मन्दिरमा कसम खाएर उम्मेदवारी घोषणा

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
Group picture with candidates

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पोखरा महानगरको प्रमुख र उपप्रमुख पदका अकांक्षीहरुले आइतबार स्थानीय विन्ध्यवासिनी मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाई उम्मेदवारी घोषणा गरेका छन् ।

सो दलको तर्फबाट पोखरा महानगरको प्रमुखमा शंकर खराल र उपप्रमुखमा रञ्जना सेन पौडेल (रञ्जू) ले उम्मेदवारी दिन लागेका छन् । राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले प्रमुख र उपप्रमुख पदका प्रत्यासीलाई भ्रष्टाचार मुक्त समाज निर्माण गरी सुशासन कायम गर्न कसम खुवाएका थिए ।

सो अवसरमा उक्त दलका तर्फबाट कास्की जिल्लाका विभिन्न पालिका र वडाबाट उम्मेदवार बन्न लागेका आकांक्षीले पनि भ्रष्टाचार नगर्ने कसम खाएका थिए ।

मन्दिर प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश कमिटी अध्यक्ष गुरुङले भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग भएको भन्दै यसको अन्त्यका लागि आफ्नो दल कटिबद्ध रहेको बताए । ठूला भनिएका राजनीतिक पार्टीले पटक पटक सत्तामा पुगेर पनि जनता झुक्याउने काम गरेको बताउँदै उनले धर्म, संस्कार र संस्कृति रक्षा गर्ने तर्फ पनि आफूहरु सचेत रहेको बताए ।

नगर प्रमुख पदका लागि उम्मेदवारी दिन लागेका खरालले समुन्नत पोखरा निर्माणका लागि भ्रष्टाचारको अन्त्य गर्दै सफा, स्वच्छ र हराभरा पोखरा बनाउने लक्ष्य आफ्नो रहेको भनाई राखे ।

कार्यक्रममा राप्रपाका पूर्व केन्द्रीय सदस्यद्वय डा.महेन्द्रबहादुर कार्की र विष्णुदेवी गुरुङ तथा राप्रपा कास्कीका पूर्व जिल्ला अध्यक्ष जयलाल पुनले पनि भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width