डुंगाले धानेको जीवन

विजय नेपाल
चैत्र २८, २०७८
fewa

पोखरा । फेवातालका डुंगाचालकको जीवनको जहाजरुपी डुंगा २ वर्षअघि चुर्लुम्म डुबे । विश्वभर महामारी रुपमा फैलिएको कोरोनाका कारण काम पाएनन् । ती डुंगा लामो समयसम्म फलामे साङ्लोले बाँधिएर यात्रु पर्खाइमा ताल किनारमा बसिरहे । तर अचेल परिस्थिति फेरिंदो छ ।

फेवाकिनारका बुद्धि परियारले डुंगा खियाउन थालेको २ दशक बित्यो । दिनभर डुंगा खियाउने र साँझ घर फर्किंदा ५ सय देखि १ हजार कमाइले हातमुख जोनु उनको अहिलेको दैनिकी हो । उनीजस्तै करिब ३ सय जना मजदुरको फेवाको डुंगाकै भरमा जीवन अडेको छ ।

‘अचेल काम पाइएको छ,’ डुंगा खियाएर यात्रुलाई तालबीचको तालवाराही मन्दिर लैजाँदै गर्दा बुद्धिको मुहार हँसिलो देखिन्थ्यो । उनले अगाडि भने, ‘कोरोनाको बेला हामीलाई त यात्रु पाउनै मुस्किल भयो नि ! महिनौंसम्म त लकडाउनले घरै बसियो । कोरोना कम भएपछि केही महिना भो मानिस घुम्न आउन थालेका छन् ।’

हुन पनि हो, २ वर्षसम्म थला परेको पोखराको पर्यटनले गति लिन थालेको छ । यहाँको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । यसको प्रष्ट संकेत, ताल किनारका डुंगाचालकलाई भ्याइनभ्याइ हुने दृश्यले दिन्छ ।

विगतमा फेवातालमा तैरिने डुंगाहरु लामो समय थन्काएर बसेका डुंगा चालकहरु अहिले उत्साहित छन् । उनीहरुमा केही भए पनि आशाको सञ्चार उत्पन्न भएको छ ।

फेवातालमा डुंगा चलाएर ३ सय मजदुरले जीवन धान्दै आएका छन्

कोरोनाको पहिलो भेरियन्ट सकिएपछि यस वर्षको सुरुआतमै दोस्रो भेरियन्ट आयो । संक्रमण रोक्न प्रशासनले निषेधाज्ञा लागु ग¥यो । त्यसैको चेपुवामा यस वषैको वैशाख १५ देखि डुंगा चल्न पाएका थिएनन् । मजदुरहरु निकै मर्कामा परे । केही संस्थाले राहत उपलब्ध गराए पनि । तर सधैं राहतको भरमा कति चल्नु । त्यसैले प्रशासनले निषेधाज्ञा पछिल्लो समय खुकुलो बनाउँदै लैजाने क्रममा साउनदेखि चलाउन छुट दिएको थियो । छुट दिए पनि दसैंतिहारको लामो छुट्टीमा मानिस घुम्न आए पनि अन्य बेला लेकसाइड सुनसानप्रायः हुन्थ्यो । फागुन/चैतमा कोरोना मत्थर बन्दामात्र चहलपहल ह्वात्तै बढेको हो ।

रसुवाकी विमला गुरुङ डुंगा चालक हुन् । डुंगा तारेरै उनको चुल्होमा आगो बल्छ । २ वर्षजसो डुंगामा साङ्लो लगाएर राखिन् । काम पाइनन् । राहतमै जीवन गुज्रियो । कति पटक भोकै सुतिन् । उनका पति मजदुरी गर्छन् । २ छोराछोरी हुर्काउन विमलाको लागि यो महँगी सहरमा सकस छ ।

‘हिजोदेखि पालो कुरेको हो, आज पक्कै पालो आउँछ,’ विमलाले भनिन्, ‘डुंगा नचलाए त मुखमा माड लाग्दैन ।’ तालमा डुंगा चलाउने मुस्किलले २० महिलामध्ये उनी एक हुन् । उनी यो पेसामा लागेको ६/७ वर्ष जति भो ।

५२ वर्षीय सुन्दर विश्वकर्मा नेपालको पूर्वी जिल्ला सिन्धुलीवासी हुन् । उनी ३४ वर्षअघि कामको खोजीमा पोखरा आएका थिए । सिन्धुली सलपाबाट आएका उनी फेवामा डुंगा चलाउने त्यस भेगका सबैभन्दा पुराना चालक हुन् । उनी यहाँ आएपछि धेरै मानिसहरु जीवनको डुंगा खियाउन सलपाबाट फेवातालमा आएको सुन्दर बताउँछन् । सुन्दर र उनकी श्रीमती तारा यही तालमा डुंगा चलाएर जहाज परिवार पाल्दै आएका छन् । यो दम्पतीको ५ वटा डुंगा छन् ।

फेवा डुंगा व्यवसायी समितिका अनुसार तालमा कुल ७ सय ६४ डुंगा चल्छन् । बाराहीघाटसहित गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी गरी ८ घाट छन् । तीमध्ये मन्दिर जान सहज हुने भएको र बाराहीघाटबाट दृश्यावलोकन गर्न सहज हुने हुँदा सो घाटबाट सबैभन्दा बढी ३ सय ५६ डुंगा चल्छन् ।

डुंगा व्यवसाय समितिका उपाध्यक्ष मंगल नेपालीका अनुसार अचेल दैनिक डेढ सय वटा डुंगा मन्दिर आउजाउ गर्छन् । त्यसबाहेक भाडामा डुंगा आवश्यक बमोजिम नियमित चल्ने गरेका छन् । समितिले डुंगा व्यवसायीको लागि पालो प्रणाली लागु गरेको छ । यात्रु जति आए, त्यति नै छिटो पालो पाइन्छ । सातामा कम्तीमा २ पटकसम्म पालो पाइने गरेको डुंगा व्यवसायी प्रितम कुँवरले बताए । अचेल व्यस्त हुँदै जाँदा डुंगा व्यवसायी प्रितम कुँवर भन्छन्, ‘अब नयाँ वर्ष–२०७९ सुरुआतसँगै पर्यटनले गति लिनेमा आशावादी छौं ।’

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width