कर्मचारीलाई सेवा प्रवेश तालिम

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७९
trainining

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले सार्वजनिक सेवामा प्रवेश गरेका नवप्रवेशी कर्मचारीको सेवा प्रवेश तालिम दिइएको छ ।

गण्डकी प्रदेशअन्तर्गत विभिन्न स्थानीय तहका लागि प्रदेश लोक सेवा आयोगबाट सिफारिस २ सय २६ जना स्वास्थ्य सेवाका अनमीको एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गरिएको थियो । सार्वजनिक सेवामा प्रवेश गरेका कर्मचारीलाई आफूलाई तोकिएको कार्यालयमा सहजतापूर्वक सेवा प्रवाह गर्न सक्षम बनाउने मूल उद्देश्य साथ आयोजित सो कार्यक्रमले कर्मचारीलाई सार्वजनिक सेवा प्रवाह गर्दा ध्यान दिनुपर्ने आधारभूत कुरा मध्यनजर गरी कार्यसम्पादन गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।
यस कार्यक्रमको प्रारम्भसँगै कर्मचारीलाई तालिमसहित कार्यक्षेत्रमा खटाउने परिपाटीको समेत सुरुआत भएको छ ।

लोक सेवा आयोगको कर्मचारी छनोट प्रक्रिया र सिफारिससम्बन्धी व्यवस्था लगायत आयोगबारे प्रदेश लोक सेवा आयोगका अध्यक्ष विष्णु प्रसाद नेपाल, सदस्य कल्पना लम्साल र योगेन्द्र गौचन तथा सचिव विनोदबहादुर कुँवरले सहजीकरण गरेका थिए ।

सरकारी कर्मचारीको मूल्यमान्यता तथा आचारसंहिता सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवद्वय रामप्रसाद आचार्य र मनमाया पंगेनी भट्टराईले सहजीकरण गरेका थिए ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे र शाखा अधिकृत बाबुराम न्यौपानेले कर्मचारीको वृत्तिविकास र जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकासमा प्रतिष्ठानले हालसम्म खेलेको भूमिका र आगामी दिनका योजनाबारे प्रस्तुति राखेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारी, स्वास्थ्य निर्देशक खिमबहादुर खड्का लगायतले अनमीको कार्यविवरण र जिम्मेवारीबारे छलफल गरेका थिए ।

आयोगको पोखरास्थित कार्यालयमा २ सय २६ जना अनमीलाई ४ समूहमा विभाजन गरी कार्यक्रम सञ्चालन गरिएको थियो । नवप्रवेशी कर्मचारीले तालिमबाट नयाँ कार्यालयमा काम गर्न जान थप जोश जाँगर मिलेको प्रतिक्रिया दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width