पोखरा । प्रदेशका युवा तथा खेलकुद मन्त्रीले आफ्नै कार्यालयका कर्मचारीमाथि हातपात गरेको विषयले यतिबेला चर्चा पाएको छ । मंगलबार भएको सो घटनापछि मन्त्री राजीव गुरुङ (दीपक मनाङे) मन्त्रालय फर्केका छैनन् भने पीडित भनिएका कर्मचारी प्रकाश ओझा सोही दिनदेखि बिदामा छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई यसबारे जानकारी गराइए पनि उनले घटनाको ३ दिन बित्दासमेत कुनै ‘एक्सन’ लिन सकेका छैनन् । विगतमा ‘डन’ को छवि बनाएका स्वतन्त्र सांसद राजीव गुरुङको टेकोमा सरकार बनाएको नेपाली कांग्रेस नेतृत्वको सरकारको कार्यशैलीबीच कुटपिट घटना एक्कासि बाहिरिएपछि सरकारी कर्मचारी आतंकित छन् ।
कर्मचारीमाथि प्रदेश मन्त्री नै आक्रमणमा उत्रिएको घटनाप्रति कर्मचारीका विभिन्न संगठनले बिहीबार विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।
उनीहरुले जिम्मेवार मन्त्री पदमा रहेको व्यक्तिले गरेको निन्दनीय घटनाको घोर भत्र्सना गर्दै कर्मचारीको पेसागत मर्यादा र आत्मसम्मान कायम गर्दै उच्च मनोबलका साथ सेवामा समर्पित हुने वातावरण कायम गर्न सरकारसँग माग गरेका छन् । साथै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपाल कास्कीका तर्फबाट अध्यक्ष सोमलाल तिवारी, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), कास्कीका अध्यक्ष अर्जुनदेव ज्ञवाली र नेपाल निजामती कर्मचारी युनियन कास्कीका तर्फबाट अध्यक्ष सुरेशकुमार श्रेष्ठले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारीको सुरक्षाको माग गरेका हुन् ।
नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेशले घटना सम्बन्धमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । युनियनका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश अध्यक्ष दीपक रेग्मीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।
पत्रमा भनिएको छ, ‘सरकारका मन्त्रीबाट आफ्नो मातहतका कर्मचारीमाथि यस्तो व्यवहार हुनु दुर्भाग्यपूर्ण हो । जबसम्म कर्मचारीलाई भयरहित वातावराण्मा काम गर्ने अवसर हुँदैन, तबसम्म सुशासन कायम हुन सक्दैन । त्रासपूर्ण वातावरणमा कार्यसम्पादन गर्नुपर्ने अवस्थाको अन्त्य गरी अनुशासित, मर्यादित र भयरहित अवस्थाको सिर्जना गर्दै आमनागरिकको सेवामा समर्पित हुने वातावरण निर्माण गर्न सरकारसमक्ष अनुरोध गर्दछौं ।’
