जुनी फेर्दै यातायात : ढड्डा छाडेर डिजिटल

धनबहादुर गुरुङ
वैशाख २, २०७९
Yatayat Photo 1

पोखरा । पोखरा १६ का कृष्ण गायक यातायात कार्यालयको झ्याल चहार्दा चहार्दै दिक्क थिए । यातायातमा सेवाग्राहीको भिड हुन्छ, उनले सुनेका हुन् । तर यो भीड र अनावश्यक सास्ती पहिलो पटक ब्यहोरे । यातायात कार्यालयको तनाव सुनेपछि बेलैमा काम सक्न विहानै पुगेका उनी १ बजेसम्म कोठा चहार्दै बेफुर्सदी भए । काम थियो, स्कुटरको ब्लु बुक नवीकरण । तर कार्यालयका ४ झ्याल चियाउनुपर्ने, बिमा गर्न बाहिर जानुपर्ने, घन्टौंसम्म पालो कुर्नुपर्ने लगायत झन्झटले दिक्क देखिन्थे गायक । केही समयका लागि अफिसबाट हिंडेका उनको ब्लु बुक नवीकरणको सामान्य काममै दिन बित्यो । ‘बिहानै आएको हो । उतिबेलै सय डेढ सयको लाइन थियो । उहाँहरुले काम गरिरहनुभएको छ तर के कारणले हो साह्रै ढिला भयो,’ उकुसमुकुस हुँदै उनले भने ।

बिचौलियाको हानथाप । बैंकमा पैसा तिर्ने लाइन । बिमामा उस्तै भीड, कागजात मिलाउने लाइन । उनको अनुभवमा यातायात कार्यालयको ढिलासुस्तीका मुख्य कारण यिनै हुन् । कार्यालयले अनलाइन सिस्टम बनाइदिए आफुजस्ता सबै सेवाग्राहीलाई सहज हुने उनी बताउँछन् । काम छिटो गरिदिने भन्दै पैसा लिएर चिनेजानेकाले काम गरिदिन्छन् । यातायात कार्यालयमा चाहिनेभन्दा बढी पैसा लिने गेट बाहिर बस्छन् । दिनभरीमा काम सिध्याउन पनि विचौलियालाई पैसा तिर्नैपर्ने सेवाग्राहीहरुको गुनासो छ ।

प्रदेश सरकारको सबैभन्दा राम्रो आम्दानीको श्रोत यातायात हो । हरेक वर्ष गण्डकीले डेढ अर्ब भन्दा बढी राजश्व यातायातबाट संकलन गर्छ । गण्डकीका यातायात कार्यालयमा दैनिक २ सय हाराहारी सेवाग्राही पुग्छन् । ग्राहकको घुइँचो थेग्न नसकेपछि लाइसेन्स र सवारी दर्ता नवीकणको कार्यालय छुट्टाछुट्टै बनाईएको छ । यति गर्दा पनि भीड घटेको छैन । पोखरा र बागलुङबाट मात्रै यातायात व्यवस्थाको काम हुँदै आएकोमा अहिले नवलपुर, तनहुँ, गोरखा, स्याङजा र लम्जुङमा कार्यालय थपिएका छन् ।

हाइलाइट्सः ग्राहकको गुनासो हटाउन ५६ लाख ६० हजार पेज स्क्यानिङ

कार्यालय बढाउँदा समेत भीड नघटेपछि यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट सेवा दिने सुर कसेको छ । कास्कीमा अहिले आफ्ना सेवालाई डिजिटल बनाउने गरी काम अघि बढेको छ । यसका लागि कार्यालयले पुराना फाइल स्क्यानिङको काम गरिरहेको छ । उक्त कार्यालयमा ५६ लाख ६० हजार पेजको स्क्यानिङको काम चलिरहेको कार्यालय प्रमुख डिल्लीराम रिजालले जानकारी दिए । ‘हाम्रो कार्यालयमा अहिलेसम्म दुई र चारपांग्रे गरेर २ लाख ८५ हजार सवारी दर्ता छन् । यिनका ३ हजार जति ढड्डा छन् । त्यसका लगभग ३ लाख जति पेज हुन्छ,’ उनले भने, ‘३ लाख जतिको कम्तीमा १५ पेज गर्दा पनि ५६ लाख ६० हजार पेज स्क्यानिङ गर्नुपर्छ । त्यही काम सुरु भएको छ ।’

पुरानै प्रक्रिया अनुसार सेवा प्रवाह हुँदा सेवाग्राहीलाई झन्झट हुने र सबैको पहुँच नपुग्ने जस्ता समस्याले सेवाग्राहीको लागत र समय घटाउन प्रविधिमैत्री कार्यालय निर्माणको अभियान थालिएको रिजाल बताउँछन् । पुरानो ढर्राबाट सेवा दिंदा बिचौलिया सल्बलाउने ठाउँ पाउने हुँदा कार्यालय चनाखो भएको उनको भनाई छ । ‘जनताका समस्या र गुनासा कम गर्न भइरहेका सेवालाई सरल, सहज र व्यवस्थित बनाउनुपर्छ भनेर लागेका छौं,’ उनले भने, ‘यसमा हामीले लाइनलाई व्यवस्थित गर्ने, हाम्रो सफ्टवेयर सिस्टम विकास गर्ने र अनलाइन मार्फत नै सेवा सुरु गर्न लागेका छौं ।’ स्क्यान फाइल ट्रान्सफर म्यानेज्मेन्ट इन्फर्मेसन सिस्टम सफ्टवयर बनाएर डाटा इन्ट्री गर्ने योजना कार्यालयले बनाएको छ ।

‘पहिला सबै पुराना काम डिजिटल प्रणालीमा लैजाने त्यसपछि कम्प्युटर माध्यमबाटै नामसारी, सवारी दर्ता गर्ने काम हुन्छ,’ रिजाल भन्छन्, ‘त्यसपछि ब्लु बुक नवीकरण गर्ने र कर तिर्ने काम पनि घरमै बसेर तिर्न मिल्ने गरी सिस्टम बनाउछौं । यातायात मन्त्री कुमार खड्काले सस्तोमा घरबाटै सेवा दिने कार्यालयलाई अनलाइन सिस्टममा परिणत गर्न लागेको बताए । ‘सबैभन्दा राम्रो आम्दानीको श्रोत यही हो । तर यही कार्यालयको बेहाल छ,’ उनी भन्छन्, ‘नागरिकहरु कर तिर्न लाइन बस्नुपर्ने अवस्था सामान्य होईन । यसमा ब्यापक सुधार गर्नुपर्ने जरुरी छ ।’ प्रदेश सरकारले यातायातको कामलाई प्रभावकारी बनाउन विहान बेलुका धेरै समय काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने कार्यविधि स्विकृत गरेको छ । सबै हिसावले ब्यवस्थित कार्यालय चलाउन सके एकै वर्षमा ५ अर्बभन्दा बढी राजश्व यही कार्यालयबाट निकाल्न सकिने सरकारको अनुमान छ ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width