नियात्रा : पूर्वाञ्चल यात्रा

कृष्णप्रसाद बास्तोला
वैशाख १२, २०७९
Kanyam

कोरोना महामारीका कारण टाढा जाने कुरा दुई वर्ष ठप्पै भयो । २०७६ फागुन ११ देखि सरकारले लकडाउन गरिदिए पछि अधिकांश मानिस घरभित्रै थुनिन बाध्य हुनुप¥यो । जरुरी कामबाहेक घरबाहिर ननिस्कने आदेश सँगै सबै ‘पिँजडाको सुगा’ बनेका थिए । बिहान बेलुका खाद्यान्न सामग्री किन्नबाहेक घर बाहिर निस्कने कुरा थिएन । पत्रकारका नाताले मुखमा मास्क लगाएर मोटरसाइकल लिएर यताउति दौडन त पाइन्थ्यो । तर, जाने कहाँ ? जताततै बन्दै थियो । सभा, सम्मेलन माथि पनि प्रतिबन्ध । कसैकहाँ भेट्न जाऔं भने पनि महामारीका बेला यो मान्छे किन आयो भन्छन् कि भन्ने पीर । अत्यार मेट्न फोनमा कुरा गर्नुबाहेक भेटको अरू विकल्प भएन ।

डेढ वर्षपछि महामारी अलि घटेजस्तो के भएथ्यो फेरि तेस्रो भेरियन्टको हल्ला आयो । बुस्टर खोप लगाएपछि हिँड्न पाइन्छ भन्ने भयो । अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले पहिलो प्राथमिकता पाउने हुँदा मैले पनि पत्रकारको नाताले लगाई हाले । केही दिनपछि श्रीमतीले पनि लगाए पछि हामीले पूर्वतर्फ घुम्न जाने योजना बनायौं ।

लकडाउन हटे पनि स्मार्ट लकडाउन थियो । मास्क, सेनिटाइजर लगाएर हिँड्न पाइने भयो । सार्वजनिक यातायात र सभा सम्मेलन खुले । २५ जनाभन्दा बढी भेला नहुने भनिए पनि त्यसको पालना हुन छाड्यो । हाम्रो यात्राको माहोल बन्न लागे जस्तो भयो । जोखिम भने छँदै थियो । अनि मनमा डर पनि । कोरोना महामारीमा आफैंले चिनेजानेका धेरैलाई गुमाउनु परेको थियो । तरपनि दुई वर्ष थुनिएर बस्नु पर्दाको अत्यार मेट्न मैले यात्रामा जाने जोड गरे । कोरोना छ्यांग नभै अझै हिँड्न हुँदैन भनेर श्रीमती आनेकाने गर्दै थिइन् ।

संयोगवश, काठमाडौंमा फागुन २० र २१ गते नेपाल मुद्रण उद्योग महासंघको महाधिवेशनमा जाने निम्तो आयो । म गण्डकी प्रदेश समितिको सल्लाहकार, साथीहरूबाट जाउँ कि जाऊँ भनेर फोन आउन थाल्यो । के खोज्छस् आँखा भने झै हिँड्ने मौका मिल्यो । २० गते बिहान जहाजबाट काठमाडौं पुग्यौं । विमानस्थलमा छोरी ज्वाइँ गाडी लिएर आउनु भएको थियो । त्यसैमा चढेर हामी कार्यक्रम स्थल महाराजगञ्ज पुग्यौं । नास्ता गरेपछि म हल भित्र छिरेँ । आमा, छोरी र ज्वाइँ भएर धापाखेल निवासतर्फ लाग्नुभयो ।

महाधिवेशनको उद्घाटन पछि बन्द सत्र सुरु भयो । बन्द सत्र सकिए पछि निर्वाचन कार्यक्रमसहित पार्टी प्यालेसका भित्तामा मतदाता नामावली टाँसिएको थियो । उमेदवारी दिने कार्यक्रम भोलिपल्ट बिहान ८ बजे सम्म लम्बिएकोले खाना खाएर ठमेल तर्फ लाग्यौं । आयोजकले हामीलाई ठमेलका होटलमा बस्ने व्यवस्था गरिदिएका रहेछन् । विदेशी पाहुनाले खचाखच हुने ठमेल यसपालि कोरोनाका कारण सुनसान बनेको रहेछ । त्यसैले पनि हामीलाई ठमेलमा बस्ने अवसर मिलेको थियो ।

