बागलुङ । अछामका भरत साउद यहाँको काठेखोला गाउँपालिका–५ स्थित करलिम आधारभूत विद्यालयलको कक्षा ३ मा पढ्छन् । उनलाई विद्यालयले निःशुल्क पढाइसहित छात्रावासको सुविधा दिएको छ । उनसँगै अछामका ८, बैतडी र हुम्लाका एक/एक जना विद्यार्थी सो विद्यालयमा पढ्छन् ।
विद्यालय सेवा क्षेत्र बाहिरको निसीखोला गाउँपालिकाका १२ जना विद्यार्थी पनि त्यहाँ अध्ययनरत छन् । परिवारको आर्थिक स्थिति कमजोर भएका, अभिभावकविहीन र पढाइबाट बञ्चित बालबालिकालाई विद्यालयले छात्रावासमा राखेर पढाउने गरेको छ । जिल्ला बाहिरका विद्यार्थीलाई पनि करलिममा ल्याएर पढाउने योजना यत्तिकै बनेको भने होइन ।
करलिम तीव्र बसाइँसराइले प्रभावित गाउँ हो । सुविधाका लागि सहर र विदेशको मोहले घरहरू रित्तिँदै गए । जसको प्रभाव विद्यालयमा पनि प¥यो । विद्यार्थी घट्न थाले । विद्यालय नै सङ्कटमा पर्ला कि भन्ने चिन्ताले करलिमवासीलाई पिरोल्न थाल्यो । उनीहरूले गाउँ पनि उजाडिन नदिने र विद्यालय पनि जोगाउने उपाय रचे ।
त्यस अभियानमा सबैभन्दा बढी करलिमबाट अध्ययन र रोजागारीमा गएका प्रवासीहरूले नै ठूलो आडभरोसा दिए । त्यसकै उपज विद्यालयमा सुविधायुक्त छात्रावास खुलेको छ । बैतडीसम्मका विद्यार्थीले निःशुल्क पढ्न पाएका छन् । विद्यालयको शिक्षण सिकाइ सुधारोन्मुख छ । विद्यार्थी संख्या बढ्दो छ ।
“अघिल्लो वर्ष विद्यार्थी घटेर ९० सम्म पुगेको थियो, अहिले १२० जना अध्ययनरत छन्”, सहायक प्रधानाध्यापक गोविन्दप्रसाद कँडेलले भन्नुभयो, “छात्रावास सञ्चालनमा आएपछि विद्यार्थी संख्या थपिएको छ, आउँदो शैक्षिक सत्रमा थप २५ बाहिरका विद्यार्थी भर्ना गर्ने लक्ष्य छ ।”
करलिमदेखि जापान, आयरल्याण्ड, अमेरिकालगायत देशमा पुगेका व्यक्तिहरूको सामूहिक पहलमा स्थापित करलिम कल्याण कोषमार्फत उक्त छात्रावास सञ्चालनमा ल्याइएको हो । कोषमा झण्डै रु दुई करोड जम्मा भइसकेको जनाइएको छ । उक्त कोषका सदस्यसमेत रहनुभएका विद्यालयका शिक्षक रमेश सुवेदीका अनुसार छात्रावाससहित चार जना शिक्षकको खटनपटनमा कोषबाट मासिक डेढ लाखसम्म खर्च हुन्छ ।
“जापानमा रहनुभएका लक्ष्मणदत्त सुवेदीको परिकल्पनामा कोष खडा भएको हो, करलिमको शैक्षिक विकासमा यो संस्था सक्रिय छ”, उहाँले भन्नुभयो, “कोषले अहिले प्रत्यक्षरूपमा विद्यालयलाई सघाइरहेको छ, शैक्षिक गुणस्तर सुधारमा बढी जोड छ ।” छात्रावास सञ्चालन भइरहेको सार्वजनिक भवन भने करलिम समाज जापानको सहयोगमा बनेको हो ।
दुवै संस्था करलिमको शैक्षिक, सामाजिक विकासमा क्रियाशील छन् । विद्यार्थी आकर्षित गर्न सङ्गीत कक्षा पनि सञ्चालनको तयारीमा विद्यालय छ । कक्षा ८ सम्मै अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको शिक्षक सुवेदीको भनाइ छ । तल्लो तहदेखि नै विद्यार्थी भर्ना बढाउन बालमैत्री सिकाइलाई चुस्त र व्यवस्थित बनाउन लागिएको छ ।
