पोखरा । पोखरा २२, पुम्दीकोटमा निर्माण गरिएको विशाल शिव मूर्ति परिसरमा आयोजना हुने शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सव–२०७९ को तयारी पूरा भएको छ ।
वैशाख ४ देखि १२ सम्म संचालन हुने महोत्सवबाट संकलित रकमले यहाँको बाँकी निर्माणकार्य सम्पन्न गर्ने र ३ करोड ७५ लाख रुपैयाँ ऋण तिर्ने योजना रहेको शुक्रबार पुम्दीकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक पुम्दीकोट विकास समिति तथा महायज्ञ मूल समिति अध्यक्ष चन्द्रकान्त बरालले २० करोड लागत अनुमान गरिएको परियोजना विस्तारित भई ४० करोड रुपैयाँको पुगेको र उल्लेखित २० करोड रुपयाँ खर्च भई ऋण लागेको जानकारी दिए ।
महोत्सवबाट ६ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य समितिको रहेको उनले बताए । कार्यक्रमका लागि ७० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । हालसम्म ५१ फिट अग्लो महादेव मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, गंगापोखरी, १०८ स्वर्गद्वारी सिंढी, १०८ धारा जडित तेस्रो आँखा, २१६ शिवलिंग, शिवताण्डव नृत्य हल र ध्यान केन्द्र निर्माण भइसकेका छन् । यसैगरी, मोनोरेलबाट गणेश परिक्रमा, फूलमाला बिक्रीका लागि ४१ सटर, कम्पाउन्ड वाल, २ सय मिटर पहुँच मार्ग र प्रशासकीय भवन पनि निर्माण गरिएको छ ।
महोत्सवबाट ६ करोड रुपैयाँ संकलन गर्ने आयोजकको लक्ष्य छ
महोत्सव उद्घाटन अवसरमा विशाल महादेव मूर्ति पनि उद्घाटन गर्ने कार्यक्रम रहेको समिति उपाध्यक्ष हिमलाल बरालले जानकारी दिए । जगतगुरु शंकराचार्य नरेन्द्रनन्द सरस्वती महाराजबाट सो उद्घाटन सम्पन्न हुने छ । उनी उत्तर प्रदेशस्थित काशी सुमेरुका पीठाधेश्वर हुन् । महोत्सव अवसरमा आयोजना हुने महायज्ञमा विराट धनधान्य महापर्व, संगीतमय भजनकीर्तन, कलश यात्रा, ग्रहशान्ति, भूमि दान, कर्ता बस्ने, तुलादान र लाख बत्ती बाल्ने जस्ता कार्यक्रम समेटिने छन् । यसैगरी प्रत्येक दिन बिहान ७ देखि ८ बजेसम्म पाठपारायण र १० देखि ४ बजेसम्म कथा प्रवचन झाँकी आयोजना गरिने छ । छोरेपाटनदेखि पुम्दिकोट पुग्न निशुल्क बसको व्यवस्था समेत गरिएको समितिले जनाएको छ ।
सहयोगदातालाई गरिने सम्मानका प्रावधान समेत समितिले सार्वजनिक गरिसकेको छ । महायज्ञमा भागवत्भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने छन् । महोत्सव सम्पन्न गर्न १००८ सदस्य रहेको मूल आयोजक समिति र ३८ विभिन्न उपसमिति गठन गरिएको छ ।
समृद्धि, विकास र रोजगारीको दीर्घकालीन लक्ष्यसहित आयोजित महोत्सवले ऐतिहासिक एवं धार्मिक महत्वको पुम्दीभुम्दी क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य बोकेको छ । पुम्दीकोट क्षेत्रलाई भूमेश्वर कैलाशधामरुपमा विकास गर्ने मुख्य योजना समितिको रहेको छ । ५ वर्ष अगाडि २०७३ फागुन ३ देखि १३ सम्म पनि उक्त स्थानमा शिव महापुराण तथा ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव–२०७३ आयोजना गरिएको थियो । सो अवसरमा करिब २० रोपनी जग्गा र ६ करोड २८ लाख रुपैयाँ दान प्राप्त भएको थियो ।
समिति अध्यक्ष चन्द्रकान्त बरालले विस्तारित परियोजनाअन्तर्गत अब नजिकैको अर्को डाँडोलाई सुमेरु पर्वत घोषणा गरी कुमार र पार्वतीको मूर्ति स्थापना गर्ने, भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म विद्युतीय चेयरकार निर्माण गर्ने, हरियाली पार्क स्थापना र पार्किङस्थलको व्यवस्था गर्ने जस्ता योजना रहेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१