पोखरा । पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने समाचार मंगलबार संचारमाध्यममा धेरै आयो । त्यसले पोखरामा तरंग फैलियो । रातारात जिल्ला सभापति किशोरदत्त बरालसहित जिल्ला र केन्द्रीयस्तरका नेता काठमाडौं पुगे । बुधबार कांग्रेस पदाधिकारी भेटेर कुनै हालतमा मेयर अरु पार्टीलाई दिन नहुने खबर सुनाए । उनीहरुले अहिलेको भोटको अवस्था र गठबन्धनभित्रको परिस्थितिबारे जानकारी गराए ।
‘पोखरा गुमाउने वित्तिकै आउने चुनाव जित्न सकिंदैन । संघ र प्रदेश पनि गुमाउँछौं ।
अरु महानगर भन्दा पोखरालाई पृथक रुपमा हेरिदिनुस् भन्ने नेताहरुलाई हाम्रो विशेष आग्रह छ,’ बरालले भने, ‘अहिले पोखरा छोड्ने वित्तिकै त्यसको प्रभाव गण्डकी प्रदेशभरि पर्छ । आममान्छेहरु गठबन्धनका कारण निराश बनेका छन् ।’ उनले मतदातालाई निराश पारेर चुनावमा जान नसकिने बताए । ‘निराशामा नागरिकलाई राखेर चुनावमा जान निकै समस्या हुन्छ । हजुरहरुले पोखरालाई विशेष रुपमा सोचिदिनोस्,’ उनले अघि थपे, ‘हामी गठबन्धनको बाध्यता बुझ्छौं तर कास्कीमा समाजवादी र माओवादीलाई कांग्रेससँग मिलेर चुनाव जित्ने ठूलो भ्रम छ तर उहाँहरुले पोखरा जित्ने सम्भावना छैन ।’
एमालेबाट फुटेको एकीकृत समाजवादीसँग मुस्किलले ५ हजार भोट रहेको कास्की कांग्रेसको रिपोर्टिङ छ । २०७४ को चुनावमा विविध परिस्थितिले हारेको भन्दै नेताहरुले अहिले कांग्रेस निकै बलियो भएर आएको बताए । ‘अहिले संगठन राम्रो छ । चुनाव जितिन्छ । हाम्रो विश्वासलाई ठेस नपु¥याइदिनुस्,’ बराल भन्छन्, ‘यदी हाम्रो कुरा बेवास्ता गरे हामीले थेग्न नसक्ने अवस्था हुन सक्छ । यति भन्दाभन्दै माओवादी र समाजवादीलाई टिकट दिनुभयो भने हामीमाथि प्रश्न गर्न पाउनु हुन्न । जिल्लाका साथीहरुलाई दोष लगाउन पाउनुहुन्न ।’ गठबन्धन गर्नै परे उपमेयर र केही वडाध्यक्ष दिएर मेयर पद कांग्रेसले लिनुपर्ने नेताहरुको सुझाव छ ।
सभापति शेरबहादुर देउवाले अहिलेसम्म महानगरको टुंगो नलागेको बताए । ‘महानगरबारे छलफल भएकै छैन । तपाईंहरु बुझ्दै नबुझी आउनुभयो,’ उनले भने, ‘हामी छलफल गर्दै छौं । निर्णय भएको छैन । ढुक्क हुनुस् ।’ उनले प्रतिनिधिहरुसँग पोखरा जित्ने आधार मागेका थिए । ‘गठबन्धन गर्नु हुँदैन भन्नुहुन्छ । चुनाव कसरी जित्न सकिन्छ त ?,’ उनले भने, ‘कांग्रेसले मेयर पाए कसलाई टिकट दिने ? सहमतिमा उम्मेदवार खोज्न सक्नुहुन्छ ?’
उपसभापति पूर्णबहादुर खड्काले पनि महानगर बाँडफाँट नभएको बताए । ‘कहाँ के हुन्छ म भन्न सक्दिनँ । तपाईंहरुको दावा बेठिक छैन । कुन कहाँ कसलाई पर्छ भन्ने कुरा निर्णय प्रक्रियामा बस्ने मान्छे निर्णय दिँदा राम्रो हुन्न नि,’ उनले भने, ‘भ्रममा नपर्नुस्, हामी एक्लै लड्छौं भन्यौं भने समस्या पर्छ । एक्लाएक्लै चुनाव लड्ने अवस्था भएको भए बहसै गर्नुपर्ने थिएन ।’ उनले तत्कालै जिल्ला फर्केर मतदाता सम्हाल्न आग्रह गरे । ‘आफ्ना कुरा राख्नुभयो, नेताहरुलाई भेट्नुस् र फर्किहाल्नुस् । काठमाडौंमा नभुल्नुस्,’ उनले थपे, ‘तपाईंहरु यता आएको बेला एमाले घरघरै पस्छ, झन् गाह्रो हुन्छ ।’
कांग्रेस महामन्त्री गगनकुमार थापाले एकीकृत समाजवादीले पोखरा निकै जोडका साथ दाबी गरिरहेको बताए । ‘हाम्रो पार्टीमा औपचारिक रुपमा कुनै छलफल भएको छैन । माधव नेपालले पोखरा पाउनेमा पूर्ण विश्वस्त हुनुहुन्छ । जसरी पनि लिएरै छाड्ने अवस्थामा हुनुहुन्छ,’ उनी भन्छन्, ‘३ वटा हामी लिने र अरु ३ वटा तपाईंहरु लिनुस् भन्दा पोखरामा माग्नु स्वभाविक हो । अब तपाईंहरुको (प्रतिनिधिमण्डलको) दबाब पुग्यो भने उल्टेला नत्र उल्टिँदैन । एकीकृत समाजवादीले मेयर लिन्छ ।’
केन्द्रीय सदस्य शेखर कोइरालाले पोखरा कांग्रेसले जित्न सक्ने भन्दै देउवालाई कन्भिन्स गर्न प्रतिनिधिसँग आग्रह गरेका थिए । ‘हामीले बुझ्यौं । सभापतिज्यूले बुझ्ने गरी भन्नुस् । यस्तो इम्प्रेसन दिनुपर्यो कि, साँच्चिकै पोखरा कांग्रेसले छोड्न नहुने रहेछ भन्ने देखिनु प¥यो,’ उनले भने, ‘कांग्रेसको भोटर क्याडर छैन । हामीले भनेर भोट हाल्दैन । कम्युनिष्टले ५ प्रतिशत जतिले हाल्यो भने हाल्छ नत्र हाल्दैन । हामीहरुको त मासवाला भोट हो ।’ बुधबार बिहानै देउवालाई भेट्न बालुवाटार पुगेका कस्केली कांग्रेसलाई १२ बजेसम्म भेट नदिएपछि पार्टी कार्यालय सानेपामा बैठक भएको थियो ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१