फेवा किनारमा नयाँ वर्ष महोत्सव

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७८
antim tayari

पोखरा । निशुल्क प्रवेशसहित खुला सडकमा बुधबारबाट लेकसाइडमा आयोजना हुने १७ औं फेवा नववर्ष महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक होटल संघ पोखराले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा सहभागी भई नयाँ वर्षलाई स्वागत गर्न आह्वान गरेको छ । दुई दिने महोत्सव वैशाख १ गतेसम्म चल्नेछ ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव संयोजक एवं आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । स्थानीय फिस्टेल गेटदेखि हल्लनचोक बीचको ३ किलोमिटर लामो सडकमा यो महोत्सव सञ्चालन हुनेछ । पर्यटन प्रबद्र्धन गर्दै कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्य पनि महोत्सवले लिएको छ । कोभिडकै कारण लगातार २ वर्ष स्थगित महोत्सवलाई पुन निरन्तरता दिन लागिएको हो ।

नेपालका मुख्य सहरमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । महोत्सवमा गीत संगीतअन्तर्गत चैत ३० गते ख्यातिप्राप्त कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रीति आले, शिवहरि ढुंगाना, सुरेन्द्र गुरुङ, सरला पाण्डे, गंगा पौडेल र सुमीना क्षेत्रीको प्रस्तुति रहनेछ ।

यसैगरी लाइभ ब्यान्डतर्फ दिनेश ढकालद्वारा गायन साथै स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ । नयाँ वर्षको दिन वैशाख १ गते प्रकाश दुतराज, सम्झना भण्डारी, तारापति सुवेदी, रामजी पौडेल, राजन कार्की, जीवन सिग्देल, टेक क्षेत्री, माया गुरुङ, लक्ष्मी नेपाली र तुलसा क्षेत्रीले मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको छ । यस दिन पनि लाइभ ब्यान्डको प्रस्तुति रहनेछ । महोत्सव उद्घाटनसँगै दोहोरी र अन्य कार्यक्रम सञ्चालन हुने र साँझपछि राति १२ बजेसम्म पप कन्सर्टका कार्यक्रम समेट्ने योजना संघको छ । दोस्रो तथा अन्तिम दिन पनि त्यसैगरी कार्यक्रम अगाडि बढ्नेछन् ।

महोत्सवका अवसरमा अम्बोट र सेन्टर प्वाइन्टमा स्टेज निर्माण गरी कार्यक्रमहरु सञ्चालन गरिने संघले जनाएको छ । महोत्सवको उद्घाटन अघि ड्यामसाइड र खहरेबाट सांस्कृतिक झाँकीसहितको ¥याली निकालिने छ । अन्नपूर्ण केबलकार प्रालि र गोर्खा ब्रुअरी महोत्सवको मुख्य प्रायोजक रहेका छन् भने नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुवेदीले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बिस्तारै बढ्न थालेको जानकारी दिए । होटलमा हाल २५ प्रतिशत हाराहारीको अकुपेन्सी रहेको र नयाँ वर्ष लक्षित होटलको बुकिङ ५० प्रतिशत पुगेको पनि उनले बताए । होटलको ट्यारिफमा ३० प्रतिशत छुटको घोषणा संघले यस अघि नै गरिसकेको छ । महोत्सवका अवसरमा रात्रिकालीन बस तथा ट्याक्सी सेवा उपलब्ध हुने जानकारी पनि संघले दिएको छ । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले पर्यटनमा बिस्तारै सुधार हुँदै गएको र गण्डकी प्रदेशका पोखरा बाहेक अन्य क्षेत्रमा समेत पर्यटकहरु पुग्ने क्रम देखिएको जानकारी दिए । कार्यक्रमको सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width