भोलिपल्ट बिहान फेरि हामी महाधिवेशन स्थल पुग्यौं । चुनावी कार्यक्रम लम्बिँदै थियो । नास्ता पछि म बाहिर घुम्न निस्कने निधो गरे । धेरै वर्ष अघि देखि भक्तपुरको चाँगुनारायण मन्दिर जाने इच्छा थियो । तर जान अनुकूल मिलेको थिएन । धापाखेलमा फोन गरेर श्रीमती र छोरी ज्वाइँसँग सबै जाऊँ भनेँ । उहाँ व्यस्त हुनुहुँदो रहेछ । एक्लै भए पनि जाने निधो गरी साथीहरूसँग अनुमति लिएर दुई घन्टामै फर्कन्छु भनेर हिँडे । भक्तपुर जाने सार्वजनिक बस चढेँ । भक्तपुर सल्लाघारी तिनकुनेबाट बस फेरेर चाँगुनारायणको डाँडामा पुगियो । बस मन्दिरसम्म नजाने रहेछ । सल्लाघारी बीचको ठाडो सिँढीबाटोमा स्वाँ स्वाँ गर्दै १५ मिनेट हिँडेपछि मन्दिर पुगियो । महाराजगञ्जबाट बस चढेर चाँगु पुग्न अढाइ घन्टा लागेको थियो ।

उत्तरतर्फको डाँडामाथि चाँगु नारायणको भव्य मन्दिर देख्दा भक्तपुर कति समृद्ध रहेछ भन्ने लाग्यो । २०७२ सालको महाभूकम्पले भत्किएको वरिपरिको सत्तल पुनर्निर्माण हुँदै रहेछ । मल्लकालीन समयमा बनेको उक्त मन्दिरको पुरातात्विक महत्वबारे जानकारी लिन बाँकी नै थियो । काठमाडौंबाट साथीहरूले तपाईं यहाँ तुरुन्त आउनु पर्‍यो भनेर फोन गर्न थालेपछि २/४ वटा फोटो खिचेर म फर्की हालेँ ।

महाराजगञ्ज कार्यक्रम स्थलमा पुग्दा थाहा भो साथीहरूले मलाई केन्द्रीय सदस्यमा उठाउन उम्मेदवारी पत्र भरेका रहेछन् । मैले सुरुमा त हुन्न भने तर पछि उहाँहरूको आग्रह नकार्न सकिनँ । सोच्दै नसोचेको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएँ । जय चाँगुनारायण ! तिम्रो क्षणभरको दर्शनले पनि यत्रो अवसर मिल्यो । मसँगै गण्डकी प्रदेशका चारैैजना उमेदवार नेपाल मुद्रण संघको केन्द्रीय समितिमा निर्वाचित भएका थियौं ।

देख्नु भो यो खाली देखिएको नेपाल र जंगल भएको भारत हो । नेपालतर्फ नांगो डाँडो देखेर मन खिन्न भयो

नव निर्वाचित पदाधिकारीहरूको अबिर जात्रा र पदस्थापन सकिएपछि राति ११ बजे ठमेल पुग्यौं । भोलिपल्ट बिहान सबेरै उठेर साथीहरू पोखरातर्फ प्रस्थान गरे । म धापाखेल लागेँ । फागुन २२ गते नातिनी आर्याश्रीको जन्मदिन थियो । पारिवारिक भोजमा सहभागी भएर भोलिपल्ट फागुन २३ गने श्रीमान् श्रीमती दुवै जहाजबाट विराटनगर पुग्यौं ।

स्वतन्त्र पत्रकार संघ नेपालको संस्थापक अध्यक्ष भएको हैसियतले अघिल्लो दिनमै मैले विराटनगर आउँदै छु भनेर स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार तथा मोरङका वरिष्ठ पत्रकार मोहन भण्डारीलाई फोन गरेको थिएँ । उहाँले एयरपोर्ट नजिकै बरगाछी अगाडि नै मेरो घर छ, मेरैमा खाना खाने भन्दै निम्तो गर्नुभएको थियो । जहाजबाट ओर्लेपछि इ रिक्सा चढेर हामी उहाँले भनेको चोकमा ओर्लियौं । उहाँ पर्खिएरै बस्नु भएको रहेछ । भेट भएपछि भलाकुसारी गर्दै घर पुगेर भाउजूले बनाउनु भएको मीठो खाना खाई उद्घोष दैनिकको कार्यालय पुग्यौं । त्यहाँ स्वतन्त्र पत्रकार संघ मोरङ शाखाका अध्यक्ष विजय खतिवडा, केन्द्रीय सल्लाहकार महानन्द सापकोटालगायतका साथीहरूसँग भेट भयो । स्वतन्त्र पत्रकार संघका गतिविधिबारे पनि छलफल भयो र संस्थालाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने कुरामा साथीहरूको जोड थियो । त्यसपछि हामी इटहरी हुँदै झापातर्फ घुम्न जान भनेर म उठ्दै थिए । मोहनजीले विराटनगर नघुमी कहाँ जाने ? भन्दै साथीहरूसँग गाडी मगाउनु भयो । गाडी नआउन्जेलको समयमा यहाँ वरपर पनि हेर्नुपर्ने महत्वपूर्ण कुरा छन् भन्दै मोहन जीले धन्दै आधा घन्टा पैदलै डुलाउनु भयो, त्यस बीचमा हामीले कोशी अस्पताल एवं नेपालको राजनीतिका अग्रज कोइरालाहरूको आवास क्षेत्र घुम्यौं । बिपीको जन्मघर पनि हेर्‍यौं । डा. शेखर कोइराला घरमै हुनुहुन्छ भन्ने सुनेर भेट्न पनि खोजेका थियौं । तर उहाँ राति घरमा अबेला आउनु भएको र सुत्नु भएको छ भन्ने सुनेर डिस्ट्रव नगरौं भनेर फर्कियौं । मोहनजीले तपाईं आदर्श समाज पत्रिकाको मान्छे नेपालमा सबैभन्दा पहिले आदर्श नाम राखिएको संस्था हेर्नुस् भन्दै मोरङ आदर्श क्याम्पस देखाउनुभयो ।

