लेडी जेसिजको स्वास्थ्य शिविरमा ४ सय जना लाभान्वित

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
JCI health camp newsf

पोखरा । जेसिज सप्ताहको अवसरमा कास्कीको पुम्दीकोटस्थित महेश्वरी माविको प्रांगणमा शनिबार आयोजित निशुल्क स्वास्थ्य शिविरमा ४ सय ५ जनाले स्वास्थ्य जाँच गराएका छन् । जेसिज सप्ताह २०२२ का अवसरमा पोखरा लेडी जेसिज २०२२ ले दोस्रो दिनको कार्यक्रमअन्तर्गत यो शिविर आयोजना गरेको हो ।

स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष एवं आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले शिविरको उद्घाटन गरेका थिए । प्रधान सम्पादक बास्तोलाले पुम्दीकोटमा जारी धार्मिक पर्यटन महोत्सवका कारण अहिले विश्वको ध्यान उक्त गाउँतर्फ केन्द्रित भएको भन्दै यही गाउँमा स्वास्थ्य शिविर समेत आयोजना हुँदा धेरै भन्दा धेरै सेवाग्राहीले लाभान्वित हुने अवसर पाएको बताए । यज्ञमा सहभागी हुन आउनेहरुले समेत शिविरबाट सेवा लिन सक्ने भन्दै उनले आगामी दिनमा समेत यस्तै समाजोपयोगी कार्यहरु अगाडि बढाउन लेडी जेसिजलाई सुझाव दिए ।

शिविरमा नाक, कान, घाँटी, दाँत एवं स्त्री रोगसम्बन्धी सेवा दिइएकोे थियो । खासगरी विद्यार्थी र समुदाय लक्षित शिविरमा चरक अस्पताल र मनिपाल अस्पतालबाट आएका डाक्टर, नर्स र कर्मचारीले सेवा दिएको शिविर संयोजक विनीता सुवेदीले जानकारी दिइन् ।

जेसिज सप्ताह अन्तर्गत पहिलो दिन उद्घाटन शत्र र उत्प्रेरणा तालिम सम्पन्न गरिएको जेसिज सप्ताहकी मूल संयोजक एवं संस्थाकी कार्यकारिणी उपाध्यक्ष २०२२ सरस्वती थापा (सरु) ले जानकारी दिइन् । तेश्रो, चौंथो र पाँचौं दिन लेकसाइडमा सीपमूलक तालिम र छैटौं दिन ड्यामसाइडमा उद्घोषण तालिम आयोजना गरिएको छ । यसैगरी अन्तिम दिन भने अशक्त तथा असहाय व्यक्तिहरुलाई आवश्यक सामग्री तथा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको संस्थाले जनाएकोे छ ।

शिविर उद्घाटनका अवसरमा लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी १ नेपालका डिस्ट्रिक्ट चेयर पर्सन अमृत बराल, पोखरा २२ का अध्यक्ष मित्रलाल बराल, महेश्वरी माविकी प्रधानाध्यापक कुलदेवी बराल र सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम बराललगायतले बोलेका थिए । पोखरा लेडी जेसिज वर्ष २०२२ की अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रमिला सुवेदी रस्वागत शिविर संयोजक विनीता सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width