त्यो भोलिको दिनले देखाउला । म यदि उपप्रमुख भएँ भनेँ विकास र सेवाको गतिलाई तीव्रता दिने छु । पोखरालाई समुन्नत बनाउने मेरो एउटा भिजन छ । यस्तो बेला के समीक्षा हुन जरुरी छ भने हालसम्मका प्रमुख र उपप्रमुखले के गर्नुभयो ? त्यो केलाउन जरुरी छ । र, यदि राम्रा काम हुन् भने उहाँहरुले गरिराख्नुभएका कामलाई पनि निरन्तरता दिनु राम्रो हुन्छ । किनभने काम पुनः सुरुआत गर्नुभन्दा राम्रा कामलाई निरन्तरता दिनु राम्रो हो । नयाँ थुप्रै अरु काम पनि गर्न सकिन्छ । यसैगरी धार्मिक धाम र गन्तव्यहरुको संरक्षण गर्न जरुरी छ । महिलाहरुको हकहित तथा थुप्रै रोजगारीका अवसर पनि हामीले सिर्जना गर्नु छ । मलाई अहिले तपाईंहरुको साथ सपोर्ट चाहिएको छ । हजुरहरुबाट ज्ञान लिनुछ । सबै कुरा जानेर त कोही पनि आएको हुँदैन । हजुरहरुले बाटो देखाउँदै जाने हो । नराम्रो गरेको अवस्थामा खबरदारी पनि गर्नुपर्छ । सबैकुरा प्रमुख र उपप्रमुखले मात्र गर्नुपर्छ भन्ने पनि छैन । बाहिरबाट पनि सल्लाह, सुझाव र आइडिया आएको राम्रो हो । अनि मात्र काम गर्न सजिलो हुन्छ । मुख्य कुरा पोखरालाई हराभरा, सुन्दर, स्वच्छ अनि सफा बनाउने हाम्रो प्रतिबद्धता छ ।

घोषणापत्रमा नै हामीले वृद्धवृद्धाहरुलाई घरघर चिकित्सक पठाएर सेवा दिने कुरा गरेका छौं । त्यस्तै १२ कक्षासम्म निशुल्क शिक्षाको व्यवस्था गरिने छ । घोषणापत्रमा आधारित भएर नै हामीले काम गर्दै जाने हो । सकभर हाम्रो देशमा नै उत्पादन बढाउने मेरो नीति हो । पहिला नेपालमा नै कपडा उद्योग थियो । हामी सबैले नदेखे पनि उद्योग त थिए नि । ती बन्द हुनु बिडम्बनाको कुरा हो । हामी प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छौं । जलस्रोतको धनी भन्छौं, बिजुली हामीले १० रुपैयाँमा किनेर ३ रुपैयाँमा बेचेका छौं । यस्तो कुरालाई व्यवस्थित गरेर हामी अगाडि बढ्ने छौं ।

चुनावी खर्च कसरी जुटाउँदै हुनुहुन्छ ?

यति बेलाको मत भनेको स्वच्छ मत लिने हो भन्ने मेरो मान्यता छ । हामी कसैलाई पैसा बाँड्दैनौं । हो, पर्चा र पम्प्लेट जस्ता प्रचार सामग्री छाप्न केही पैसा चाहिएला । खासमा हामीले स्वच्छ भोट कलेक्सन गर्ने हो । अहिले अनावश्यक पैसा खर्च गरे चुनाव जितेपछि उठाउँछु भन्ने भावना आउन सक्छ । यो राम्रो होइन । नत्र त कि मेरो जब हुनुपर्‍यो, कि आयस्रोत हुन पर्‍यो । त्यसैले पैसा खर्च गर्नेमा हामी छँदै छैनौं । हामी देश जोगाउन र धर्म बचाउन हिँडेका छौं । जनतामा विश्वास छ । न्युट्रल भोट हामीलाई आउने छ । हामीलाई सम्पूर्ण हिन्दु र अरु जनताले साथ दिने छन् । यो हिन्दु धर्म भनेको यस्तो हो कि यसले कसैलाई भेदभाव गर्दैन । हिन्दुको छोरी भएर जन्मन पाउँदा र हिन्दु हुँदा गर्व पनि लाग्छ ।

राप्रपामा टुटफुट र उथलपुथलको लामो शृंखला छ, पुनः अहिले राप्रपा नेपाल जन्मिएको छ, के भन्नुहुन्छ ?

