पोखरा । गठबन्धन टुटेको भन्दै नेपाली कांग्रेस कास्की सचिवद्वय भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले सोमबार दिउँसो एक्कासि विज्ञप्ति निकाले । पार्टी सभापति किशोरदत्त बराल गठबन्धनकै बैठकमा छलफल गरिरहेका बेला उनीहरुले नेकपा (एकीकृत समाजवादी) ले अस्वभाविक माग राखेको आरोप लगाउँदै समाजवादी बाहेकका दलसँग मात्रै गठबन्धन हुने बताए । ‘पटक–पटकको लामो छलफल र बहसका साथै सँगै तालमेल गरेर जाने सन्दर्भमा भरपूर प्रयत्न गरियो ।
जिल्ला संयन्त्रबाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि अस्वभाविक दाबीका कारणले निष्कर्ष निस्केन,’ विज्ञप्तिमा लेखिएको छ, ‘पार्टी मातहतका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरियो ।’ सभापति बरालले भने कांग्रेसले गठबन्धन टुटाउने निर्णय नगरेको प्रतिक्रिया दिए । ‘सहमति खोजिरहेका छौं । गठबन्धन टुटाउने कुरा छैन,’ उनले भने, ‘मिलेर नै जानुपर्छ भन्नेमा हामी ढुक्क छौं ।’
जिल्लाको विज्ञप्तिलाई बल पुग्ने गरी महानगर समितिले पनि अर्को विज्ञप्ति निकाल्यो । ‘नगर प्रमुख र उपप्रमुखका लागि आकाक्षीहरुसँग खुला आवेदन माग गरी उमेदवार छनोट प्रक्रियाको अन्तिम अवस्थामा रहेको व्यहोरा सर्वविदितै छ,’ कांग्रेस पोखराले विज्ञप्ति निकालेर भनेको छ, ‘पार्टीका सभापति र महामन्त्रीसँगको भेटमा प्रमुख पद नेपाली कांग्रेसले नै पाउने संकेत प्राप्त भएको अवस्थामा गठबन्धनको कारणले प्रमुख पद अन्य पार्टीलाई परेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
कांग्रेस एक्लै चुनाव लडे पनि प्रमुख र उपप्रमुखसहित धेरै वडाहरुमा चुनाव जित्ने भन्दै प्रमुख पदहरु आफूले पाउनुपर्ने अडान कांग्रेसको छ । ‘कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि प्रमुख, उपप्रमुखसहित अधिकांश वडाहरुमा समेत नेतृत्व लिन सक्ने अवस्था रहेकोले प्रमुख पदहरु नेपाली कांग्रेसले नै पाउनुपर्नेमा हामी सशक्त दावेदार हौं,’ अघि भनिएको छ, ‘यसै सन्दर्भमा गठबन्धनमा रहेका दलहरुले आफ्नो हैसियतभन्दा ठूलो माग राखी समय बर्बादी गर्न तल्लिन भएकोले कांग्रेसका उम्मेदवारको घोषणा गरी सकारात्मक सोचको विकास गर्न आग्रह गर्दछ ।’ सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् । उनीहरुले गठबन्धन दलहरुबीच संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास र शान्तिपूर्ण निर्वाचनका लागि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् ।
कांग्रेस र एसले आ–आफ्नो उम्मेदवार उठाउने र माहोल बढ्दै गएपछि कमजोर उम्मेदवारलाई फिर्ता बोलाउने मध्यमार्गी बाटो पनि केन्द्रमा खोजिएको छ