उपल्लो कक्षामा विद्यार्थी बाहिरबाट ल्याइए पनि प्राररम्भिक तहबाटै विद्यार्थी बढाउनुपर्ने चुनौती विद्यालयसँग छ । बालबच्चालाई पढाउने र खाली भएको घरबारी सम्हाल्ने गरी कोही परिवार अन्यत्रबाट आएमा पाँच वर्षसम्म निःशुल्क जग्गा उपलब्ध गराउनेसमेत निर्णय गाउँलेले गरेका छन् । बसाइँसराइले गाउँ नरित्तियोस् र उजाड नहोस् भनेर त्यसो गरिएको हो । विद्यालयका शिक्षक चिरञ्जीवी कँडेलले आउँदो वर्षदेखि प्रवेश परीक्षा लिएर मात्र बाहिरको विद्यार्थीलाई भर्ना गर्ने विषयमा छलफल चलिरहेको बताउनुभयो ।
“लामो समयसम्म विद्यालय छाडेको विद्यार्थीलाई ल्याएर राख्दा उसको पढाइ सोचेजसरी अघि बढ्न सकेन, अबदेखि प्रवेश परीक्षा लिएर मात्र राख्ने सोचमा छौँ”, उहाँले भन्नुभयो । विद्यालयले सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा त्यस्ता बालबालिकालाई भर्ना लिने गरेको छ ।
गत वर्ष विद्यालयका शिक्षक नै विद्यार्थी खोज्न बैतडीसम्म पुगेका थिए । विसं २०४२ तिर १ कक्षामा १०० जनासम्म विद्यार्थी पढाएको विद्यालयले अहिले विद्यार्थी टिकाउन र विद्यालय जोगाउन अनेक जुक्ति निकाल्नुपरेको छ । सहायक प्रअ कँडेलले सरकारले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मात्र दिवा खाजाको प्रबन्ध गरेकामा आफूहरूले भने कक्षा ८ सम्मै दिवा खाजा दिने गरेको बताउनुभयो ।
दिवा खाजामा हुने अतिरिक्त खर्च पनि कोषकै बजेटबाट हुने गरेको छ । विद्यार्थी सङ्ख्या अपुग भएका कारण गाउँकै पुरानो विद्यालय समस्यामा नपरोस् भन्नेमा विद्यालय व्यवस्थापन पक्षपनि सचेत छ । यसअघि सोही ठाउँको गैरीखेतमा रहेको श्रीराम प्राथमिक विद्यालय विद्यार्थी सङ्ख्या न्यून भएपछि करलिम माविमै गाभिएको थियो ।
“पहिले गाउँ हराभरा थियो, कोही कतै जानुभएको थिएन, एक/दुई घर भन्दाभन्दै अहिले त आधाआधी बस्ती खाली भइसक्यो”, सहायक प्रअ कँडेलले भन्नुभयो, “दक्ष जनशक्ति सबै बाहिर छ, गाउँमा घर कुरेर बस्ने बुढाबुढी मात्र छन् ।”
करलिमबाट अधिकांश बसाइँ सरेर चितवन पुगेका छन् । विदेश रोजगारी गर्न जानेको सङ्ख्या पनि उल्लेख्य छ । एक सय ६८ घरधुरी रहेको करलिममा अहिले जम्मा ८० परिवार बस्छन् । तीमध्ये पनि कोही थातथलो छाड्ने तयारीमा छन् । वडाध्यक्ष शिवप्रसाद कँडेलले बसाइँसराइ घटाउन नसकिएको स्वीकार गर्नुभयो । “बसाइँसराइको सिफारिस लिन आइरहनुहुन्छ, हामीले रोक्न नमिल्ने, त्यो उहाँहरूको हक हो”, उहाँले भन्नुभयो ।
वडाध्यक्ष कँडेलले आफ्नो गाउँ र विद्यालयको भविष्यप्रति प्रवासीले देखाएको चासो र गरेको सहयोग अतुलनीय रहेको उल्लेख गर्नुभयो । उहाँले विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारमा वडाको तहबाट सक्दो पहल लिने प्रतिबद्धता जनाउनुभयो ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व
विद्यालय खेलकुद महासंघमा कृष्ण
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१