त्यसपछि हामी महानन्दजीको गाडीमा चढेर विराटनगरको दक्षिणतर्फ भारतीय सीमा नजिक रहेको मोरङको साविक बुधनगर गाविस–५ हाल विराटनगर महानगरपालिकाको वडा नं. १८ भेडियारी पुग्यौं । त्यहाँ विराट राजाको प्राचीन दरबारको उत्खनन कार्य भइरहेको रहेछ । पुरातात्विक महत्वका सामग्रीहरू भेटिएको र अनुसन्धान भइरहेको जानकारी मिल्यो । विराट राजाकै राज्य भएको आधारमा पनि त्यस क्षेत्रलाई विराटनगर नामाकरण गरिएको रहेछ ।

भेडियारी पछि हामी सीमा नजिकै नेपालभित्रै बनेको रेलवे स्टेशन पुग्यौं । भारतको पटनासँग जोडिने उत्तम रेलमार्ग सञ्चालनको तयारीमा रहेछ । त्यहाँ सुख्खा बन्दरगाह र नयाँ भन्सार कार्यालय पनि देख्यौं ।

त्यसपछि हामी रानी स्थित सन् १९३६ मा निर्माण भएको विराटनगर जुट मिल हेर्न गयौं । दक्षिण एसियाकै सबैभन्दा ठूलो मिलको रूपमा सञ्चालित उक्त जुटमिल अहिले खण्डहर बनेको देख्दा मन खिन्न हुन्छ । रानी औद्योगिक क्षेत्रमा निर्माण भएका धेरै उद्योगहरूसहित डा. बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा चढ्नु भएको ‘मुस्ताङ’ गाडी उत्पादन गर्ने कारखानासमेत बन्द भएको सुन्दा धेरै दुख लाग्यो । यो देशमा नयाँ उद्योग त खुलेनन् । पुरानो उद्योगहरूसमेत बन्द भएको देख्दा उराठ लागेर आउँछ । अब कुनै दिन यो देशमा उद्योग पनि थिए कि भनेर विराट राजाको दरबारलाई झै उत्खनन् गरेर खोज्नुपर्ने दिन आउँलान् कि भन्ने पनि पीर लाग्छ । यहाँभन्दा बढी के भनाँै ?

हामी पहिलो पल्ट २०४३ सालतिर विराटनगर आएका थियौं । तर त्यसबेला विराटनगरको मुख्य बजारबाहेक अरू घुम्ने अवसर मिलेन । ३५ वर्षपछि आउँदा त्यसबेला हामी बसेको महेन्द्रचोक नजिकैको वरदान होटल पनि बन्द भएछ । त्यसबेलाको ठूलो होटल, सिक्किमका मुख्य मन्त्री पनि त्यही बास बस्न आएको मलाई सम्झना छ । नेपाली चलचित्रका हिरो शिव श्रेष्ठको सिनेमा हल पनि नजिकै थियो । त्यो पनि बन्द भएछ ।