मंगलबार दिउँसो कार्यालय समय सकिने बेलामा मन्त्री राजीव गुरुङले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका अधिकृतस्तर आठौं तहका कर्मचारी प्रकाश ओझालाई कार्यकक्षमा बोलाई हातपात गरेका हुन् । कर्मचारी ओझाले मन्त्रीले आफूलाई तथानाम गालीगलौज गरी हातपात गर्ने प्रयास गरी आफ्नो आत्मसम्मानमा चोट पुर्याएको गुनासो गरेका छन् । सो घटनापछि मोबाइल स्विच अफ गरी सम्पर्कविहीन भएका ओझाले बिहीबारमात्र मिडियासँग खुलेर बोलेका छन् ।
उनका अनुसार मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुग्दा आफूमाथि मन्त्रीले हातपात गरेको बताउँछन् ।
तर मन्त्री गुरुङले आफूले नपिटेको र सम्झाउनेमात्र काम गरेको दाबी गरेका छन् । कर्मचारी ओझाले अनुदानसम्बन्धी कार्यविधि पारित हुनुअघि नै बाहिर सार्वजनिक गर्ने र आफन्तलाई अनुदान दिने गरेको मन्त्रीको आरोप छ । उनले भने, ‘जसले जे भन्यो त्यही पत्याउनुभएन । त्यस्तो चोरजस्तो मान्छेलाई कसैले पिट्छ ? मैले कुटेको हुँ । सामान्य सम्झाउनेमात्र काम गरेको हुँ ।’ उनले अगाडि भने, ‘कुटें भने त मरिहाल्छ नि । कर्मचारी त चोरै हो । अलिकति गाली गरे पनि हातपात भन्छ ।’
यसैबीच, आन्तरिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले कर्मचारी मर्कामा पर्नु हुँदैन भन्ने आफूहरुको एकमत भएको बताउँछन् । उनले भने, ‘मन्त्रीज्यू र प्रकाशजीसँग बसेर छलफल गरेपछि मात्र अगाडि बढ्न सकिएला ।’
युवा तथा खेलकुद मन्त्रालयमा हाल प्रथम श्रेणीका सचिवदेखि सवारीचालकसम्म गरी करिब २० जना कर्मचारी छन् । ती कर्मचारीहरु ‘डन’ प्रवृत्तिका मन्त्रीको विषयमा खुलेर बोल्न चाहँदैनन् । नाम नबताउने शर्तमा एक शाखा अधिकृतले ‘मन्त्रीज्यू हाम्रो अभिभावक बन्नुपर्नेमा यस्तो अराजक शैली छ । उहाँको विगतको क्रियाकलापसमेत कसलाई थाहा छैन र ?’ भने । कर्मचारीले सुरक्षाको प्रत्याभूति पाउनुपर्र्नेमा आफूहरु एकमत रहेको उनको भनाइ छ ।
स्रोतका अनुसार केही महिना पनि मन्त्री गुरुङले मन्त्रालयका उच्च तहका एक कर्मचारीमाथि पनि दुव्यर्वहार गरेका थिए । सो घटना सामसुम पारिएको थियो । मिडियामा त्यसबेला सो घटना बाहिर नआउँदा धेरै अनविज्ञ थिए । २ वर्षअघि पनि एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका मन्त्री गुरुङ केही दिन हिरासत बसेका थिए ।
मुख्यमन्त्री पोखरेलले यसबारेमा केही निर्णय गरिसकेका छैनन् । दुवै पक्षलाई सँगै राखेर छलफलपछि मात्र मुख्यमन्त्रीज्यूले निर्णय गर्न सक्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्का बताउँछन् । बुधबार बागलुङमा भएको अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सकेर मुख्यमन्त्री पोखरेल पोखरा फर्केका छन् । चुनावलाई लिएर सुरक्षा व्यवस्था मजबुद बनाउन केन्द्रित बन्दा मन्त्रीद्वारा नै कर्मचारीमाथि हातपात हुनु दुर्भाग्य हो ।
त्यो दिन के भएको थियो ?
