२८ हजार बढी बालबालिकालाई खोप

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७८
khop myagdi

????????????????????????????????????

म्याग्दी । म्याग्दीमा टाइफाइड रोगविरुद्धको खोप अभियानअन्तर्गत २८ हजार बढी बालबालिकालाई खोप प्रदान गरिने भएको छ । जिल्लाका २८ हजार ७ सय १८ बालबालिका र विद्यार्थीलाई खोप लगाइने स्वास्थ्य कार्यायले जनाएको छ ।

नियमित खोप सेवामा समावेश गरी देशव्यापीरुपमा सञ्चालन हुन लागेको उक्त अभियानको क्रममा म्याग्दीमा १५ महिनादेखि १५ वर्षमुनिका २८ हजार ७ सय १८ जना बालबालिका र विद्यार्थीहरुलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए । विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर जिल्लाको १ नगरपालिकासहित ६ वटै पालिकाहरुमा चैत २५ गते शुक्रबारदेखि खोप अभियान चलाउने निर्णय गरेको कार्यालय प्रमुख लम्साल बताए ।

बालबालिकाहरुलाई पहिलो पटक प्रदान गर्न थालिएको खोपका लागि धवलागिरी, मंगला र मालिका गाउँपालिकामा आवश्यक सामग्री पु¥याइसकेको समेत लम्सालले जानकारी दिए । बाँकी शुक्रबारसम्म पु¥याइने उनले बताए ।
खोप अभियानबारे बिहीबार आयोजित पत्रकारसँगको अभिमुखीकरणमा विद्यालयस्तरसम्मै खोपकेन्द्र सञ्चालन गरेर लक्षित उमेरका विद्यालयभित्र र बाहिर रहेका समेत बालबालिकाहरुलाई खोप लगाउनका लागि अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

टाइफाइडविरुद्धको खोप नेपालसरकारले राष्ट्रिय अभियानकै रूपमा देशभर चैत २५ देखि १८ गतेसम्म सञ्चालन गर्न लागिए तापनि म्याग्दीमा भने चैत २५ देखि वैशाख २ गतेसम्म खोप लगाइसक्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो । खोप अभियानका लागि २ सय ३० खोप केन्द्र सञ्चालन हुनेछन् । स्थानीय तहहरुसंग समन्वय खोपको तालिका नै सार्वजनिक गरी खोप लगाउन लागिएको छ । १ सय २५ जना लक्षित समुदायको बालबालिका रहेको विद्यालयमै खोप केन्द्र सञ्चालन गरिने र कम भएका बालबालिकालाई नजिकको पायक पर्ने केन्द्रमा ल्याएर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप अभियानका लागि २ सय ३० जना स्वास्थ्यकर्मी, ४ सय ६० जना स्वयंसेवक र ५७ जना सुपरीवेक्षक समेत परिचालन गरिने कार्यालय प्रमुख लम्सालले बताए । उनका अनुसार, हरेक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी, एक जना महिला स्वास्थ्य स्वयंसेविका र १ जना महिला शिक्षक परिचालन हुनेछन् । खोप अभियानमा परिचालन हुने स्वास्थ्यकर्मी, स्वयंसेविका र शिक्षकलाई आवश्यक तालिम तथा अभिमुखीकरण गरिसकिएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम समेत सञ्चालन भएको छ । उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप लगाउन पाउनेछन् । यसअघि बालबालिकाले जन्मेदेखि १५ महिना पुगुञ्जेल १२ प्रकारका खोप लगाउँँदै आएकामा १३ औं टाइफाइडविरुद्धको खोप थप गरिने भएको हो । दादुरा–रुबेलाको दोस्रो मात्रासँगै बालबालिकाले उक्त खोप लगाउन पाउने जनाइएको छ ।

अरू खोपमा झैं टाइफाइडको खोप लगाउँदा सामान्य असर देखा परे पनि आफैं ठीक भएर जाने स्वास्थ्यकर्मीको भनाइ छ । टाइफाइडमा उच्च ज्वरो आउने, जाडो हुने, पसिना आउने, टाउको दुख्ने, जिउ दुख्ने र जिब्रोमा सेतो लेत लाग्नेलगायत लक्षण देखिने गरेको छ । रोगको संक्रमण शरीरमा फैलँदै गएमा सानो आन्द्रामा घाउ हुने, रगत बग्ने, प्वाल पर्ने शरीरका विभिन्न भागमा संक्रमण फैलिएर असर देखिने र मस्तिष्कसम्बन्धी जटिलता समेत देखिने जनाइएको छ । टाइफाइडलाई समयमानै उपचार नगरेमा करिब १० प्रतिशतले ३ महिनाभन्दा पछिसम्म अरुलाई सार्न सक्ने र ५ प्रतिशत व्यक्तिहरुको पित्तथैलीमा व्याक्टेरिया लामो समयसम्म रही रककेर अरुलाई संक्रमण गराउन सक्ने साथै सो व्यक्तिलाई पित्त थैलीको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । उक्त खोप लगाएपश्चात खोप लगाएको ठाउँमा रातो हुने, सुन्निने वा दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने, शरीरमा विविराहरु आउने, हात खुट्टा दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता लक्षण देखा पर्न सक्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width