बिराटनगर भ्रमणपछि साथीहरूसँग बिदा लिएर हामी इटहरी लाग्यौं । दमक पुग्ने योजना थियो । तर बीचैमा पोखराबाट अडिटर शिवराज बरालले हामी पनि पूर्वतर्फ घुम्न गाडी लिएर आएका छौं, सँगै जाऔंला पर्खनोस् भनेका कारण इटहरीमै रोकियो । त्यसबीच इटहरीको पूर्वी हटलाइन दैनिक पत्रिकाको कार्यालयमा गएर स्वतन्त्र पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष शालिग्राम पाण्डेलाई भेट्यौं । उहाँले भोलि बिहान फागुन २४ गते संघको १० औं स्थापना दिवसको कार्यक्रम छ । तपाईं नै प्रमुख अतिथि हो भनेर निम्तो दिनुभयो । भोलि बिहानै आइपुग्छौ भनेर हामी धरान तर्फ लाग्यौं । इटहरीबाट करिब एक घन्टाको बसयात्रा गर्दै धरान पुगियो । स्वतन्त्र पत्रकार संघकी सदस्य मनिता चामलिङ राई जसलाई स्वतन्त्र पत्रकार महिला सम्मान पनि प्रदान गरिएको थियो । उहाँलाई फोन गरेँ उठेन । त्यसपछि पुराना पत्रकार मित्र आनन्द श्रेष्ठलाई सम्झिएँ । उहाँले नै घन्टाघर नजिकै होटलको बन्दोबस्त गरिदिनुभयो । त्यसपछि छाता चोकमा एउटा शाकाहारी भोजनालयमा बसेर सँगै सुख्खा रोटी र तरकारी खायौं । श्रेष्ठजीले हामीलाई नजिकैको गणतन्त्र एफ एम देखाउन लग्नुभयो । त्यहाँ हामीले सँगै बसेर फोटो पनि खिच्यौ । माओवादीले जनयुद्धका बेला डोकोमा बोकेर गाउँ गाउँ डुलाएको उक्त रेडियोलाई छाताचोकमा स्थापित गरिएको रहेछ ।

२०५६–२०५८ सालको कुरा म नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष थिएँ, आनन्दजी सुनसरी शाखाको अध्यक्ष । त्यसबेला कास्की शाखाले अन्तर शाखा सम्बन्ध बिस्तार अभियान चलाएको थियो । भ्रमणको निम्तो स्वीकार गरेर पहिलो पटक नै सुनसरी शाखाका ६ जना पत्रकारको टोली पोखरा भ्रमणमा आएको थियो । त्यसै बेलादेखि जोडिएको हाम्रो सम्बन्ध अहिले पनि ताजै छ ।

धरानबाट फागुन २४ गते बिहानै हामी इटहरी पुग्यौं । स्वतन्त्र पत्रकार संघ नेपालको १० औं स्थापना दिवसको अवसरमा सुनसरी शाखाले आयोजना गरेको प्रभात फेरि कार्यक्रममा सहभागी भएर इटहरी चोक परिक्रमा गरियो । त्यसको लगत्तै अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजित ‘सञ्चारमा महिला सहभागिता’ विषयमा अन्तरक्रिया भयो । फेरि अपरान्ह निःसहाय बालबालिका सेवा आश्रममा पुगेर राहत सामग्री वितरण गरियो । तीनवटै कार्यक्रममा प्रमुख आतिथ्यता गर्दै सुनसरीका समाजसेवी, सञ्चारकर्मी, शिक्षा सेवीहरू बीच बसेर भलाकुसारी गर्न पाउँदाको अवसरलाई मैले सौभाग्यको रूपमा लिएको छु ।

इटहरीको कार्यक्रम सकिएपछि स्वतन्त्रका केन्द्रीय कोषाध्यक्ष शालिग्राम पाण्डेजीको घरमा खाना खाएर उहाँसँगै लाहान पुग्यौं । वरिष्ठ उपाध्यक्ष केवी सम्राटलाई मातृशोक परेकोले उहाँको परिवारलाई भेट्न हामी लाहान पुगेका छौँ । गाईघाट तर्फ जाने बाटोेमा ६ किमीभित्र पसेपछि सम्राटका दाजु केशव पाण्डेको घर रहेछ । त्यही घरमा किरियामा रहनुभएका पाण्डे परिवारलाई भेटेर निस्कदा साँझ पर्न लागेको थियो । गाईघाट आधा घन्टामै पुगिन्छ भन्ने सुनेपछि हामी सार्वजनिक बसमा त्यतै लाग्यौं । हामी पहिलो पटक उदयपुरको सदरमुकाम गाईघाट पुगेका थियौं । शालिग्रामजीले गाडीमा आउँदा आउँदै गाईघाटका पत्रकार महेश्वर चामलिङलाई खबर गरिसक्नु भएको थियो । महेश्वरले आफ्नै घर नजिकको कञ्चनजंगा होटलमा बस्ने व्यवस्था गरी दिई सक्नुभएको रहेछ । होटलमा भेट भएपछि हामीले चिया मगायौं र गफ गर्न थाल्यौं । चामलिङले चिया खान मान्नुभएन । मेरो त बेलुका अर्कै चिया खाने बानी छ भन्नुभयो । भोलि पल्ट बिहानै म बजारमा निस्किएँ । चोकको चिया पसलमा स्थानीय पत्रकारहरू भेट हुनुभयो । खोटाङका पत्रकार पनि आउनु भएको रहेछ । त्यही स्थानीय पत्रिकाहरू हेर्ने मौका पनि मिल्यो । त्यस पछि हामी त्यहाँको त्रियुगा नगरपालिका भवन हेरेर लाहान फर्कियौं । त्रियुगाका नगर प्रमुख उपप्रमुख दुवै चौधरी भएको जानकारी मिल्यो ।

