पर्यटनकर्मी सुन्दर श्रेष्ठलाई सफाइ

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७८
sundar

पोखरा । बालिका बलात्कारको आरोपमा मुद्दा खेपेका पर्यटनकर्मी सुन्दरकुमार श्रेष्ठले सफाइ पाएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलाशले बुधबार उनलाई सफाइ दिएको हो । सुवेदीको इजलाशले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।

बालिका बलात्कारको आरोपमा २०७५ चैत ८ गते पक्राउ परेका श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि त्यहि महिनाको २९ गते जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत मुद्दा दायर भएको थियो । उनी २०७६ वैशाखमा ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

श्रेष्ठलाई १० देखि १२ वर्षसम्म कैद र मनासिब बमोजिम क्षतिपूर्ति मागदाबीसहित मुद्दा दर्ता भएको थियो । १६ वर्ष वा सोभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भए मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को ३ (घ) अनुसार १० देखि १२ वर्षसम्म कैद मागदाबी गरिएको हो । फैसलामा वारदातस्थल यकिन हुन नसकेको, पीडितले जाहेरी र बयानमा बलात्कार भएको भनिएको समय पटक–पटक फेरेको उल्लेख छ ।

जाहेरीका अनुसार वारदात हुँदाको बखत ती बालिकाको उमेर १७ वर्ष ६ महिना २५ दिन थियो । १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार ठहर्ने कानुनी प्रावधान छ ।

चितवन घर भएकी ती बालिका सानै उमेरदेखि लेकसाइडको कान्तिपुर होटल नजिकैको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएकी थिइन् । २०७५ भदौदेखि विभिन्न लोभ देखाएर र श्रेष्ठले बलात्कार गरेको आरोपसहित जाहेरी दर्ता भएको थियो ।

उनै बालिकामाथि यौन दुव्र्यवहारको आरोप लागेका सुवास सुवेदीले पनि सफाइ पाएका छन् । उनी पनि ३ लाख धरौटीमा छुटेका छन् । श्रेष्ठ र सुवेदी एकै दिन पक्राउ परेका थिए । सुवेदीको मुद्दामा मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (३) अनुसार ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको मागदाबी थियो । सामान्यतया २ वर्षभित्रै मुद्दा किनारा लाग्नुपर्नेमा यो मुद्दामा २६ पटकसम्म पेसी सरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width