मुस्ताङमा उत्कृष्ट कृषक र विद्यार्थीको सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७८
mustang

पोखरा । ओमविकास गौचन र देउकुमारी गौचन स्मृति प्रतिष्ठानले मुस्ताङका गाउँपालिकाका उत्कृष्ट कृषक र विद्यार्थीलाई सम्मान गरेर १६ औं स्मृति सभा सम्पन्न भएको छ । कोवाङ २, खन्तीमा रहेको ओम विकास गौचनको सालिकमा संविधानसभा सदस्य श्रीमाया थकालीले माल्यार्पण गरी सुरु भएको स्मृति सभामा थकालीले स्व. गौचनको राजनीति र सामाजिक क्षेत्रको चर्चा गरिन् ।

गौचन शिक्षाका प्रेरक, कृषिकर्मका प्रेरक, राजनीतिक अगुवा भएको र उनले समाज पुर्‍याएको योगदान अतुलनीय रहेको उनको भनाइ थियो । घरपझोङका अध्यक्ष आशबहादुर थकालीले समाजलाई योगदान दिने ब्यक्ति भौतिक रुपमा नभए पनि उनका कर्मले सदा जीवित रहने बताउँदै गौचनको योगदानको स्मरण गरे । थासाङकी उपाध्यक्ष बालकुमारी शेरचनले प्रतिष्ठानले शिक्षा, स्वास्थ र कृषिलाई प्राथमिकता दिंदै यस क्षेत्रको विकासमा योगदान पु¥याएको बताइन् ।

सम्मानित हुने कृषकमा थासाङका नीरज तुलाचन, घरपझोङकी पूर्णकुमारी थकाली, बारागुङ मुक्तिक्षेत्रका न्हुन्यु गुरुङ, लोघेघरका सोनान दुन्दुप गुरुङ हुन् । उनीहरुलाई कृषि औजार सामग्री र सम्मानपत्रले सम्मान गरिएको हो । यस्तै, उत्कृष्ट छात्रा ज्ञानोदय माविका सुवास्ना गौचन, छात्रतर्फ जनहित माविका कृष शेरचन र दलित विद्यार्थीतर्फ जनहितकै सुरिता बिकलाई जनही १० हजारसहित सम्मान गरिएको थियो ।

प्रतिष्ठान अध्यक्ष सवि शेरचनले आफ्नो बुबाआमाले पु¥याएको योगदान चिरस्थायी बनाउन प्रतिष्ठानमार्फत सामाजिक कार्यलाई निरन्तरता दिंदै आएको बताइन् । गौचन दम्पतीको २०६२ चैत ३० मा सौरु गाउँको आफनै घरमा हत्या भएको थियो ।

यसैबीच, प्रतिष्ठानले थासाङ गाउँपालिकाका महिलालाई नेतृत्व विकास तालिम दिएको छ । तालिमको सहजीकरण पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले गरेकी थिइन् । कार्यक्रममा प्रतिष्ठान वरिस्ठ उपाध्यक्ष रमेश भट्टचनले स्वागत र सचिव गौतम शेरचनले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width