लाहानबाट राजविराज पुग्यौ । त्यहाँ राजविराज टुडे, कृष्णा आदि दैनिक पत्रिकाको कार्यालय अवलोकन गर्‍यौं । मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईलाई भेटेर पत्रकारिता क्षेत्रका समस्याबारे अवगत गरायौं । राजविराजको मुख्य चोक र नगरपालिका कार्यालयको अवलोकन पछि इटहरी फर्कियौं ।

साँझ इटहरीमा नेपाली सेनाको आयोजनामा सञ्चारकर्मीहरूका लागि सुरक्षा समाचारसम्बन्धी एकहप्ते तालिममा सहभागी पूर्वाञ्चलका पत्रकारहरूसँग सामूहिक भेट गर्ने अवसर मिल्यो । राजविराजका अग्रज पत्रकार वैद्यनाथ झासहित पत्रकारहरूको सामूहिक फोटो पनि खिचायौं । त्यो साँझ इटहरीमै बसेर भोलिपल्ट बिहान पूर्र्व लाग्यौं । इटहरीबाट दमक पुग्न डेढ घन्टा लाग्यो । दमकमा मेरी श्रीमती दुर्गादेवीका सानाबा पशुपति सुवेदीको घर छ । दमकका उद्यमी व्यवसायी एवं सामाजिक व्यक्तित्वको रूपमा परिचित सानाबाको निधन केही वर्ष अघि भइसकेको भए पनि उहाँका छोरा बुहारीहरूसँग पनि हाम्रो राम्रो परिचय भएको हुनाले बिहानै खबर गरेर हामी आउँदै छौं भनेका थियौं । जेठा छोरा कृष्णको घरमा पुग्यौं । खाना पकाएर कुरेरै बस्नु भएको रहेछ । भाइ बुहारीसँगै बसेर खाना खायौं । अनि घर परिसरमै उहाँहरूले सञ्चालन गर्नुभएको मन्टेसरी स्कुल पनि हेर्‍यौं । पोखराका समाजसेवी सुन्दरविजय कोइराला त्यही दमकमा छोरी ज्वाइँका घरमा आउनु भएको छ भन्ने सुनेर उहाँलाई भेट्न गयौ । कोरोना महामारीमा झण्डै दुई वर्ष देखि भेट नभएका कोइराला दाजुलाई नयाँ ठाउँमा आएर भेट्दा छुट्टै आनन्दको अनुभव भयो । दिउँसो ३ बजे सम्म नै हामी दमक बजारमा घुम्यौं । त्यहाँको चोकमा रहेको पृथ्वीको प्रतीकमाथि डाँफे चराको जोडीको मनमोहक दृश्यलाई आकाशे पुल माथि चढेरै हेर्‍यौं ।

४ बजेतिर पोखराका साथी शिवराज बराल आइपुग्नु भयो । उहाँकी धर्मपत्नी मेनका र छोरी सोनिकासहित हुनुहुन्थ्यो । हामी दुईसहित ५ जना दमकबाट बिदावादी भएर सोही गाडीमा पूर्वतर्फ हुइकियौं । जाँदै गर्दा मैले स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेश ढकाललाई फोन गरेको थिएँ । उहाँले बिर्तामोड बजारमा साथीहरूसहित हामीलाई पर्खेर बस्नु भएको रहेछ । हामी भुल्दैनौं, लागि हाल्छौ भन्दा उहाँले कफी नखाई हिँड्नै दिनुभएन । त्यस बीचमा हामीले इलामको फिक्कल गएर बस्ने र पशुपतिनगरमा गाडी राखेर त्यहींबाट दार्जिलिङ सिक्किम जाने योजना सुनाए पछि उहाँले बाटोबारे जानकारीका साथै पशुपतिनगरमा गाडी राख्ने व्यवस्था र आवश्यक सहयोगको लागि प्रहरीलाई पनि खबर गरिदिनु भयो । त्यसपछि त हामी ढुक्कै भयौं ।

