शिक्षकले विद्यार्थीलाई पोर्न भिडियो देखाएपछि ….

रामकुमार श्रेष्ठ
वैशाख ४, २०७९
janak1

नवलपुर । पूर्वी नवलपरासीको गैंडाकोट ५ मा रहेको जनक नमुना माविका एक शिक्षकले आफ्नै छात्रालाई अश्लिल भिडियो देखाएर जबरजस्ती गर्न खोजेपछि दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।

विद्यार्थीको प्रदर्शनका कारण आइतबार दिन भर विद्यालय तनाबग्रस्त बनेको थियो भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको थियो ।
विद्यालयका कम्प्युटर शिक्षक कपिल घिमिरेले कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई कम्प्युटर ल्याबमा लगेर अश्लिल भिडियो देखाएको र छात्रामाथि जबरजस्ती गर्न खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

विद्यार्थीले विद्यालय तोडफोड गरेका छन् भने आरोपित शिक्षकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले भने – आरोपित शिक्षकलाई अहिले नियन्त्रणमा लिएर राखेका छौं । घटनाको अनुसन्धान हुँदै छ ।

विद्यार्थीहरुले शिक्षक घिमिरेलाई कानुनी कारवाही मात्र गरेर नपुग्ने भन्दै कालोमोसो लगाउनु पर्ने र जुत्ताको माला लगाउनु पर्ने भन्दै प्रदर्शन गरेका थिए । उनीहरुले सोही क्रममा विद्यालयमा तोडफोड समेत गरेका छन् ।

दुव्र्यवहार गरेको आरोपमा शिक्षकलाई कारवाही र पिडित छात्रालाई न्यायको माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।

विद्यालयमा घटनाको विषयमा छलफल र उक्त दिनको सिसी क्यामराको फुटेज हेर्ने क्रममा विद्यार्थीहरु तोडफोडमा उत्रिएका थिए । विद्यालय परिषर भित्र तोडफोड भएपछि स्थितिलाई नियन्त्रणमा लिन विद्यालय परिषर भित्रै प्रहरी परिचालन गरिएको थियो । प्रहरीले ३२ राउण्ड अश्रुग्याँस प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरी उपरीक्षक महर्जनले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको स्वीकार गरे । उनले भने – कति राउण्ड हो अहिले भन्न सकिन्न । ९÷१० राउण्डसम्म अश्रुग्याँस प्रहार भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरी र विद्यार्थीबीच झडप हुँदा इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ सहित केही प्रहरी घाइते भएका छन् । प्रहरीले विद्यार्थीहरुलाई समेत लछारपछार गरेको थिए ।

घिमिरेलाई नियन्त्रणमा लिन विद्यालय परिसरमा प्रहरी प्रवेश गरेको थियो । सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि चितवनको तालिम केन्द्रबाट समेत प्रहरी मगाइएको थियो ।

छात्रालाई मोवाइलमा अश्लिल भिडियो देखाई जबरजस्ती गर्न खोजेको पीडित परिवार र पीडित छात्राले समेत बताएका छन् । विद्यालयको कम्युटर ल्याबमा शिक्षक घिमिरेले छात्रा एक्लैलाई राखी अश्लिल भिडियो देखाई दुव्र्यवहार गरेको पिडित छात्राले साथीलाई सुनाएपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् । घटना गत चैत २८ गते भएको भएपनि घटनाका विषयमा विद्यालय प्रशासनले ढाकछोप गर्न खोजेको विद्यार्थीको आरोप छ ।

प्रहरी उपरीक्षक महर्जनले घटना केही दिन अगाडिको भएको बताए । पीडित पक्षले भने प्रहरीमा उजुरी दिएको छैन । महर्जनले भने – हामीले दुवै पक्षसँग घटनाको सोधपुछ र अनुसन्धान गरिरहेका छौं । पीडित पक्षले सोमबार प्रहरी समक्ष उजुरी दिने तयारी गरेको छ ।