गठबन्धनमा दलहरु अडानबाट टसमस नहुँदा गठबन्धन नै टुट्टे संकेत बढेको छ । यता जनता समाजवादी पार्टीले पनि ठूला दलहरुले पेलेर निर्णय लाद्न खोजेको भन्दै एक्लै उम्मेदवार उठाउने चेतावनी दिएको छ । जसपाका नेता कार्यकर्ताहरुले आफ्नो पार्टी एक्लै लड्न सक्ने भन्दै नपेल्न चेतावनी दिएको हो । उनीहरुले हेमबहादुर थापा (किरण) लाई पोखराको मेयर उठाउने धम्की दिएका छन् । थापासहित जसपा नेताहरुले गठबन्धनको बैठक छोडेका छैनन् । ‘हामी अपमानित भएर जाँदैनौं कि गठबन्धनबाट रिजल्ट निस्किनुपर्छ, हाम्रा साथीहरुले पनि जितेको महसुस गर्नुपर्छ । नत्र हाम्रो भोट सुरक्षित गर्छौं,’ थापाले भने, ‘अहिले नै टुटाएर एक्लै हिड्ने निर्णय लिएका छैनौं । तर त्यो अवस्था पनि आउन सक्छ ।’
एस भन्छः एमालेमा जान सक्छौं
गबठन्धनकै बैठकमा गठबन्धनले अपमान गरिरहे एमालेसँग मिल्न सक्ने एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले चेतावनी दिएको गठबन्धनका अरु सदस्यहरुले बताएका छन् । केन्द्रबाट कांग्रेस र एकीकृत समाजवादी दुवैले मेयरमा उम्मेदवार उठाउने र माहोल हेरेर एउटाले फिर्ता लिने छलफल चलेको खवर पाएपछि आचार्यले उक्त प्रश्ताव ठिक नहुने बताएका हुन् । ‘त्यस्तो हो भने उम्मेदवार पनि दिँदैनौं, सिधै एमालेसँग मिल्छौं भन्ने शब्द निकाल्नुभयो,’ बैठकका एक नेताले भने । तर आचार्यले भने एमालेसँग मिल्ने कुरा सम्भव नभएको बताएका छन् । उनले गठबन्धन पनि कायम रहने बताए । ‘हाम्रो माग अस्वभाविक छैन । त्यसमै सहमति खोज्नका लागि बैठक भइरहेको छ,’ उनले भने, ‘बैठक चलिरहेको बेला बाहिर आएको विज्ञप्तिको कुनै अर्थ छैन ।’ उनले गठबन्धनमा कटिबद्ध भएर लाग्ने बताएका छन् । आचार्यले एमालेविरुद्धको लडाईंमा समाजवादीलाई बाहिर राखेर जान नसक्ने बताएका छन् ।
विज्ञप्तिले बिच्कियो गठबन्धन
नेकपा (एकीकृत समाजवादी) लाई मेयर मान्न नसकिने कांग्रेसको अडानपछि निस्किएको कांग्रेस विज्ञप्तिले गठबन्धन दलहरु नै विच्किएका छन् । बैठक छोडेर सचिवद्वय ढकाल र रानाभाटले विज्ञप्ति निकालेर पुनः बैठक स्थल पुगेका थिए । त्यसपछि बैठकस्थलमै चर्काचर्की भएको बैठकका सहभागीहरुले बताए । विना निष्कर्ष टुंगिएको बैठक मंगलबार २ बजे पुनः डाकिएको छ ।
कुन पार्टीमा कति आकांक्षी
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले पोखराको मेयरका लागि १८ जनाको नाम सिफारिस गरेको छ । आइतबार आकांक्षीको नाम टिपाउँदा १८ जनाले मनोनयन दिएका हुन् । यस्तै, उपमेयरमा १० जनाको नाम परेको छ । उनीहरुबीच सोमबार परिचयात्मक कार्यक्रमसहित सबैको पोखरा भिजन मागिएको छ ।
दोस्रो दल नेकपा माओवादी केन्द्रले मेयर र उपमेयरमा ३÷३ जनाको नाम सिफारिस गरिएको छ । सोमबार नगर कमिटीको बैठकले मेयरमा ३ र उपमेयरमा पनि ३ जनाको नाम प्रदेश कमिटीमा पठाइएको हो । एकीकृत समाजवादीले नगर कमिटी बैठकबाट मेयरमा ६ र उपमेयरमा ३ जनाको नाम पठाएको छ । जसपाले अहिलेसम्म मेयरको टुंगो लगाएको छैन । गठबन्धनविरुद्ध राप्रपा नेपाल र परिवार दलसँग साझेदारी गरेर चुनावमा होमिएको एमालेबाट मेयरमा १२ र उपमेयरमा ९ जनाको नाम सिफारिस गरिएको छ ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१