एसइई परीक्षा आजदेखि, गण्डकीका ४६ हजार परीक्षार्थी

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७९
see exam

फाइल फाेटाे

पोखरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।

कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायत आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उनले जानकारी दिए ।

एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए । उनले परीक्षामा यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९ सय १४ र छात्रा २ लाख ५७ हजार ५३ जना गरी ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

२ वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसइईमा सहभागी हुँदैछन् । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् । एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ । यस वर्षको एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको छ । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ ।

कोरोना महामारीका कारण गत वर्षको पढाइ प्रभावित भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरी भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिकसत्र सुरु गर्ने गरी शिक्षा मन्त्रालयले व्यवस्था गरेको छ ।

गण्डकीका ४६ हजार परीक्षार्थी

परीक्षामा गण्डकी प्रदेशबाट ४६ हजार १ सय ९१ जना परीक्षार्थी सहभागी हुँदैछन् । प्रदेशका ११ जिल्लाका गरी १ हजार ३ सय ४१ विद्यालयका नियमिततर्फ ४५ हजार १ सय ५५, प्राविधिक धारतर्पm ८ सय १५ र ग्रेड वृद्धितर्फ २ सय २१ जना सहभागी हुने शिक्षा निर्देशनालय गण्डकीका निर्देशक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार परीक्षार्थीलाई मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा होम सेन्टर नपर्ने गरी २ सय २३ परीक्षा केन्द्र कायम भएका छन् । प्रदेशभर सबैभन्दा बढी २ सय ९३ विद्यालयका १० हजार ६ सय २१ परीक्षार्थी कास्कीबाट सम्मिलित हुने छन् । सबैभन्दा कम मनाङका ४ विद्यालयबाट ४३ परीक्षार्थी सम्मिलित हुने छन् । परीक्षा संचालन गर्न २ सय २३ केन्द्राध्यक्ष, ३ सय १२ सहायक केन्द्राध्यक्ष, २ हजार ३ सय ११ निरीक्षक, ४ सय ५८ परीक्षा सहायक, ९ सय २५ कार्यालय सहयोगी र करिब ३ हजार ३ सय ४५ सुरक्षाकर्मी खटिने छन् ।

परीक्षा मर्यादित र शान्तिपूर्ण बनाउन बिहीबार प्रदेशका आन्तरिक मामिला मन्त्रीको उपस्थितिमा प्रमुख सचिव, मन्त्रालयका सचिव सहित सम्पूर्ण सुरक्षा निकायका प्रमुखबीच सुरक्षा समितिको बैठक बसेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width