गाडी बिर्तामोडबाट चारआली हुँदै इलामतर्फ उकालो लाग्दै गर्दा साँझ परिसकेको थियो । ठाडो उकालो, साँघुरो त्यसमाथि फनक्क घुमेको घुम्ती बाटो डर लाग्दै थियो । तलतर्फ हेर्दा, ठाडो भिर । जसोतसो फिक्कल पुगेर पाथिभरा होटलमा बास बसियो ।

बिहान सबेरै उठेर म उत्तरतर्फको चिया बगान हेर्न थालें । चिया खेतीका कृषक पनि भेटिए । आफ्नै ६५ रोपनी जग्गामा उनले चिया खेती गरेका रहेछन् । आम्दानी धेरै छैन । निर्वाह चलेको छ भने । केही तल दूध बोकेर आएका किसानले लिटरको ६० रूपैयाँमा बिक्री हुने बताए । त्यसपछि म होटल फर्किएँ । सबै तयार भइसकेका रहेछन् । चिया बाटोमै खाने भनेर गाडी चढ्यौं । फिक्कल बजारबाट हामी पशुपतिनगरतर्फ जानुपर्नेमा इलाम बजारतर्फ पो लागिएछ । १८ किलोमिटर काटेर बाटोमा सोध्दा पो थाहा भो । फेरि फर्किएर बीच बाटोमा नास्ता लिएर फिक्कल आयौं र पशुपतिनगरतर्फ लाग्यौं । नेपाल र भारत बीचको बोर्डरमा पर्ने पशुपतिनगर बजारमा पुगेर प्रहरी चौकी परिसरमा गाडी राख्यौं । त्यसपछि होटलमा खाना खाएर बोर्डर प्रवेश गरेर भारतीय जिप भाडामा लिई दार्जिलिङतर्फ लाग्यौं ।

नेपालकै सिमाना नगिच हुँदै बनेको ठाडो बाटोमा गाडी कुदिरहेको थियो । चालक भाइ भन्दै थिएँ, देख्नु भो यो खालि देखिएको जति नेपाल हो, जंगल भएको भारत हो । नेपालतर्फ नांगा डाँडो देखेर मन खिन्न भयो । हामीले छिमेकीको देखेर पनि केही गर्न सकेनौं । गाडी सिमाना भन्ने ठाउँमा पुग्यौ । त्यहाँबाट माने भञ्ज्याङलगायत इलामका धेरै भाग देखिने रहेछ । कति भारतीयहरू त त्यहिबाट नेपाल हेरेर फर्कंदा रहेछन् ।

सिमाना पछि जोर पोखरी हेर्दै अघि बढियो । त्यसपछि डाँडाको धारैधार ओराली उकाली हुँदै चार घन्टामा हामी दार्जलिङ पुग्यौं । घनावस्ती भएको पहाड दार्जलिङलाई हेर्दा हामै्र पाल्पा तानसेनको याद आयो । तर त्यहाँ त छुकछुके रेल पनि रहेछ । गाडी वालाले हामीलाई ६/७ वटा ठाउँहरूमा पुर्‍याए । हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट र हिमालयन जुलोजिकल पार्कमा हामी धेरै भुल्यौ ।

माउन्टेनिङ इन्स्टिच्युटमा पहिलो पटक सगरमाथा चढ्ने तेञ्जिङ्ग शेर्पा लगायतका हिमाल आरोहीका तस्विर र उनीहरूले प्रयोग गरेका सामग्री सहित हिमालय क्षेत्रको जानकारी दिने कुराहरू थिए । जुलोजिकल पार्कमा हिमाली क्षेत्रमा हुने जीवजन्तुहरू थिए । त्यसै गरी हामी विभिन्न भ्युटप पुग्यौं, चिया बगान नजिकै बसेर ताजा चिया पिउँदै कोसेलीको रूपमा केही प्याकेट चिया पनि लियौं । भानुभक्तको पूणकदको सालिक हेर्न जाने भनेकोमा साँझ परेकोमा भोलि जाउँला भनेर होटलतर्फ लागियो । तर भोलि बिहानै सिक्किम जाने तयारी भयो । गाडी सल्लाघारीको बीचको ठाडो बाटो हुँदै ओरालो लाग्यो । टिष्टा नदी सिक्किमको पश्चिमी बोर्डर रहेछ । टिष्टा भन्नेबित्तिकै नेपालको पुरानो सिमाना भन्ने याद आयो । गाडी चालक भाई दार्जलिङे नेपाली थिए । उनले भने दार्जलिङ लिएर अंगे्रजले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता गरेको हो रे । दार्जलिङ सिक्किमका कतिपय नेपालीको अझै पनि नेपालमा पुख्यौली घर रहेको उनले बताए ।

