प्रदेश प्रमुखले बोलाउँदा सांसद अनुपस्थित !

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७८
Pradesh Pramukh Photo

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ९ महिना बित्दासमेत प्रदेशका सबै सांसदसँग औपचारिक छलफल गर्न पाएका थिएनन् । उनले नयाँ वर्ष–२०७९ को मेसो पारेर शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरे । त्यसो त सुरुआतमा चैत २६ (चैतेदसैंं) को लागि तय भएको कार्यक्रम अघिल्लो दिन संसद अधिवेशन अन्त्य हुने भएकोले सांसद घर जाने सक्ने भन्दै मिति सारेर शुक्रबार नै पुनः आमन्त्रण गरियो ।

बिहान ८ बजे भएको कार्यक्रम सकिन लाग्दासम्म प्रदेशका ५९ सांसदमध्ये २२ जनामात्र उपस्थित भए । कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, मन्त्रीहरु कुमार खड्का, मेखलाल श्रेष्ठ, बिन्दुकुमार थापा, मणिभद्र शर्मा, दोवाटे विश्वकर्मासहित पूर्व मन्त्री विकास लम्साल उपस्थित थिए । सांसदतर्फ प्रकाशचन्द्र दवाडी, ओमकला गौतम, खिमविक्रम शाही, लक्ष्मी सुनार, इन्द्रलाल सापकोटा, रोशन गाहामगर, ललितकला गुरुङ, प्रभा कोइराला, पियारी थापा, मनकुमारी गुरुङ, सरिता गुरुङ, कोपिला बोहरा र जूना नेपाली आए ।

कार्यक्रममा प्रदेश प्रमुख गुरुङले समयको उपलब्धता अभावले हतारहतारमा कार्यक्रम गर्दा उल्लेखनीय उपस्थिति हुन नसकेको आकलन गरे । उनले भने, ‘संसदको अन्तिम दिन भएकाले पनि सबै उपस्थित हुनुहोला भन्ने थियो तर भएन ।’ चनावी प्रसंगमा आगामी सालमा हुने निर्वाचनमा संविधानको रक्षा गर्ने गरी नयाँ प्रतिनिभि आउनुपर्नेमा उनको जोड थियो ।

प्रदेश प्रमुख कार्यालयले डाँकेको कार्यक्रममा सन्तोषजनक उपस्थिति नभएकोप्रति मुख्यमन्त्री पोखरेलले व्यस्तता र चुनावी माहोल भएको हलुका रुपमा लिए । उनले स्थानीय तहको चुनाव शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो । सभामुख अधिकारीले प्रदेश प्रमुखले डाकेको कार्यक्रममा सन्तोषजनक उपस्थिति नभएकोमा चिन्ता व्यक्त गरे ।

समारोहमा सत्ता पक्षकै मन्त्रीहरुको उपस्थिति थिएन । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु रामजी बराल, चक्रबहादुर बुढा, मधुमाया अधिकारी गुरुङ र दीपक थापा मगर, जनता समावादी पार्टीबाट मन्त्री बनेका हरिशरण आचार्य र स्वतन्त्रतर्फका राजीव गुरुङ पनि आएनन् । अर्थ मन्त्री रामजी बराल मिति सरेका थाहा नपाएकाले उपस्थित हुन नसेकेको प्रतिक्रिया जनाए । माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले बैठकमा जानु परेकाले नभ्याएको दाबी गरे ।

गएको पुस १३ मा ल्होसार अवसरमा समेत प्रदेश प्रमुखले शुभकामना आदानप्रदान कार्यक्रम नगरेका होइनन् । तर त्यो समय धेरै अतिथि भएका कारण सांसदसँग भनेजस्तो भेटघाट हुन सकेको थिएन ।

Related News

सम्बन्धित समाचार

hero news full width