एमालेले दियो ३० पालिकामा टिकट

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७९
UML

पोखरा । नेकपा एमाले गण्डकीले प्रदेशभित्रका ३० पालिकामा प्रमुख र उपप्रमुखको टिकट वितरण गरेको छ । तल्लो तहबाटै सर्वसम्मत सिफारिस भएका नामहरु प्रदेश कमिटीले टुंग्याएको हो । ३० पालिका प्रमुख र २१ पालिकाको उपप्रमुखको टिकट वितरण गरिएको हो । २९ मध्ये ७ पालिकामा एमालेले अहिलेकै उम्मेदवारलाई दोहोर्‍याउन लागेको छ ।

एमालेका अनुसार मनाङ र मुस्ताङको सबै पालिकाले उम्मेदवार पाइसकेका छन् । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको अध्यक्षमा रिन्जिन गुरुङ र उपाध्यक्षमा दिकी गुरुङलाई टिकट दिएको छ भने लोघेकर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट र छिरिङ ल्हामो गुरुङले उपाध्यक्षको टिकट पाएका छन् । विष्टलाई अध्यक्षमा दोहोर्‍याउन लागिएको हो भने गुरुङ जिल्ला समन्वय समिति प्रमुखबाट गाउँपालिका उपाध्यक्ष बन्न लागेकी हुन् । लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा टसी नुर्वु गुरुङ र उपाध्यक्षमा छिमी विष्ट, थासाङ गाउँपालिकाको अध्यक्षमा प्रदीप गौचन र उपाध्यक्षमा सुमीता शेर्पा तथा घरपझोङ गाउँपालिकाको अध्यक्षमा सञ्जयकुमार थकाली र उपाध्यक्षमा मीमकुमारी शेरचनलाई टिकट दिएको छ ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कान्छा घलेलाई दोहोर्‍याइएको छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन् । चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने भएका छन् । उपाध्यक्षमा आशकुमारी गुरुङ, नासों गाउँपालिकामा मनबहादुर गुरुङ अध्यक्ष र अर्विन गुरुङ उपाध्यक्षमा उम्मेदवार बन्ने छन् । यसअघि सर्वसम्मत नेतृत्व चयन भएको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ज्याप्ले गुरुङलाई टिकट दिएको छ । उपाध्यक्षमा अहिले निर्णय आएको छैन ।

एमालेले ३० पालिका प्रमुख र २१ पालिकाको उपप्रमुखको उम्मेदवार टुंगो लगाएको

तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्षमा ऋषि केसी, लमजुङको क्होंलासोंथर गाउँपालिकाको अध्यक्षमा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले टिकट पाएका छन् । कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङ दोहोरिने भएका छन् । गोरखाको अजिरकोट गाउँपालिकाको अध्यक्षमा शेखरनाथ न्यौपाने, चुमनुब्री गाउँपालिका अध्यक्षमा सुकबहादुर गुरुङ र उपाध्यक्षमा सानु गुरुङको टिकट टुंगो लागेको छ ।

स्याङजाको आँधीखोला गाउँपालिकामा अध्यक्ष विश्व पौडेल र उपाध्यक्ष सीता थापा, वालिङ नगरपालिका प्रमुखमा कृष्णबहादुर खाँड र उपप्रमुखमा खगिसरा थापा मगरले टिकट पाए भने हरिनास गाउँपालिका अध्यक्षमा खीमनारायण मानन्धर नै दोहोरिएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षको टिकट भरतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजाले पाएका छन् । रघुगंगा गाउँपालिकाको अध्यक्षमा प्रेमबहादुर कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजा, मालिका गाउँपालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, मंगला गाउँपालिका अध्यक्षमा शतप्रसाद रोकाले टिकट पाएका एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

नवलपुरको हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा चेतन राना र उपाध्यक्षमा मनी पाण्डे तथा मध्यविन्दु नगरपालिकाको प्रमुखमा भीमलाल अधिकारी, पर्वतको पैंयू गाउँपालिकाको अध्यक्षमा महेन्द्र श्रेष्ठ र उपाध्यक्षमा यमकुमारी रानाले टिकट पाए । बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति विक, ढोरपाटन नगरपालिका प्रमुखमा देवबहादुर नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउछा र उपप्रमुखमा रुपा विक तथा जैमिनी नगरपालिका प्रमुखमा लीला राना र उपाध्यक्षमा यमुना शर्माले टिकट पाएका सचिव दवाडीले बताए ।

अरुको टिकट भने आइतबार मात्रै वितरण हुनेछ । प्रदेशका इन्चार्ज केन्द्रको बैठकमा भएका कारण प्रदेशमा बैठक बस्न नसकेको उनको भनाइ छ । ‘सबै शनिबार नै टुंग्याउने कुरा हो । इन्चार्ज कमरेड केन्द्रमै व्यस्त हुनुभयो,’ उनले भने, ‘नामहरु करिब फाइनल भएका छन् । अन्तिम चरण छलफल गरेर सार्वजनिक गर्छौं ।’ प्रदेशका नगरपालिका र गाउँपालिकासहित पोखरा महानगरका वडाहरुको टिकट प्रदेश कमिटीले वितरण गर्ने प्रावधान एमालेमा छ । पोखराका मेयर र उपमेयरको उम्मेदवारको निर्णय केन्द्रीय समितिले लगाएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width