सिक्किम प्रवेश गर्दा भन्सारमा कडा जाँच हुँदो रहेछ । कोरोना बुस्टर खोप लगाएको प्रमाण नभै पस्न नपाइने । प्रवेशाज्ञा पत्र लिनुपर्ने, त्यो नभए होटलमा समेत बस्न नपाइने रहेछ । बुष्टर खोप लगाएको प्रमाण पत्र हामीले लान बिर्सेछौं । अघिल्लो दिन नै दार्जलिङमा बसेको बेला घरमा खबर गरेर मेसेन्जरमा पठाउन भनेको थियौं । आएपछि प्रिन्ट गरेर देखाउन सकियो । नेटबाट कति सुविधा हुँदो रहेछ, महत्व थाहा भयो । सिक्किम पस्ने बित्तिकै हाम्रो योजना थियो चारधाम जाने । चारधाम जान त कति महिना लाग्छ हैन र ? हामी गयौ सिक्किममा हालै निर्माण भएको चारधाममा । नाम्ची भन्ने ठाउँमा रहेको सिध्देशवारा धामलाई चारधाम भनिएको रहेछ । जहाँ भारतका चारधाम लगायतका प्रसिद्ध धामहरूको एकै ठाउँमा नमूना संयुक्त धाम बनाइएको छ । चारधाम पछि हामी सिक्किमको राजधानी गान्तोक पुग्यौं ।

दार्जलिङ भन्दा पनि गान्तोक झन् ठूलो सहर रहेछ । मूलद्वार नजिकै रहेको पर्यटन कार्यालय गएर विभिन्न जानकारी लियौं । होटलको सम्पर्क पनि त्यहींबाट भयो । मुख्य बजार फराकिलो थियो । बीच भागका साना चौतारीमा फूलहरू साथै बस्ने बेन्चहरू राखिएको । एकातर्फ मार्बल छापेको बाटो अर्कोतर्फ पीच । सायद मर्मत गर्दै रहेकोले होला पिच बाटोमा पनि गाडी हिडेका थिएनन् । अन्यत्र भने साँघुरो बाटो हुँदा पार्किङको ठूलो समस्या देखिन्थ्यो । मुख्य बजार बीचमा रहेको महात्मा गान्धीको सालिक र पूर्वतर्फ रातो पान्डाको प्रतिमाले पार्कको शोभा बढाएको थियो ।

मजदूरहरू धेरै नेपालकै रहेछन् । सिक्किम आउनुको कारण सोध्दा ज्याला राम्रो पाइने र नेपालीहरू भएको ठाउँ भएकोले आएको बताए । श्रीमती, छोराछोरी यतै छन् कि भन्ने प्रश्नमा उतै छन्, हामी त चर्नमात्रै आएको हो उनीहरूको भनाइ थियो ।

सिक्किमबाट प्रकाशित भएका चारवटा नेपाली र एउटा अंगे्रजी पत्रिका देखे । साँझपख सिक्किम एक्सपे्रसको कार्यालय पस्दा मेनेजर रघुनाथ सुवेदीसँग भेट भयो । सुवेदीजी नेपालकै हुनुहुँदो रहेछ । सिक्किमको पत्रकारिता स्थितिबारे संक्षिप्त जानकारी पनि मिल्यो ।

हामीले गाडी लिएर गान्तोकका ५/७ ठाउँ घुम्यौं । तीमध्ये बौद्ध गुम्बा, गणेश मन्दिर, हिमाली वनस्पति उद्यान जहाँ राता सेता गुँरासका साथै विभिन्न फूलहरू फूलिरहेका थिए । झरना हेर्न गएको पानी थिएन, वर्षामा भने ठूलो हुन्छ रे । त्यस्तै भ्युप्वाइन्ट गइयो । जहाँ चारैतिरको दृश्य देख्न सकिन्थ्यो । उत्तर पूर्व हिमालय देखिएको थियो । सिक्किमे राजाको दरबार यतिखेर बन्द छ भनेर हामी जान पाएनौं । सिक्किममा पर्यटक भुलाउने कुरा धेरै रहेछन् । खेतीपाती कतै देखिएन । जता हे¥यो जङ्गल मात्र । आयश्रोतको बाटो पर्यटन रहेछ भन्ने लाग्यो ।