दलगत भन्दा पनि व्यक्तिगत कुरा गर्दा म हिजो राप्रपा नेपालबाट नै यहाँ आएको हो । हिजो कमल थापाको विचार, सिद्धान्त, संवैधानिक राजसंस्था, हिन्दु राज्यलाई अँगालेर कफन बाँधेर साथ दिएर उहाँलाई हामीले माथि पुर्‍याएको हो । जनताले पनि हामीलाई मत दिएको हो । जनतालाई दोष दिन मिल्दैन । तर हामीबाट मतको दुरुपयोग भयो । पछि फेरि राप्रपामा एकता भयो र पुन चुनावी संघारमा आएर फुट देखियो । त्यहाँ पनि धोका भयो । अहिले एकता महाधिवेशन भएपछि उहाँले हामीलाई छोडेर जानु उचित लाग्दैन । उहाँलाई जनताले पनि नपत्याएको अवस्थामा केही वर्ष न्युट्रल बसेर अरु कसैलाई अगाडि सारेको भए उहाँको पनि राजनीतिक करिअर राम्रो हुने थियो, इज्जत बढ्ने थियो । हतोत्साही भएर राजसंस्थालाई दोष दिएर बाहिर जानु मलाई ठीक लागेन । राप्रपाले जुन संवैधिानिक राजसंस्था र हिन्दु धर्मको एजेन्डा बोकेको छ, त्यसमा म अडिग छु ।

तपाईंहरु गणतन्त्र खारेजीको कुरा गर्नुहुन्छ, गणतन्त्रले देशमा के बिगार गर्‍यो ?

गणतान्त्रिक व्यवस्थामा धेरै भ्रष्टाचारी देखिए । हिजो हामीले एउटा राजा देख्यौं तर अहिले त हजारौं भए । पहिला कति थोरै विदेशी ऋण थियो देशको तर अहिले जन्मनेबित्तिकै बच्चाको थाप्लोमा ऋणको भार छ । यसले गर्दा हाम्रो नेपालले संघीयता धान्न सक्दैन । हामीले कसैलाई पाल्न सक्दैनौं । म सानो हुँदा मेरो बुबाहरु पनि वडा अध्यक्ष हुनुहुन्थ्यो । के उहाँहरुले स्यालरी खानुहुन्थ्यो? तर पनि राम्रो गर्नुृभयो उहाँहरुले । तर अहिले त सबैलाई सुविधा चाहिएको छ । नेतालाई मान्नुपर्ने अनि सुविधा दिनुपर्ने । नेताहरु बढी सुविधाभोगी भए । यो राम्रो होइन, काम गरेर देखाऊँ भन्नेमा हामी छौं । परिवर्तन त चाहिन्छ नै तर हामी आवश्यकभन्दा बढी माथि गयौं । त्यसकारण पहिलाको जस्तो ५ विकास क्षेत्र नै ठीक छ । पहिला विकास नभएको हो र? गणतन्त्र आएर के विकास भयो त? भ्यु टावरहरु? टावरको सट्टा अस्पताल बनाउन पाए जनताले सुविधा पाउने थियो नि । गणतन्त्रमा प्लेनमा गएर प्रचार गर्नुहुन्छ । हुम्ला जुम्लाको सुत्केरीलाई त्यो प्लेनमा ल्याउन पाए आमा बच्चा सुरक्षित हुने थिए । यो कुरा अहिलेका नेतालाई खै ख्याल भएको? यस्तो विकृतिको अन्त्य हुनुपर्छ । त्यसैले म जनतालाई के आह्वान गर्न चाहन्छु भने पहिला सबैलाई हेर्नुभयो । पहिलाको जुन पञ्च भन्ने सोच छ नि त्यो भन्दा धेरैमाथि उठिसक्यौं हामी । हामीले काम गर्ने जनताको लागि हो । पञ्च नसोच्नु होला । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा लिएर देश जोगाउनुपर्ने अवस्था आएको छ । त्यही भएर म चुनाव उठेको हो । सबै जनाले एकचोटि जसरी भए पनि हलो चिन्हमा भोट गर्न सबै शुभचिन्तकहरुलाई आह्वान गर्दछु ।

Related News

सम्बन्धित समाचार

hero news full width