मुख्य निर्वाचन अधिकृत कार्यालयको निर्वाचन केन्द्रित सर्वदलीय बैठक

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७९
Nirbachan Karyalaya Photo

पोखरा । स्थानीय तहको चुनाव भयरहित, निष्पक्ष बनाउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार सर्वदलीय तथा सर्वपक्षीय छलफल गरेको छ । बिहीबार स्थापना भएको कार्यालयले निर्वाचन सफल बनाउने गरी काम सुरु गरेको हो ।

मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईको अध्यक्षतामा भएको बैठकमा राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार लगायत उपस्थित थिए । कार्यक्रम उपस्थित नागरिक समाजका प्रतिनिधिले मनोनयन दर्ता गर्ने समयमा हुने अनावश्यक तडकभडक बन्द गर्नुपर्ने, हुल हुज्जत कम गर्नुपर्ने, मौन समयमा हुने बार्गेनिङ, अनाश्यक भोज भतेरका क्रियाकलाप कम गर्न आग्रह गरेका थिए ।

छलफलमा सहभागी दलहरुले निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नेपाली कांग्रेस गण्डकीका अध्यक्ष शुक्रराज शर्माले सबै मिलेर निर्वाचन सफल बनाउनुपर्ने बताए । मतदातको सुरक्षाको अनुभूति दिलाउने गरी निर्वाचन कार्यालयले काम गर्नुपर्ने उनको धारणा थियो । निर्वाचन कार्यालयको काममा आफूहरुको सहयोग रहने उनले बताए । नेकपा एमालेका नेता रश्मी आचार्यले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने काम राजनैतीक दलको गतिविधिले निर्धारण गर्ने भएकाले सबै पार्टी आचारसंहितामा सजग हुनुपर्ने धारणा राखेका थिए । उम्मेदवार दर्ताका समयमा हुने हुल हुज्जत कम गर्न सम्बन्धित पार्टीले निर्वाचन अधिकृतको कार्यालयबाट समय लिएर जाने र त्यही अनुसार समय मिलाएर उम्मेदवारी दर्ता गर्नुपर्ने सुझाव राखे ।

कार्यक्रममा निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले सबै राजनीतिक पार्टीहरुलाई आचारसंहिता पालनाका लागि आग्रह गरेका थिए । तोकिएको समयमा उम्मेदवारी दर्ता गर्न जाँदा आवश्यक कागजातहरु साथैमा लिएर उपस्थित हुन पनि आग्रह गरेका थिए ।

स्थानीय तहको निर्वाचनमा पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यका लागि नेपाली नागरिकताको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा दलले प्रदान गरेको पत्र, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्नेछ । यस्तै दलित वडा सदस्यका लागि माथिका बाहेक अधिकार प्राप्त निकायले दिएको दलित समुदायको भएको प्रमाणित हुने निस्सा साथमा लिएर जानुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच कास्कीका प्रमुख जिल्ला अधिकारी जयराम आर्चायको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन–२०७९ तयारीका आवश्यक गृहकार्य अगाडि बढाएको कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार कास्कीमा १५० मतदानस्थल र ३३६ मतदान केन्द्र रहने छन् । मतदान केन्द्रमा अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर कमान्ड पोस्ट तयार गरिएको छ । त्यसैगरी कास्कीका ४ गाउँपालिकामा पनि आज नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । तीमध्ये १ लाख ३३ हजार ७ सय ४२ पुरुष र १ लाख ४८ हजार ८७ महिला रहेका छन् । तेस्रो लिंगीको संख्या भने ४ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अघिल्लो स्थानीय तहको चुनावको तुलनामा अहिले कास्कीमा ५७ हजार २२ मतदाता थपिएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपाने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width