पोखरा । उपभोग्य सामग्रीमा भएको चर्को मूल्यवृद्धिले उभोक्तामा छटपटी बढेको छ । सार्वजनिक यातायातको भाडादरमा समेत उल्लेख्य वृद्धि हुँदा यात्रुहरु मर्कामा परेका छन् । केही दिनको अन्तरालमा नै पेट्रोलियम पदार्थको भाउ पटक–पटक बढ्दा ढुवानी महंगिएको छ । गण्डकी सरकारले फागुन १ गतेदेखि लागू हुने गरि २३ प्रतिशतसम्म गाडी भाडा बढाएको थियो । त्यसपछि पनि दैनिक पेट्रोलियम पदार्थको मुल्यमा भारी बृद्धी भएपछि व्यवसायी आफैले भाडा बढाएर असुल्न थालेका छन् । तत्कालीन समयमा प्रदेशले लामो दूरीको बसमा २३.५१ प्रतिशतले भाडा बढाइएको थियो । नगर बसमा २२.५५ प्रतिशत, ट्रकमा १४.५७ र जिपमा ५.५० प्रतिशत भाडा वृद्धि गरिएको तथ्यांक देखाएपनि अहिले उक्त तथ्यांक भन्दा निकै माथीको भाडा लिईएको छ । ट्याक्सी भाडा समेत उस्तै महंगो भएको छ । ‘अहिलेको अवस्था युक्रेन–रुस युद्धका कारण आएको हो । यो लामो समय जाँदैन भनेर गाडीधनीहरुलाई भनेका छौं । तर यहि अवस्था अझै केहि महिना रहिरहे भाडा बढाउनैपर्ने बाध्यता रहन्छ,’ भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले भने, ‘अहिले उनीहरुलाई त्याग गरिदिनुस् भनेका छौं । मान्नुभएको छ ।’
डिजल र पेट्रोलको भाउ बढ्दा निजी सवारी चलाउनेहरु पनि उत्तिकै मर्कामा परेका छन् । संघीय सरकारले पनि २८ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय पहिला नै गरिसकेको हो । संघ सरकारले सुरुमा २८ प्रतिशतसम्म भाडा बढाएर अहिले पुनः १५ प्रतिशत बृद्धी गरेको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको छ । एकोहोरो र अस्वभाविक मूल्यवृद्धि हुँदा समेत बजार अनुमगमन प्रभावकारी हुन नसकेको उपभोक्ताहरुको गुनासो छ । पोखरा माटेपानीकी काशी गुरुङले हरेक सामानको मूल्य बढ्दा खानबस्न नै समस्या परेको गुनासो गरिन् । ‘खाने तेलको भाउ छोइनसक्नु छ । बजारमा जाँदा जे हेर्यो त्यही महंगो छ,’ उनले भनिन्, ‘यो सरकारले नै बढाएको हो कि व्यवसायीले आफुँखुशी मुल्य राखेका हुन् ? अनुगमन किन भैरहेको छैन ?’ उनले स्कुलमा बालबालिकाको पढाई खर्च समेत अस्वभाविक रुपमा बढेको बताईन् ।
पछिल्ला केही हप्तादेखि बजारमा मुख्य गरी खाने तेलको अस्वभाविक मूल्य बढेको छ । यसै गरी तरकारी, खाद्यन्न तथा यातायात भाडामा समेत ठूलो अन्तरले मूल्य बढ्दा आम उपभोक्ता समस्यामा परेका छन् । खाने तेलमा प्रतिलिटर ६० देखि ७० रुपैयाँ सम्म मूल्यवृद्धि भएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । उपभोक्ताबाट गुनासो आएपछि तेलमा मात्र पछिल्लो क्रममा पाँच पटकसम्म बजार अनुमगन गरिएको उनको भनाई छ । ‘तोरी, फूल र गेडागुडीबाट बन्ने सबै प्रकारका तेलमा मूल्य वृद्धि भएको पाइयो’, उनले भने । उद्योगबाट प्रिन्ट भएर आएको न्यूनतम खुद्रा मूल्य नै महंगो गरी उल्लेख भएर आएको पनि उनले सुनाए । ‘उद्योगलाई महंगो मूल्य प्रिन्ट गर्ने अधिकार कसले दियो,’ उनी भन्छन्, ‘वाणिज्य विभागले त्यस्ता उद्योगहरुलाई कारवाही गर्नुपर्छ ।’
उद्योगीहरुले भने कच्चा पदार्थ नै महंगो भएकोले तेलको मुल्य बढाएर पठाउनुपरेको बताएका छन् । युक्रेन–रसिया युद्ध र मलेसियामा कच्चा पदार्थको मूल्य वृद्धि हुँदा खाने तेलको मूल्य बढेको बताईएको छ । राष्ट्र बैंकका अनुसार २०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्य क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत बढेको छ । यस्तै, गैर खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले बजार अनुमगमनको काम नछोडिएको बताए । ‘बजारमा खाना पकाउने ग्याँसको अभाव देखिएको छ । अनुगमन तीब्र पारेका छौं । ब्यवसायीले किनेको र बेचेको मुल्यमा खासै अन्तर छैन,’ उनी भन्छन् । बजार अनुगमनबाट कालोबजारी गर्नेहरु भने कारबाहीमा परेको समाचार कसैले सुनेका छैनन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८÷०७९ को पछिल्लो आठ महिनाको तथ्यांकमा फागुन महिनामा मात्र वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशतले बढेको उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा भने त्यस्तो मुद्रास्फीति जम्मा ३.०३ प्रतिशत मात्र रहेको देखाइएको छ । सोही अवधीमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको पाइएको छ ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१