पोखरा । स्याङ्जाको फेदीखोला–४, शीतलादेवी राम्चे मन्दिरमा आयोजित चैतेदसैं मेला विविध कार्यक्रमसाथ सम्पन्न भएको छ ।
चैत्राष्टमी पर्व उपलक्ष्यमा शीतलादेवी राम्चे मन्दिर व्यवस्थापन समितिबाट मन्दिरमा पूजा अर्चनाका साथै दानदाताको सम्मान गरिएको थियो ।
कार्यक्रममा दाता तथा अक्षयकोष संस्थापक डब्लुओटु कर्णबहादुर गुरुङ, मन्दिरका पूर्व सदस्य ताराबहादुर विक, गौप्रसाद गुरुङ, डिल्लीराम शर्मा, कर्णबहादुर गुरुङ, अगन्धर पौडेल, देवीदत्त पौडेल, जीवनाथ पौडेल, तिलकराम पौडेल, रामलाल ढकाल र सन्तबहादुर गुरुङलाई सम्मान गरियो । प्रमुख अतिथि फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, मन्दिरका सल्लाहकार संयोजक मेजर दिलबहादुर गुरुङ, वडा अध्यक्ष माधवप्रसाद शर्मा सुवेदी, मन्दिरका अध्यक्ष राजकुमार ढकालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
गाउँपालिका अध्यक्ष सुवेदीले मन्दिर क्षेत्रको विकासका लागि सक्दो सहयोग हुँदै आएको बताए । मन्दिरका प्रमुख सल्लाहकार मेजर दिलबहादुर क्षत्रीले ठूलो वर्षाका कारण बाटो बिग्रिएकोले भक्तजनलाई असुविधा भएको र हेलिकोप्टरमा आउन लागेका भक्तजन पनि मन्दिर क्षेत्रमा दिनभर तुवालो लागेका कारण आउन नसकेको बताए ।
प्रतिकूल मौसमका बावजुद भक्तजन एवं दानदाताको उत्साहजनक सहभागिता रहेको मन्दिरका सदस्य तथा राम्चे सिद्ध टोल विकास संस्थाका अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिए ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजकुमार ढकालको अध्यक्षतामा भएको सम्मान कार्यक्रम उपाध्यक्षले स्वागत गरेका थिए ।
सो अवसरमा मन्दिर व्यवस्थापन समितितर्फबाट पञ्चवली चढाइएको थियो । शीतलादेवी दर्शनका लागि टाढाटाढासमेत मानिस आउँदा घुइँचो लागेको थियो ।
मन्दिरमा ७ जना पूजारी छन् । बडादसैं र चैतेदसैंबाहेक बाला चतुर्दशी, शिवरात्री र उधौली पूजामा पनि मेला लाग्ने गरेको पूजारी छविलाल पौडेलले बताए । अक्षय तृतीयामा त्यही नजिकको सिद्धथानमा पूजा हुने अर्का पूजारी वेदप्रसाद पौडेलको भनाइ छ ।
फेदिखोला ४, शीतलादेवी राम्चे मन्दिरमा चैतेदसैं अवसरमा मेला आयोजना गरियो
मन्दिर समिति सदस्य नारायण पौडेलका अनुसार यस पटक एक पञ्चवली बाहेक ८ बोका बलि चढाइएको थियो । केही वर्षअघि चैत्राष्टमीमा एक दिन ११ वटा पञ्चवलीसमेत आएको स्मरण गर्दै पूर्व सदस्य अगन्धर पौडेलले अचेल पशुबलि घट्दै गएको र नरिबलको बली दिनेको संख्या बढ्दै गएको जानकारी दिए ।
शीतलादेवी मन्दिरको इतिहास सय वर्षभन्दा बढी पुरानो छ । विसं १९६० मा मन्दिर स्थापना भएको अनुमान छ । त्यतिबेला पशुपालन गर्दै आएका गलेमका लामिछानेहरुले राम्चेको लेकमा चरनका लागि पशुहरु छाड्ने गर्थे । जंगली जीवजन्तुको आक्रमणबाट पशुहरु धेरै मर्न थालेपछि सुरक्षाको लागि राम्चेको टाकुरामा देवीको स्थापना गरी पूजा अर्चना हुँदै आएको स्थानीय बताउँछन् ।
शीतलादेवी दर्शनले रोगव्याधबाट मुक्ति तथा आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रही आएको छ । चाडपर्वमा दर्शनका लागि भाकलसहित भक्तजन पनि जान थालेपछि २ ठूला रुखको फेदमा राखिएको मूर्तिलाई गलेम निवासी मनलाल तथा तिलसुवा गुरुङले २०३४ सालमा नजिकै मन्दिर निर्माण गरिदिए पछि देवीको महिमा अरु बढ्दै गर्यो । त्यसपछि मन्दिरको वरपर सत्तल ठाँटीहरु निर्माण भए । पक्की सिंढी, प्रवेशद्वार, चौतारा र भलिबल मैदान निर्माण भयो ।
२०७० सालमा शीतलादेवीस्थान राम्चे फूलबारीको ठाँटी बन्यो । सो ठाँटीको पछाडि व्यवस्थित शौचालय पनि बनेको छ । स्व.वखतबहादुर र कन्याकुमारी (गौरा) गुरुङको स्मृतिमा उनीहरुको परिवारबाट सो ठाँटी निर्माण भएको थियो । गत वर्ष सो ठाँटी अगाडि हेलिप्याडसमेत निर्माण भई हेलिकोप्टरमा आउन चाहने भक्तजनका लागि समेत सुविधा भएको छ । पर्खालले घेरिएको ठाँटी वरपर टेन्ट राखी रातमा बसी दाउरा बालेर क्याम्पिङ फायर गर्न तथा भोजभतेर गर्न सकिन्छ ।
२०६८ सालमा सु.मे. बेलबहादुर र तीलकुमारी गुरुङले मूलगेट अगाडिको बाटो बनाइदिए । २०३५ सालमा आफ्ना पूर्वजबाट निर्मित ठाँटीलाई भूपू प्रनि अम्बरबहादुर क्षत्रीले गत वर्ष पुनःनिर्माण गरिदिए । यसअघि गलेम उपल्लोथरका बखतबहादुर गुरुङले निर्माण गरेको ५८ मिटरको सिंढी रेलिङसहित राखी उनको साहिंलो हाँगोतर्फका सन्ततिले २०७४ सालमा पुनः निर्माण गरेका थिए ।
यसैगरी, विभिन्न दानदाताले पोखरी तथा चौतारी निर्माण गरिदिएका छन् । स्याङ्जा, पर्वत र कास्कीका विभिन्न स्थान अवलोकन गर्न सकिने राम्चेको देवीस्थान पर्यटकीयस्थल पनि हो । प्रसिद्ध पञ्चासे क्षेत्रकै एक भागको रुपमा रहेको राम्चे जैविक विविधताले पनि महत्वपूर्ण छ । यहाँ लालीगुराँसको र निगालोलगायतको वन रहेको छ । साथै विभिन्न जातका पंक्षी तथा जंगली जनावर पनि देख्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१