कार्यालय समय सकिने बेला थियो । करिब ४ बज्न आँटेको हुँदो हो । म प्रदेश विकास समितिका टिप्पणी लेख्दै थिएँ । रोनित गुरुङ (मन्त्री राजीव गुरुङका सहायक) ले फोन गरेर मन्त्रीज्यूको कार्यकक्षमा डाँके । त्यसपछि फाइल लिएर मन्त्रीको कार्यकक्षमा गएँ ।
त्यहाँ प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, मन्त्रीका सहयोगी रोनितसहित विशाल बराल, माया गुरुङ गरी ६÷७ जना मानिस थिए । प्रवेश गर्ने वित्तिकै उहाँ (मन्त्री) ले ‘उद्यमी युवा समृद्ध प्रदेश निमार्णमा टेवा’ कार्यक्रमको कार्यविधिमा किन ५१ प्रतिशत राखेको ? भन्नुभो । मैले प्रष्टीकरण दिंदै थिएा । एक्कासि तनावमा आउनुभयो । सामान खोजेजस्तो गरी के–केले हान्नुभो । अनि झ्यामझुम अगाडि आएर ।
लात्ताले हान्नु भो । तर मलाई कुनै शारीरिक चोटपटक लागेन ।सो घटना कोठा बसेका अन्यले पनि देखेका छन् । गत मंसिरमा समेत मन्त्री गुरुङले प्रवक्ता तेजप्रसाद काफ्लेलाई पेपर बेटले हानेका थिए ।
सो घटनापछि मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी र प्रवक्ता तेजप्रसाद काफ्ले सरलाई भेट गरेर जानकारी गराएँ । म विगतदेखि नै बिरामी छु । अस्पताल जानुप¥यो भनी एक जना साथी खटाइदिन भनेपछि श्रीप्रसाद अधिकारी र म भएर मन्त्रालयबाट निस्कियौं । त्यसपछि मुख्यमन्त्री कार्यालयमा गएर प्रमुख सचिव रविलाल पन्थ, प्रवक्ता रामेश्वर अर्याल र उपसचिव मुक्तिनारायण भण्डारी सरलाई जानकारी गराएँ । काम गर्ने मनस्थिति भएन भन्दै अस्पताल जानु पर्यो भन्दै निस्कें । केही दिन बिदामा बस्छु ।
कार्यविधि मापदण्ड सबै बसेर बनाइएको हुन्छ । बनाउने समय पटक–पटक छलफल हुन्छ । मन्त्रीसँगै सचिवले समेत हेरेका हुन्छन् । सबैले हरेपछिपछि मात्र हस्ताक्षर गरिन्छ । अहिले आएर ५१ प्रतिशत किन लेख्यो भनेर एउटा कर्मचारीमाथि अराजक तरिकाले मन्त्रीजस्तो व्यक्ति उत्रिन मिल्दैन ।
त्यसरी आक्रमण गरी मानिसलाई धम्काएर कानुन हातमा लिनु राम्रो हैन । यो विधिको शासन हो । न कि जनावरीय शासन । हामी कसैको रैति हैन । राष्ट्रको जिम्मेवार नागरिक हो । सरकारी कर्मचारी हो । अराजक शैली हुनुहुन्न । सबैले विरोध गर्नुपर्छ । युवा परिचालन कार्यक्रमअन्तर्गत ‘प्रदेश विकास स्वयमसेवक’ पचिालनका लागि संघ सरकारबाट ३ करोड २४ लाख हो तर लेख्ने समय ड्राफ्टमा ३४ करोड २० लाख भनी लेखिएको रैछ । यो ५ महिना अघिको कुरा हो । उत्तिबेला नै ड्राफ्ट संशोधन भयो । काम पनि भयो । टिप्पणी लेखेको र हामीले लेखेकोमा केही गल्ती छैन् तर मन्त्रिपरिषदको बैठकमा प्रस्ताव लैजाने क्रममा मात्र गल्ती भएको हो । काम गर्दा केही गल्ती हुन्छ कार्यक्रमको बजेटको अंक लेख्दा गल्ती भएकै हो । अहिले समाधान समेत भै सक्यो । त्यो नियम र तरिकाले गयो र पाससमेत भयो । कार्यक्रमको बजेट कसैलाई बाँड्न, दिन, आफ्नो स्वार्थ अनुसार काम गर्ने पैसा हैन । खटिएका स्वयमसेवकहरुले मासिक निर्वाह खर्च पाउने कुरा मात्र हो । अहिले केही नपाएपछि आफूले हातपात गरेपछि केही न केही विषय उठाउन आरोप लगाउने रैछन् । मन्त्रीले भनेजस्तै आफूले कुनै कार्यक्रमको रकम केही गरेको पनि छैन र गर्न मिल्दैछ पनि । युवा स्वरोजगार र युवा उद्यमी भन्ने प्रोजेक्ट छँदा पनि छैन ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१