२ रात ३ दिनको बसाइँ पछि हामी नेपाल फक्र्यौ । गान्तोकबाट ५ घन्टामा पशुपतिनगर आइपुगियो । कन्याम आएर चिया बगान हे¥यौं । यतिखेर दार्जिलिङलाई कन्यामको चियाबारीले जितेजस्तो लाग्यो । चिया बगान हेर्न विदेश जान पर्दैन । कन्याम मनग्गे छ । दार्जलिङ सिक्किम हेर्न त त्यहाँ नेपाली भाषीहरू छन् भनेर गएको । त्यहाँकाले पहाड हेर्न त नेपालमै छन् यहाँ किन आउनुभयो भनेर सोध्दा पनि हामीले तपाईंहरू हुनुहुन्छ भनेर आएको भनेका थियौं ।

कन्यामको चारैतर्फ नजर घुमाउँदा मैले पोखराका साहित्यकार मदन भण्डारीलाई सम्झें । उहाँले मेरो घर कन्याम हो भन्नुभएको थियो । फोन गरेर कहाँनेर हो भनेर सोध्न बिर्सिएछ । कन्यामको सौन्दर्यको प्रभाव भण्डारीका रचनामा पक्कै परेको होला । पहिला खाँदा टर्रो टर्रो पछि स्वादिलो चिया जस्तो ।

अंगे्रजीमा कन्याम लेखिएको रेलिङ अगाडि फोटो खिच्नेको भीड थियो । त्यहाँ कुरेर फोटो खिचायौं । त्यसपछि हामी धूलाबारी झरेर त्यहाँको चिया बगानमा पस्यौं । त्यसपछि पूर्व पश्चिम राजमार्गमा आईपुग्यौं र पश्चिमतिर हुइँकियौं ।

दमक आउँदा ट्राफिक प्रहरीले गाडी रोकेर कहाँ जाने भनेर सोधेका थिए । इटहरी पुग्ने हो भन्यौं । ट्राफिकले विराटचोकबाट नजानु होला त्यहाँ जुलुस छ भनेपछि हामी भित्री बाटो लाग्यौं । रातको बेला नचिनेको गाउँभित्रको बाटो छिचोल्न हामीलाई गाह्रो भयो । बीच बीचमा झाडीले छोपिएका साँघुरा पुलहरूबाट कता खोलामा खसिने हो कि भन्ने डर थियो । सोध्दै सोध्दै नहर किनारको बाटो हुँदै बल्ल बल्ल इटहरी निस्कियौं ।

१८ महिनाकी बालिकालाई बलात्कार गर्ने अपराधीहरूलाई पक्राउ गरी कडा कारबाही गरियोस् भन्ने माग गर्दै विराट चोकमा राजमार्ग अवरुद्ध गरिएको रहेछ । कानूनअनुसार अपराधीलाई स्वतः कारबाही हुनपर्ने कुरालाई पनि जनताले बारम्बार दबाब दिनुपर्ने यो कस्तो नियति हामीले भोगिरहेका छौं ।
इटहरीबाट भोलिपल्ट बिहान कोशी ब्यारेजमा आएर खाना खायौं । ब्यारेज कटेपछि दर्जनौं बूढो बाजेको पेंडा पसलमध्ये एउटामा गएर पेंडा किन्यौ । त्यस पछि लाहान हुँदै चन्द्रनिगाहपुरमा आएर तराई इनमा बास बस्यौं ।

चन्द्रनिगाहपुरबाट लालबन्दी, लोथर, पथलैया, हेटौंडा हुँदै नारायणगढ आइपुग्यौ । पारी गैँडाकोट गएर आदर्श समाजको घर जग्गा हेर्ने कुरा भयो । गेटमा ताला झुण्डिएको रहेछ । बाहिरबाटै नजर लगायौं, आँप र लिचीका बोटहरू झपक्कै फूल फुलेको थियो । छिमेकी दाजु कडेंलको घरमा कान्छा छोराको विवाहको खाजा स्वरूप फलफूल खाएर नारायणघाट फर्कियौं । पोखरा आइपुग्दा साँझ परेको थियो ।

फागुन २० गते देखि पूर्व लागेका हामी चैत २ गते घर आइपुग्यो । यो दुई हप्ताको भ्रमण हाम्रो पारिवारिक मात्र थिएन । आदर्श समाज दैनिकको बजार बिस्तार, स्वतन्त्र पत्रकार संघको शाखा बिस्तार तथा पूर्वाञ्चलदेखि दार्जलिङ, सिक्किमसम्म सञ्चारकर्मीहरूसँगको सम्बन्ध बिस्तारसँग जोडिएको थियो ।

साहित्यकार भीम रानाभाट र पत्रकार फडिन्द्र अकिञ्चनसहित भएर म २०६५ सालमा दार्जलिङ सिक्किम पुगेको थिएँ । त्यतिखेर झरी परेर राम्रोसँग घुम्न पाइएको थिएन । यसपालि रामै्रसँग घुमियो । धेरै देखियो ।

Related News

सम्बन्धित समाचार

hero news full width