कालोपत्रेमा ठेकेदारको लापरबाही

साधन राम्जाली
वैशाख ४, २०७९
sadak kalopatrema laparbahi 1

म्याग्दी । बेनी बजारमा गरिएको सडक कालोपत्रेमा ठेकेदारले लापरबाही गरेको खुलासा भएको छ । बेनी वडा ७ स्थित सडकको कालोपत्रेको गुणस्तर परीक्षण गर्दा मापदण्डअनुसार नभएको र ठेकेदारको लापरबाही पुष्टि भएको हो ।

बेनी नगरपालिका कार्यालयले गरेको अनुगमन तथा जाँचक्रममा उक्त सडक कालोपत्रेको काम सम्झौतामा उल्लेख भएअनुसार नभएको पाइएको हो । कालोपत्रे गर्दा ठेकेदारले लापरबाही गरेको नगरपालिकाका जनप्रतिनिधि र प्राविधिक सहितको संयुक्त अनुगमन टोलीले ठहर गरेको छ ।

उपमेयर सञ्जु बरुवाल, सूचना अधिकारी अधिकृत युवराज थापा, इ. बिमलरञ्जन कार्की, वडा अध्यक्ष रोजेन्द्रकुमार श्रेष्ठ लगायतको टोलीले सडकको परीक्षण गरेको थियो । कोट कटर मेसिन प्रयोग गरी कालोपत्रे गहिराइ (ठिग्नेस ) मापन गरिएको थियो ।

छुट्टाछुट्टै ३ ठाउँमा गरिएको परीक्षणमा कालोपत्रे बाक्लोपन १३, १३.५ र १५ एमएम भएको देखिएको छ । तर मापदण्ड अनुसार २० एमएम हुनुपर्ने इ. कार्कीले बताए । ‘मापदण्ड अनुसार कालोपत्रे गरेको देखिएन,’ उनले भने, ‘कमसल काम गर्ने ठेकेदारको रकम कट्टा गरिन्छ ।’

कालोपत्रे गर्दा ठेकेदारले लापरबाही गरेको नगरपालिकाका जनप्रतिनिधि र प्राविधिक सहितको संयुक्त अनुगमन टोलीले ठहर गरेको हो

सडक कालोपत्रे लागि गुणस्तरीयता तथा सम्झौता अनुसारको मापदण्डलाई ध्यान दिन सुझाव स्वरुप निर्माण कम्पनीलाई ध्यानाकर्षणका लागि पत्राचार गरिएको उनको भनाइ छ । सडक कालोपत्रे हुनुपूर्व पर्याप्त सरसफाइ नगरिएको, चिप्सको प्रयोग नगरिएको, आकार बराबर नमिलाइएको, कम गुणस्तरमा काम भइरहेको पाइएकाले बाँकी काममा यस्तो गल्ती नगर्न सुझाइएको बेनी नगरपालिकाका सूचना अधिकारी थापाले बताए ।

यता, ठेकेदार कम्पनी रामकृष्ण कन्ट्रक्सनका संचालक प्रदीप सापकोटाले आफूसँग दक्ष प्राविधिक नभएको र नगरपालिकाबाट पनि काममा पर्याप्त प्राविधिक सहयोग नपाएकाले कमजोरी भएको हुन सक्ने बताए । सडकमा कतै उकालो र कतै ओरालो भएकाले कालोपत्रे बाक्लो र पातलो भएको सापकोटाको भनाइ छ ।

बेनी वडा ७ बाट विनियोजित २१ लाखको बजेटमा सामुदायिक चोकदेखि वीरेन्द्रचोक हुँदै प्रहरी कार्यालय अगाडिसम्म र बालमन्दिरचोकदेखि बैंकरोडसम्मको सडकमा कालोपत्रे भइरहेको छ । त्यस्तै वडा ८ को १६ लाख बजेटबाट न्युरोड र गणेशटोल क्षेत्रको सडकमा खाल्डाखुल्डी पुर्ने गरी मर्मतको जिम्मा रामकृष्ण कन्ट्रक्सनले लिएको छ ।

गएको चैत मसान्तसम्म सक्नुपर्नेमा हालसम्म करिब ३० मात्रै निर्माण पूरा भएको छ । म्याद थपका लागि निवेदन दिएको संचालक सापकोटाले बताए । सम्झौतामा उल्लेख भएअनुसारको मापदण्डमा रहेर काम सम्पन्न नभए पूरा भुक्तानी दिन नसकिने नगरपालिकाले जनाएको छ । यसभन्दा अघिल्ला वर्षमा पनि कमसल काम हुने गरेकाले बेनी बजारको कालोपत्रे २/४ महिनामै उप्किने गरेको छ । सरोकारवाला पक्षको निगरानी र खबरदारी नहुँदा बेनीको कालोपत्रे नाममात्रैको हुने गरेको र चाँडै उप्किने समस्या रहेको स्थानीयवासी बताउँछन् । कालोपत्रे धेरै समय नटिकेका कारण सडक खाल्डाखुल्डी पर्ने र धुलो उड्ने समस्याबाट बजारबासी आजित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width