विद्यार्थीहरुले विद्यालय प्रशासनले शिक्षकलाई बचाउन खोजेको, उल्टै विद्यार्थीमाथि आरोप लगाएको भन्दै असन्तुष्टि जनाएका थिए । विद्यार्थी शिक्षकबीच समेत छलफल नगराएको विद्यार्थीको आरोप छ । विद्यार्थीले न्याय माग्दा प्रहरी बोलाएर विद्यार्थीमाथी कुटपिट गरेको भन्दै विद्यार्थी तोडफोडमा उत्रिएका थिए ।

विद्यार्थीहरुले विद्यालय परिसरमा चर्को नाराबाजी गरेका थिए । ‘वी वान्ट जस्टिस’, ‘दोषीलाई फाँसी दे’ लगायतका नारा लगाएका थिए । प्रधानाध्यापक चुडामणी शर्माले घटना लुकाउन खोजेको विद्यार्थीले आरोप लगाउँदै आएका छन् ।

आक्रोशित विद्यार्थीले आरोपित शिक्षकको ना २४ प ६६१५ र प्रधानाध्यापकको प्रा ३०३००२ प ०७७६ नम्बरको मोटरसाइकल जलाइ दिएका छन् । विद्यालयका बेन्च, कुर्ची, ह्वाईट बोर्ड, कम्प्युटर, सिसिटिभी, माईक, झ्याल ढोकाका सिसा, रजत जयन्ती स्मारक, फुलदानी, गमला, २० वटा खानेपानीका धारा लगायत तोडफोड गरेका छन् ।

पीडितको हजुरबुबाले घटना घटेको ५ दिन बितीसक्दा पनि विद्यालय प्रशासनले अभिभावकलाई थाहै नदिई घटना लुकाउन खोजेको आरोप लगाए । नातीनिले पनि आज मात्रै भनेपछि छलफलका लागि आएको उनले बताए ।

छात्राका अभिभावकले भने – शिक्षा दिने शिक्षकले यस्ता व्यवहार गरे अन्य विद्यार्थीले के शिक्षा पाउँछन् ?’

विद्यालयका प्रधानाध्यापक चुडामणी शर्माले घटनाबारे विद्यार्थी, शिक्षक र अभिभावकबीच छलफल चलिरहँदा एक्कासी उग्ररुप लिएको बताए ।

घटनाका विषयमा ल्याब कक्षमा रहेको सीसी क्यामेरा हेर्दै गर्दा विद्यार्थी तोडफोडमा उत्रिएको उनले बताए ।

सुझाव दिंदा समस्या थपियो

पीडित छात्रालाई कुनै युवकले अश्लिल तस्वीर र भिडियो पठाएर ब्ल्याक मेल गरिरहेको र उक्त युवकसँग छुटकारा पाउन र कानुनी कारवाही अगाडि बढाउँन सुझाव दिंदा शिक्षकलाई उल्टी आरोप लगाइएको ति शिक्षकले बताएको विद्यालय प्रशासनले जनाएको छ ।

छात्राले कम्प्युटर शिक्षक कपिल घिमिरेसँग घटना बारे जानकारी गराएको र उक्त शिक्षकले सोही बारेमा सल्लाह गर्न कम्प्युटर ल्याबमा लैजाँदा उल्टो आरोप लागेको आरोपित शिक्षकले बताएको विद्यालयका प्रधानाध्यापक चुणामणि कंडेलले बताए ।

छात्राको म्यासेन्जरमा आएको फोटो भिडियो हेर्ने क्रममा युवतीकै मोबाइलमा अश्लिल भिडियो देखिएको तर आफूले नियतबश अश्लिल भिडियो नदेखाएको शिक्षक घिमिरेले आफूलाई बताएको प्रधानाध्यापक कंडेलले बताए ।

घटना २८ गते भए पनि आफूले उक्त घटनाको बारेमा ३० गते साँझ मात्र थाहा पाएको र तत्काल छलफल गराउनका लागि कहिले विद्यालय बन्द त छात्रा विद्यालय नआएको कारण छलफल ढिलो भएको तर आफूले नियतवश छलफल ढिलो नगराएको प्रधानाध्यापक कंडेलले बताए ।

घटनाका विषयमा स्थानीय राजनीतिक दल, संघ संस्थाले विज्ञप्ती जारी गरी शान्ती क्षेत्रमा भएको घटनाको भत्र्सना गरेका छन् भने दोषीलाई कारवाहीको माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width