पोखरामा एमालेःमेयरमा १२, उपमेयरमा ११ को आकांक्षा

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७८
Umls

पोखरा । पोखरा महानगरपालिकाको मेयर बन्नका लागि एमालेभित्र १२ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । मंगलबार एमाले पोखरा कमिटीको बैठकमा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मेयरका लागि प्रदेश सांसद कृष्ण थापा र राजीव पहारी, पोखरा १३ का अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्व अध्यक्ष दीपक पौडेल, केन्द्रीय सदस्य बालासिंह काउचा मगरले उम्मेदवारी दिए । यस्तै, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले पनि आन्तरिक उम्मेदवारी दिएका हुन् ।

यसअघि उपमेयर मन्जुदेवी गुरुङ पनि मेयर बन्ने चर्चा चुलिएको थियो । तर उनले मेयर र उपमेयर दुवै पदमा आकांक्षा देखाइनन् । एमालेबाट पोखराको उपमेयरमा ११ जनाले नाम टिपाएका छन् । पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेल, पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्य, नेताहरु वामदेव ढुंगाना, टीकाराम पंगेनी, देवका पहारी, एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, कास्की सचिव बैनबहादुर अधिकारी क्षेत्री, व्यवसायी सञ्जीवबहादुर कोइराला, हरिमाया गुरुङ, बलराम गायक र पत्रकार सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरेका हुन् ।

सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने भनिए पनि आकांक्षीहरु धेरै भएका कारण आन्तरिक प्रतिस्पर्धाबाट नाम सिफारिस गर्न लागिएको एमाले पोखराले जनाएको छ । उनीहरुबीच बुधबार मतदान हुनेछ । मेयर र उपमेयर दुवै पदमा २ जना पुरुष र १ जना महिलाको नाम सिफारिस हुने अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए । यसअघि २०७४ मा निकै फराकिलो मतान्तरले चुनाव जितेका मेयर र उपमेयर दुवैजना अहिलेको चुनावी रेसबाट बाहिर बसेका छन् । मेयर मानबहादुर जिसी स्वास्थ्य अवस्थाका कारण चुनाव लड्ने सोंचमा छैनन् ।

अघिल्लो चुनावमा पोखरा एमाले उम्मेदवारहरुले दुई तिहाइ वडा सहित चुनाव जितेको थियो । जिसीले कांग्रेस उम्मेदवार स्व. रामजी कुवँरलाई १३ हजार ७ सय २ मतान्तरले पराजित गरेका थिए । जिसीले ६० हजार १ सय १८ मत पाउँदा कँुवरले ४६ हजार ४ सय १६ मत पाएका थिए । उपमेयरमा पनि एमाले उम्मेदवार गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई १२ हजार १ सय १० मतान्तरले पराजित गरेकी हुन् । मन्जुले ५६ हजार ४ सय ४८ मत पाउँदा सरस्वतीले ४४ हजार ३ सय ३८ मत पाएकी थिइन् । यहाँका ११ वटा वडा कांग्रेसले अध्यक्ष जितेको हो भने एमालेले २२ वटामा निर्वाचन जितेको थियो । आउँदो निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारी सिफारिस समेत अन्तिम चरणमा पुगेको अध्यक्ष न्यौपानेले बताए । जिल्ला हुँदै वैशाख ४ गतेसम्म सबै नाम प्रदेश कमिटीमा पु¥याउनुपर्ने निर्देशन छ ।

रुपामा नवराज र लालसुब्बा दोहोरिने

एमालेले रुपा गाउँपालिकामा अहिलेकै अध्यक्ष र उपाध्यक्षलाई दोहो¥याउने भएको छ । मंगलबार भएको पालिका बैठकले अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङलाई सर्वसम्मत सिफारिस गरेको हो । अहिलेकै जनप्रतिनिधिको काम सन्तोषजनक रहेको र जित्न सक्ने भन्दै उनीहरूलाई नै दोहो¥याउने निर्णय गरिएको अध्यक्ष सहबक्स मियाँले जानकारी दिए । यहाँका वडा उम्मेदवारहरु समेत सर्वसम्मतबाटै टुंगिएका छन् । १ मा शिव खनाल, ३ मा दीपेन्द्र गौतम, ४ मा मुकुन्द वंशी, ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ र ७ मा कृष्ण सुवेदी वडाध्यक्षका लागि सिफारिस भएका छन् । २ नम्बर वडाको भने टुंगिन बाँकी छ । त्यहाँ ४ जना आकांक्षी भएपछि सहमति गर्न समस्या परेको हो । अरु पालिकामा बुधबारसम्म उम्मेदवार सिफारिस हुने बताइएको छ । आकांक्षीहरु धेरै भएका कारण मिलाउन सकस भएको छ । अघिल्लो चुनावमा कास्कीका ५ मध्ये अन्नपूर्णको अध्यक्षबाहेक सबै प्रमुख र उपप्रमुख एमालेले जितेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width